|

रुकुम (पूर्व) : कामकाज पारदर्शी नभएको भन्दै रुकुम पश्चिमको एक गाउँपालिकाका एक वडा सदस्यले राजीनामा दिएकी छिन्। त्रिवेणी गाउँपालिका–९ कि महिला सदस्य भीमा खड्काले पदबाट राजीनामा दिएकी हुन्।

जनताप्रति उत्तरदायी नहुने वडा कार्यालय, कार्यपालिका तथा गाउँ सभामा नबस्ने भन्दै राजीनामा दिएकी छिन्। तत्कालिन नेकपा माओवादीबाट वडा सदस्यमा निर्वाचित खड्काले वडादेखि गाउँपालिकाले गरेका काम कारवाहीमा असन्तुष्टि जनाएकी छिन्।

पटक–पटक कामकारवाही जनभावना अनुरुपका बनाउन आग्रह गर्दा पनि नभएपछि राजीनामा दिएको उनले बताइन्। दुई पृष्ठको राजीनामा पत्रमा निर्वाचनको क्रममा जनतासामु गरिएका प्रतिबद्धता पूरा गर्न हर प्रयास गर्दा पनि नसकिएको उल्लेख गरेकी छिन्।

‘जनताका पक्षमा लड्दा लड्दै, खबरदारी गर्दा गर्दै पनि जनताको माग सुनुवाइ नभएपछि पदमा बसिरहन उचित नभएकाले राजीनामा दिएको हुँ’ राजीनामा पत्रमा भनेकी छिन्,‘वडाध्यक्ष मात्रै सबै अधिकार सम्पन्न भएको महशुस हुने गरी निर्णय हुँदा अरू वडा सदस्यको पनि अपमान भएको छ।’

राजीनामाको विषयमा वडाध्यक्ष वीरबहादुर डाँगीले भने आफूलाई केही जानकारी नभएको बताए। ‘राजीनामा पत्र गाउँपालिकामा दर्ता भएको जानकारी मैले पाएको छु’ डाँगीले भने,‘यस विषयमा खासै थाहा छैन। उनका केही कुरा पूरा भएका छैनन् होला। बसेर छलफल गर्न सकिन्छ।’ 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.