|

विराटनगर : गत मंसिर २ गते महोत्तरी बर्दिबासकी–६ वर्षीया बालिकाको हत्या भयो। उनका आफन्त, स्थानीयहरूले बलात्कारपछि हत्या भन्दै विरोध प्रदर्शन गरे।

मृतक बालिकाका आफन्त र स्थानीयले हत्या आरोपित २५ वर्षीय अरुणकुमार साहको घरसमेत आगजनी गरेका थिए। स्थितिलाई नियन्त्रणमा लिनका लागि प्रहरीले गरेको फाइरिङबाट तीन जना घाइतेसमेत भए।

कन्चनपुरस्थित भीमदत्त नगरपालिका २ उल्टाखामकी–१३ वर्षीया बालिका निर्मला पन्तको ०७५ साउन १० गते बलात्कारपछि हत्या भयो। निर्मला पन्तको हत्याको विषय भीमदत्तबाट मुलुकभर नै आगोको मुस्लो फैलिएझैँ फैलियो।

निर्मला हत्या प्रकरणलाई लिएर दबाब दिने सडकमा नै उत्रिए। दर्जनभन्दा बढी अनुसन्धान टोली कन्चनपुर पुग्यो। निर्मला पन्त हत्याको दुई वर्ष बितिसक्दा दुई प्रहरी प्रमुख फेरिए तर पनि १३ वर्षिया बालिकाले अहिलेसम्म न्याय पाएकी छैनन्।

मंसिर २ गते, भक्तपुर १ स्थित सडकमा दुर्व्यवहार गरेको सामाजिक संजाल फेसबुकमार्फत एउटा भिडियो भाइरल भयो। जुन भिडियोमा टिकटकर निकिशा श्रेष्ठलाई ‘ओई ...‘.का’ भनेर जिस्काइरहेको र निकिसाले आफ्नो आत्मसम्मान रक्षाका लगि जिस्काउनेलाई प्रतिकार गर्दै लखेटेको देखिन्थ्यो।

निकिसा श्रेष्ठको शारीरिक बनावट युवकको छ। तर उनि आफू युवती बनेर हिँड्न रुचाउँछिन्। उनी महिलाको पहिरनमा सजिएर टिकटक बनाउन रुचाउँछिन्। युवतीकै रुप धारण गरेर निर्धक्क स्वतन्त्र भएर हिँडडुल गर्छिन्।

​हरेक मान्छेलाई स्वतन्त्र भएर बाँच्ने हिँड्ने अधिकार संविधानले प्रदत्त गरेको छ तर, निकिशाले सार्वजनिक रुपमै लैङ्गिक हिंसा भोग्नु पर्यो। निकिशा जस्ता तेस्रो लिङ्गीको पहिचान अझैपनि हाम्रो समाजमा पच्न सकेको छैन।

परम्परागत गाउँघरमा हुने लैङ्गिक हिँसा भन्दा अहिले शहरी जीवनमा हुने लैङ्गिक हिंसाका घटना बढी हिंश्रक हुँदै गएका छन्। बलात्कार, एसिड प्रहार, सार्वजनिक यातायातमा हुने दुर्व्यवहार, कार्यालयमा हुने दुर्व्यवहार, सामाजिक सञ्जालमा हुने दुव्यर्वहार पछिल्लो समय बढ्दो छन्।

​माथिका उल्लेखित घटेका घटना र पात्र प्रतिनिधि मात्रै हुन। सार्वजनिक वा निजी जीवनमा लिङ्गको आधारमा कोहि प्रति शारीरिक, मानसिक वा यौनजन्य कुनै पनि प्रकारका हिंसा गर्न पाइँदैन। नेपालको कानुनले पनि लैङ्गिक हिंसालाई अपराधका रुपमा व्याख्या गर्दै दण्ड सजायको समेत व्यवस्था गरेको छ। तर, कार्यान्वयन तहमा भने अझै चुनौती छन्।

 

दैनिक रुपमा हुने हिंसात्मक घटनालाई दबाउने या पीडितले सामाजिक अपहेलना बेहोनुपर्ने अवस्थाको कारणले कतिपय घटना बाहिर आउन सकिरहेका छैनन्। लिङ्गका आधारमा हुने हिंसा बढ्नुमा कतिपयले दण्डहीनतालाई मुख्य कारण मान्छन् भने कतिपयले नेपालको सामाजिक संरचनालाई दोष दिइरहेका हुन्छन्। तर, दुवै अवस्था उत्तिकै जिम्मेवार हुन्।

विगतको महिलाको अवस्थालाई तुलना गर्ने हो भने, तुलनात्मक रुपमा वर्तमानले महिलालाई अगाडी बढाउन मार्ग प्रशस्त चैं गरिदिएको छ। त्यसो त हामीले मुलुकलाई नै प्रतिनिधित्व गर्ने स्थान (राष्ट्रपति) महिला पाएको भए पनि दैनिक हुने लैंगिक हिंसामा भने कमी आएको छैन। ‘पुरुषप्रति मात्र आश्रित हुने परम्पराबाट बाहिर निकाल्न जरुरी छ’

महिला अधिकारवादी नेतृ भगवती चौधरी महिलालाई आर्थिक क्षेत्रमा सक्रियता गराउँदै राजनीतिक चेतना पनि प्रवाह गरे महिला हिंसाका घटना न्यूनीकरणमा टेवा पुग्ने बताउँछिन्।

‘हाम्रो पितृसत्तात्मक सोचलाई बदल्न, महिलाहरूलाई चुल्हो चाैकोबाट निकाल्दै उनीहरूलाई परिवारभित्र निर्णायक भूमिकामा उभ्याउन सक्यो भने महिला हिंसाका घटना न्यूनीकरण हुन्छ। यसका लागि उनीहरूलाई पुरुषप्रति मात्र आश्रित हुने परम्पराबाट बाहिर निकाल्न जरुरी छ।’ नेकपाकी केन्द्रीय सदस्यसमेत रहेकी चौधरीको बुझाइ छ।

महिलालाई शिक्षासँगै आर्थिक क्षेत्रमा पनि सक्रिय बनाए घरभित्र हुने लैङ्गिक हिंसा न्यूनिकरण गर्न सहयोग पुग्ने चौधरीले बताइन्। महिलासँग रहेको परम्परागत सीपलाई नै व्यवसायीकरण गर्ने हो भने उनीहरू आत्मनिर्भर हुने र परिवार चलाउन पुरुषसरह सक्षम हुने चौधरीको अनुभव छ।

फरवार्ड माइक्रोफाइनान्स वित्तीय संस्था मार्फत देशभरका अढाई लाख महिलालाई आर्थिक क्षेत्रमा डोहोर्‍याई रहेकी चौधरीका अनुसार धेरैजसो महिला हिंसा आर्थिक अवस्था कमजोर भएर पनि बढ्ने गरेका छन्।

उनले विगत १० वर्ष यताको राजनीतिक तथा आर्थिक परिवर्तनले परम्परागत महिला हिंसाका घटनामा कमी आए पनि आजभोली लैङ्गिक हिंसाका घटनाको स्वरुप समेत परिवर्तन भएको जिकिर गरिन्।

​‘पहिले पहिले समाजमा महिला माथि बोक्सी, डाउन, कुल्ठा जस्ता धार्मिक सांस्कृतिक विभेद गरिन्थ्यो, उनले भनिन्, अझै पनि दूरदराजका गाउँघरमा यस्ता प्रथा विद्यमान छन्। तथापि, १० वर्षयता महिलामाथि हुने लैङ्गिक हिंसाका घटनाहरू परिवर्तित भएर आइरहेका छन्।’

आजभोलि सामाजिक सञ्जालमा लैङ्गिक हिंसाका घटना बढी हुने उनको भनाइ छ। ‘कसैको शारीरिक अवस्था, विचारप्रति सामाजिक सञ्जालमा घोचपेच हुने, फोटो नै बिगारेर दुरुपयोग गर्ने, व्यक्तिगत चरित्र हत्या गर्ने घटनाहरू बढिरहेका छन्। उनी थप्छिन्,  यस्ता घटनाले लैङ्गिक हिँसालाई बढावा दिइरहेका छन्।’ 

लैङ्गिक हिंसा अन्त्य गर्न कानुन कठोर भएरमात्र पनि हुँदैन। व्यवहारिक रुपमा हाम्रो समाज पनि उदार हुन आवश्यक चौधरीको भनाइ छ। 

प्रदेश नम्बर १ मा महिला हिंसाको अवस्था

१ नम्बर प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष ०७७÷०७८ को कार्तिकसम्म महिला हिंसासम्बन्धी तीन सय ६५ मुद्धा दर्ता भएका छन्। दर्ता भएका मध्ये २ सय ७९ वटा मिलिसकेका छन् भने ७७ वटा मिल्न बाँकी छन्। तथ्यांङ्ककअनुसार सबैभन्दा धेरै जबर्जस्ती करणीका घटना दर्ता भएका छन्। 

प्रदेश नम्बर १ मा सबै भन्दा धेरै जवरजस्तीको मुद्दा सुनसरी जिल्लाबाट दर्ता भएको छ। सुनसरीबाट ५४ वटा जवरजस्ती करणीको मुद्दा दर्ता भएकामा २८ वटा फैसला हुँदा १७ वटा मुद्दा मिल्न बाँकी रहेको छ।

दोश्रोमा मोरङ जिल्लामा सबै भन्दा धेरै जवरजस्ती करणीका मुद्दा दर्ता भएको छ। १ नम्बर प्रदेश प्रहरीको तथ्यांकअनुसार मोरङ जिल्लाबाट ४० वटा जवरजस्ती करणीको मुद्दा दर्ता भएको छ। जसमध्ये २८ वटा मुद्दा मिलिसकेको छ भने ११ वटा मुद्धा मिल्न बाँकी छ।

प्रभावकारीरुपमा कानुनी दायरामा ल्याउने प्रयास

जिल्ला प्रहरी कार्यालय मोरङको मातहत प्रहरी युनिटहरूले महिला हिंसासम्बन्धी घटनाहरूको अपराध अनुसन्धान गरेको तथ्यांकका आधारमा १ नम्बर प्रदेशमा जवरजस्ती करणी, जवरजस्ती करणीको उद्योग बाल दुव्र्यवहार, बेचविखन साथै घरेलु हिंसा नै पर्ने गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक मानबहादुर राई बताउँछन्।

चालु आर्थिक वर्षमा जबरजस्तीका घटनाहरू धेरै मौलाएको छ,' प्रवक्ता राईले भने, 'महिला विरुद्ध हुने हिंसा पनि बढेको देखिन्छ।’ थोरै मात्रामा मानव बेचविखनका घटनाहरू महिलाविरुद्ध अपराधहरू रहेको प्रवक्ता राईको भनाइ छ।

‘सामाजिक संरचना अनुसार विशेषत महिलाहरू नै हिंसाबाट बढीपिडित भएको अवस्था तथ्यांकले देखाएको छ’ उनले भने। लैङगिक हिंसाविरुद्ध हिंसा अन्त्य गर्नका लागि सामाजिक रुपमा सचेतना फैलाउनका निमित्त विभिन्न समितिहरू पनि गठन भएको छ। स्थानीय तह, प्रदेश र केन्द्र मातहतमा रहेका ती समितिहरूले काम गरेपनि लैङ्गिक हिंसा कम गर्न सकिइरहेको छैन।

‘हामीले जिल्लास्तरमा पनि लैङ्गिक हिंसाविरुद्ध जिल्लास्तरीय समिति गठन गरेका छौं, यसको संयोजक जिल्ला समन्वय समितिका प्रमुख हुनुहुन्छ, र सबै पालिकाहरूमा पनि लैङ्गिक हिंसाविरुद्ध समितिहरू छन्,’ प्रवक्ता राई भन्छन्।

जिल्ला प्रहरी कार्यालय मोरङले समन्वय गरेर समाजमा चेतनाका कुराहरू र भएका घटनाहरूलाई प्रभावकारीरुपमा कानुनी दायरामा ल्याउने प्रयास भइरहेको प्रवक्ता राईको भनाइ छ।

 समाजमा महिला मात्र लैङ्गिक हिंसाको शिकार भएको पाइदैन। उनी भन्छन्, 'कतिपय अवस्थामा पुरुषहरू पनि लैङ्गिक हिंसामा परेका छन्। बालबालिका, बृद्धबृद्धा, तेस्रोलिंगी पनि लैङ्गिक हिंसाबाट पीडित छन्। उनी थप्छन्, ८० प्रतिशत घटना चाहिँ महिला तथा बालबाालिकामा हुने गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.