गीतकार सन्तोष आनन्दको आज ८२ औं जन्मदिन

|

सुरेन्द्र श्रेष्ठ

एक प्यारका नगमा है, मौजों की रवानी है !

जिन्दगी और कुछ भी नहीं

तेरी मेरी कहानी है ...

 

यो गीत हामीले वर्षौ पहिलेदेखि सुन्दै आएका छौं। अहिले पनि कहीँ कतै बज्यो भने सँगसँगै अनायासै गाउन थालिहाल्दछौं। गीत, संगीत मन पराउने पारखीहरुले यो गीत नसुनेको कमै होला। भारतीय फिल्मी दुनियाँमा त यो गीतलाई राष्ट्रिय गीतसरहको सम्मान नै प्राप्त भएको छ। हिन्दी सिनेमा हेर्नेहरूले यो पक्कै पनि नछुटाएको हुनुपर्छ।

गीत, संगीतलाई कुनै भाषा वा भूगोलले सीमित पार्न सक्दैन। शब्द नबुझे पनि मन परेको संगीतमा हामी सबै झुम्न सक्छौं, रम्न सक्छौं। केहीबेरका लागि भए पनि आफूलाई भुल्न सक्छौं। साच्चिकै संगीत सबैको साझा भाषा पनि हो। के नेपाली, नेवारी वा हिन्दी वा अंग्रेजी। अहिले त स्पेनी वा कोरीयाली संगीतले पनि विश्व तरंगित भएको छ। भाषा नबुझे पनि आवाजमा आवाज दिने हामी र शरीरको अंग हल्लाइहाल्ने संगीतको प्रभावले भावनाको भाषा बोल्दछ सायद।  

एक प्यारका नगमा है ... यो गीत “स्वर” फिल्मको लागि सन् १९७२ मा लेखिएको थियो। लता मंगेशकर र मुकेशले गाएको यो गीतको संगीतकार थिए लक्ष्मीकान्त प्यारेलाल। गीत गाउने गायकहरुको नाम बढी प्रचारप्रसार हुने चलन नै छ। त्यसपछि संगीतकारको नाम लिइन्छ। तर, एउटा गीतको जन्ममा लेखकको रचनाले भ्रूणको भूमिका निर्वाह गर्दछ।

आज तिनै अमर गीतका गीतकार सन्तोष आनन्दको ८२ औं जन्म दिनको अवसरमा  केही शब्द सुमनसहित शुभकामना व्यक्त गर्न चाहन्छु। हामीमध्ये कतिलाई उनको विगत र वर्तमानबारे जानकारी होला थाहा भएन तर यो लेख पढेपछि केही जानकारी हुनेछ। पछिल्लो समयमा केही भारतीय सञ्चार माध्यमहरूमा सर्जक सन्तोषका दुःखी दिनहरुलाई उधिन्न खोजिएको छ। 

निर्णायकहरु मध्ये कि एक सदस्य नेहा कक्करले त्यही अमर अजर गीत एक प्यारका नगमा है  गाउँदै उनको समीप पुग्दा बलिन्द्र धारा बग्यो। सबै दर्शक र कोठामा टी.भी. हेरेर बसेकाहरु पनि भाव विह्वल हुन पुगे। नेहाले त्यहीबाट सहयोग स्वरुप पाँच लाख रुपैयाँ दिने कवुल गरिन्। तर सन्तोषले आजसम्म कसैसँग केही सहयोग नमागेको र न थापेको भनी अस्वीकार गर्ने मनशाय व्यक्त गरेका थिए।

हृदयदेखि नै सम्मान प्रकट गर्नु त्यो एउटा कुरा तर पीडा दुःख आँशु जब व्यापारको तुलो बन्छ वास्तविकता धेरै पर भाग्छ। दुनियाँलाई खुशी र सुखी बनाउन विशेषत प्रेमसम्बन्धी सयौँ गीतको रचना गर्ने गीतकारको नामअनुसार उनको जीवनले कत्तिको सन्तोष र आनन्द महशुस गरे होलान्

लामो समयसम्म फिल्मी दुनियाँका स्थापित व्यक्ति फिरोज खाँको खाना पकाउने काम गरेकी रानु मण्डल पछि गएर रेल्वे स्टेशन अगाडि गीत गाएर जीवन बिताउन पर्यो। उनको गायकी मन पराएर एक संगीत पारखीले उनले गाएको यही गीत सामाजिक सञ्जालमा राखेपछि उनको जीवनले कोल्टे फेर्यो।

रातारात सडकबाट महलमा पुगिन्। हिजो हिरोसँग काम गर्दा बाहिर नआएको उनको प्रतिभा सडकबाट प्रस्फुटन भयो। यसबारे जानकारी होला भनी  सोधिएको प्रश्नको सन्तोष आनन्दले दिएको यो जवाफ मर्म स्पर्शी छ। ‘होला मैले लेखेका गीतहरू धेरैले गाएका छन् कोको कहाँ पुगे सबैलाई शुभकामना तर म सँग भने उनीहरूको तरक्की हेर्ने स्मार्ट फोन पनि छैन।’

उनको हालको अवस्थाबारे यो जवाफ नै काफी छ। भनिन्छ मानिसको उमेर सँगसँगै उसका संघर्षका कथाहरु पातलो हुँदै जान्छन् तर सन्तोषको हकमा भने उमेर सँगसँगै नयाँनयाँ समस्याहरु थपिँदै गएको देखिन्छ।

हालै इन्डियन आइडलको बाह्रौं श्रृङ्खलामा सन्तोष आनन्दलाई विशेष पाहुनाको रूपमा आमन्त्रित गर्यो।  इन्डियन आइडलका एक निर्णायक संगीतकार विशाल डडलानीले उनको नयाँ गीतमा संगीत भर्ने घोषणा गरेका छन्। सन्तोष आनन्दको जीवनका केही घटनाहरू प्रस्तुत भए पछि त्यहाँको वातावरणले अर्कै रूप लियो।

 निर्णायकहरु मध्ये कि एक सदस्य नेहा कक्करले त्यही अमर अजर गीत एक प्यारका नगमा है  गाउँदै उनको समीप पुग्दा बलिन्द्र धारा बग्यो। सबै दर्शक र कोठामा टी.भी. हेरेर बसेकाहरु पनि भाव विह्वल हुन पुगे। नेहाले त्यहीबाट सहयोग स्वरुप पाँच लाख रुपैयाँ दिने कवुल गरिन्। तर सन्तोषले आजसम्म कसैसँग केही सहयोग नमागेको र न थापेको भनी अस्वीकार गर्ने मनशाय व्यक्त गरेका थिए।  

नेहाले फेरि आफूलाई नातिती जस्तै मानी यति स्वीकार गर्न अनुरोध गरे पछि उनले हुन्छ भनेका थिए। यो कार्यक्रम पछि नेहा र इन्डियन आइडलले त्यो स्तरको सर्जकलाई यस्तो व्यवहार गर्न नहुने भन्ने तर्क पनि उठ्न थालेको छ। जे जसो भए पनि यस कार्यक्रम पछि उनी बारे उत्सुक राख्ने धेरैले थप जानकारी लिएको देखिन्छ।

उत्तर प्रदेशमा सन् १९३९ मा एक मध्यम परिवारमा पाँच सन्तान मध्ये दोश्रो सदस्यका रूपमा जन्म लिएका आनन्द को नाम सन्तोष चन्द्र मिश्र थियो। सानो उमेर देखि नै पढाइ अलावा अतिरिक्त क्रियाकलाहरूमा संलग्न रहने बालक पढाइमा तेज नै थिए।

करिब १४ वर्षको उमेरमा उनले पोलियो रोगका कारण एउटा खुट्टा गुमाउन पर्यो। छोराको त्यो अवस्थाले गर्दा अब ठूलो भए पछि दुःख पाउने भयो के गर्ने होला भन्ने उनका पिताको चिन्तालाई हटाउने उद्देश्यले नै उनको जीवनको शुरुआत भयो। आफू जसरी भए पनि स्वाभिमानी बन्ने र परिवारका अन्य सदस्यहरुलाई भारी बोकाउन हुन्न भन्ने कुरामा दृढ बने।

पुस्तकालय विज्ञानमा वि.एस्सि. सम्मको अध्ययन पूरा गरी बाँकी जीवन बिताउन नयाँ बाटो खोज्न बम्बई जाने निधो गरे। उनले बम्बईको एउटा पुस्तकालयमा काम पाए। फुर्सदको समयमा कविता लेख्ने कवि सम्मेलनहरूमा जाने गर्न थाले। उनको कलम राम्रो चल्न थालेको थियो।

उनले सन् १९६५ मा विवाह गरे तर आफू बम्बई बस्ने श्रीमती गाउँमा नै बस्ने भएकोले सप्ताहन्तमा प्रायः घर जाने आउने हुन्थ्यो। यो प्रक्रिया करिब चार वर्ष चल्यो र पछि एकै साथ बस्न थाले।

उनीसँग मिल्ने एकजना साथी त्यतिबेला मनोजकुमारको फिल्म व्यवस्थापकका रूपमा कार्यरत थिए। उनले सन्तोषको कविता त्यतिकै गीत बनाएर गुनगुनाउने गर्दा रहेछन्। सन् १९७० को एकदिन मनोजले यी कसले लेखको गीत भनेर सोद्धा आफ्नो मिल्ने कवि साथी सन्तोषका बारेमा सुनाएका रहेछन्। मनोजले तुरुन्त भेट गर्ने ईच्छा जाहेर गरेछन्।

नभन्दै त्यसै रात सन्तोष बस्ने डेरामा पुगेर राति नै फर्किन लाग्दा त्यहीं बास बस्न कर गरेर बसेपछि शुरु भएको मनोज र सन्तोषको सम्बन्ध कहिल्यै छुटेन। त्यतिबेला ‘पुरब और पश्चिम’ को सबै सुटिङ सकिसकेको थियो तर एउटा गीत ‘पुरव सुहानी आई रे पुरब’ मन परेकोले त्यही फिल्ममा थपेर सन्तोषलाई फिल्मी दुनियाँमा भित्र्याएका थिए।

सन् १९७२ मा निर्माण भएको स्वर फिल्मका सबै गीत लेख्ने जिम्मा उनैले पाए। एक प्यार का नगमा ... गीत बनाउन उनलाई धेरै समय लागेको थियो। पहिला श्रीमतीसँग छुट्टिएर बस्दा एकदिन फोन गरेर चित्त दुखाएकी रहीछन्। त्यसै बेला लेखिएको यो अंश पनि यसै गीतमा थपियो –

‘तू धार है नदियाकी, मैं तेरा किनारा हूँ

तू मेरा सहारा है,मैं तेरा सहारा हूँ

आँखों में समन्दर है, आशाओंका पानी है।’

सन् १९७४मा मनोजकुमार निर्मित फिल्म ‘रोटी कपडा और मकान’को लागि लेखिएको गीत ‘में ना भुलुँगा मेंना भुलुङ्गी’ गीतले त सर्वश्रेष्ठ गीतको उपाधि समेत पायो।सन् १९८१मा बनेको देशभक्ति फिल्म क्रान्तिमा उनले गीत लेख्नुका साथै कथा लेख्न पनि सहयोग गरेका थिए। ‘जिन्दगीकी न टुटे नलडी’ बोलको गीतले तहल्का नै मचाएको थियो।

त्यही साल बनेको प्यासा सावनको ‘मेघा रे मेघारे मत परदेश जारे’ बोलको गीत पनि अमर बन्यो। मनोजकुमार र सन्तोषकुमारको सम्बन्ध यति प्रगाढ थियो कि सन् १९८९ मा मनोजले निर्माण गरेको फिल्मको नाम नै ‘सन्तोष’ राखेका थिए। सन् १९८२ मा राज कपूर द्वारा निर्मित प्रेम रोगको गीत पनि सन्तोषको कलम बाटै लेखियो। ‘मुहबत हे क्या चीज’ बोलको गीतको लागि उनलाई दोस्रो पटक उत्कृष्ट गीतकारको उपाधि प्राप्त भएको थियो।

त्यसैगरि उनले यस भारती पदक सन् २०१६ मा प्राप्त गरेका थिए। गीतकार सन्तोषले २४ वटा फिल्मका लागि झण्डै १०९ वटा गीत लेखे। प्रायः सबै गीतहरु चर्चित भएका छन्। उनले अन्तिम फिल्म ‘प्रेम आँगन’को लागि सन् १९९८ मा गीत लेखेका थिए। सन् २००० सम्म त जागीर पनि थियो। त्यसपछिको जीवन देश विदेशमा गरी आजसम्म पनि आफ्ना नयाँ पुराना सृजनाहरु सुनाउने काम गर्दै आएका छन्।

बिबाह पछि सन्तान नभएकोले आनन्द सन्तोष दम्पतिलाई ठूलो समस्या भयो। हिन्दू परम्परा अनुसार गर्न पर्ने सबै भाकलहरु गरे। देश भरिका प्रायः सबै मठ मन्दिरमा पुगे। दश वर्ष पछि छोराको जन्म हुँदा उनको जोडी कति खुशी भयो होला सबैले अड्कल काट्न सकिन्छ। त्यसपछि अर्को सन्तान छोरीको जन्म भयो।

लामो समयपछि पाएको छोरासँग उनको सम्बन्ध अति गाढा थियो। आफ्नो क्षमता अनुसार छोरालाई शिक्षा दीक्षा पालन पोषण गर्नेमा कुनै कमी गरेनन्। पढाइ पछि भारतीय प्रशासनिक सेवाका अधिकारी सरह समाज शास्त्र र अपराध शास्त्र पढाउने काम पाए। छोराको विवाह पछि एउटा छोरी सहित राम्रै जीवन यापन गरिरहेका थिए।

सन् २०१४ अक्टोबर १५ को बिहान एउटा अप्रत्याशित घटना घट्यो। त्यो अरु केही नभएर सन्तोष आनन्दका छोरा बुहारीले मथुराबाट आइरहेको तिब्र गतिको रेलको अघिल्तिर लिकमा हाम फालेर आत्महत्या गरे। हुन त सानी छोरी सहित सबैले आत्महत्या गर्ने योजना सहित आफ्नै गाडीमा गएका थिए। तिब्र गतिमा आएको रेलको अगाडी दौडिएर हाम फाल्दा हातमा बोकिएकी छोरी उछिट्टिएर पर पुगिछन्। तर श्रीमान् श्रीमती दुवैजना घटनास्थलमा तुरुन्तै मृत्युवरण गरे।

सधैं जसो छोरालाई फोन गर्ने आमाको बानी अनुसार उक्त बिहान पनि धेरैपटक फोन गरेकी थिइन्। तर फोन उठी रहेको थिएन। धेरै प्रयास पछि फोन त उठ्यो तर बोल्ने आवाज अरूको कोहीको थियो। अचम्ममा पर्दै असहज महसुस गरेकी आमालाई प्रहरीले यस घटनाबारे बताउँदा संसार भासिए जस्तो लाग्यो।

संकल्प कामको सिलसिलामा एउटा ठूलो निर्माण योजनाको ठेक्कापट्टामा संलग्न भएका थिए। करिब २५० करोडको उक्त योजनामा निकै आर्थिक चलखेल भएको र त्यसमा लागेका मुख्य मानिसहरुले सबै दोष संकल्प माथि लगाएर आर्थिक तथा मानसिक रूपमा सताउन थालेकोले बाध्य भएर श्रीमान श्रीमती दुवैको सल्लाहमा पूरा परिवारले आत्महत्या गर्ने योजना बनाएका थिए। दुवै जनाको हस्ताक्षर भएको ११ पाना लामो सुसाइड नोटमा सबै विवरण खुलाएर सम्बन्धित केही व्यक्तिहरूको नाम र नम्बरसमेत उल्लेख गरेका थिए।

अहिले ८२ वर्षीय सन्तोष आनन्द नातिनी रिधिमा र छोरी शैलीसँग आफ्नो जीवन बिताई रहेका छन्। छोराको कमीलाई नातिनी मार्फत केही आशा जगाई रहेका छन्। अझै पनि कुनै नयाँ सृजनाको लागि नै बाचि रहेको बताउँछन्। उनी भित्र एउटा नयाँ गीत जन्मिन व्यथा लागि सकेको छ, कति बेला जन्म हुन्छ थाहा छैन। अहिले जन्मिन खोजेको गीत यस्तो हुन सक्छ। उनी भन्छन;

“मुहबत से कब मुलाकात होगी

जिन्दगी की कब शुरुआत होगी

मुहबत की जब मुलाकात हो गी

जिन्दगी की तब शुरुआत होगी।”

‘जीवनमा सबै दिएर फिर्ता लिएको भगवानले मलाई आजसम्म बचाउनको पछाडि केही कारण हुनु पर्छ। मेरो खुट्टा भाँचिएको छ तर मेरो ईच्छा हौसला अझै भाँच्न सकेको छैन। म मेरी नातिनीका लागि केही समय बाँच्नुपर्छ त्यतिन्जेल आजसम्म नलेखिएको सबैको गीत लेख्छु’ भन्ने उनको मनशाय छ।

भारत सरकारले स्वतन्त्रता दिवस मनाउँदा हरेक वर्ष उनलाई पनि निमन्त्रणा गर्ने गरेको छ। लाल किल्लामा गएर देश भक्ति कविता सुनाउनु उनको वार्षिक रुटिन नै हो। यसबारे पनि उनी भन्छन्; ‘खासै तयारी गर्दिन जाने बेलामा मनमा केही शव्दहरु खेलाउँछु मञ्चमा गएर सुनाउँछु।’

शारीरिक रूपमा कमजोर भएर पनि सक्रिय रहेका सन्तोष आनन्द केही वर्ष अगाडिसम्म देशविदेश पुगेर आफ्नो गीत, कविता सुनाउने गर्दथे। अहिले बोल्न समेत कठिन भए पनि जब उनले कविता पढ्छन् सबैलाई चकित बनाई दिन्छन्।

पुराना दिनहरू सम्झेर त्यही जोश निकालेर उठ्न खोज्छन् हिड्न खोजे जस्तो गर्छन्।

कहिले सहयोगीको साथ लिएर उठेरै बोल्न थाल्छन्। ‘गीत लेख्दा म मेरो आत्मालाई मुटुलाई नै बाहिर ल्याउने कोशिश गर्छु मेरा श्रृजनाहरु केवल कपीमा पोखिएका मसि मात्रै होइनन्, मेरा आँशु र रगत मिसिएको यथार्थ हो’ भन्छन्।

जवानीमा बिताएका रंगीन दिन रातहरु सम्झदै उनलाई सधैं साथ दिने मध्ये मनोजकुमारलाई सम्झिन्छन्। लक्ष्मीकान्त प्यारेलाल उनको जीवनमा महत्वपूर्ण भूमिका खेल्ने दुई पात्रहरू हुन भनी सगौरव नाम लिन्छन्। यो दुनिया नै प्रेममा अडिएको छ हामी सबैले सबैलाई प्रेम गर्नु पर्छ। प्रेम विनाको जीवन कसले कल्पना गर्न सक्छ र ? आखिर जीवन के रहेछ र उनैले लेखे जस्तो;

“कुछ खोकर पाना है,

कुछ पाकर खोना है,

जीवनका मतलब ही आना और जाना है”

‘को कहिले जान पर्ने हो म अहिलेसम्म बाँचिरहेको छु यो मरेतुल्य शरीर बोकेर तर चालीस नपुगेको मेरो छोरालाई अनायास चुँडेर लग्यो’ भन्दै भाव विह्वल हुन्छन्। तर सम्भालिएर ठुलो स्वरमा– 

“तुमि से प्यार करता हुँ

तुमि पे ज्यान दिने आया हूँ

आखिरी बख्त हे इम्तहान देने आए हु !”

उनी कार्यक्रम गर्छन्। युवा युवतिहरुलाई जोश भर्दै क्रान्ति फिल्मको यो हरफ अन्त्यतिर सुनाऊछन्,

“उन आँखोका हसना भी क्या ?

जिन आँखो में पानी ना हो।

ओ जवानी जवानी नहीं,

जिसकी कोही कहानी न हो !”

 

भारत सरकारले स्वतन्त्रता दिवस मनाउँदा हरेक वर्ष उनलाई पनि निमन्त्रणा गर्ने गरेको छ। लाल किल्लामा गएर देश भक्ति कविता सुनाउनु उनको वार्षिक रुटिन नै हो। यसबारे पनि उनी भन्छन्; ‘खासै तयारी गर्दिन जाने बेलामा मनमा केही शव्दहरु खेलाउँछु मञ्चमा गएर सुनाउँछु।’

उनको देशभक्ति अझै पनि क्रान्ति फिल्ममा लेखिएको गीतहरू जस्तै उर्जाशील छन्। छिट्टै नयाँ कालजयी गीतको अपेक्षा सहित गीतकार सन्तोष आनन्दको ८२ औ जन्म दिवसका अवसरमा गीत संगीतलाई मनपराउने म र म जस्तै सबै संगितानुरागीहरुका तर्फबाट हार्दिक शुभकामना।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.