भन्छन् 'अहिलेको हालत देख्दा राजनीतिकै परिभाषा फेरिदिए हुन्छ'
भन्छन् 'अहिलेको हालत देख्दा राजनीतिकै परिभाषा फेरिदिए हुन्छ'
काठमाडौं : कांग्रेसका संस्थापक सभापति टंकप्रसाद आचार्यका कान्छा छोरा वीरभद्र आचार्यले जीवनको ३० वर्ष राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरूमा वित्तीय तथा व्यवस्थापक परामर्शदाताको हैसियतमा काम गरे।
जीवनलाई जागिरले लछार्दै गर्दा उनलाई महसुस भयो कि लामो समयसम्म आफ्ना र जागिर दिने संस्थाका लागि मात्रै काम गरिएछ। उनले एक दिन आफैँलाई प्रश्न गरे, 'मैले यो समाजका लागि के गरेँ?' उनी स्वयंले जवाफ पाएनन्। त्यसै दिन उनले संकल्प गरे - 'म अब कम्तिमा समाजका लागि केहि गर्छु।'
त्यसपछि उनी समाज र राष्ट्रको अर्थतन्त्रसँग जोडिएका विषय छनोट गर्नतिर लागे, अध्ययन गरे। निष्कर्ष निस्कियो : हामीसँग माटो, पानी, जंगल र जनावरजस्ता सम्पत्ति/सम्पदा छन्। तीमध्ये उनले जनावर रोजे। अनि शुरू गरे-व्यावसायिक कृषि फार्म।
उनी सहित १२ जना साथी मिलेर ७ वर्षअघि गैँडाकोट नगरपालिका- १३ पितौजीस्थित आचार्यको बगैंचा फार्म हाउस एण्ड रिर्सोट प्रालिमा उन्नत जातका (बोयर ) बाख्रापालन थाले। त्यो फर्ममा पालिएका बाख्रा अस्ट्रेलियाबाट ल्याइएका उन्नत जातका हुन्।
अस्ट्रेलियाबाट ल्याइएको १४ माउ र चारवटा बोकाबाट बोयर बाख्रा उत्पादन गरिरहेको र वार्षिक रुपमा कम्तिमा २०० सय बाख्रा बजारमा पठाइने उनले बताए। बोयर बाख्राको तौल कम्तिमा पनि १ सय ३० केजीसम्म हुन्छ।
नेपालका कृषि क्रान्ति आवश्यक रहेको, तर परम्परागत कृषि प्रणालीको अवधारणा नै गलत रहेको उनको बुझाई छ। 'यहाँ गरिबको जीवनस्तर सुधार गर्न भन्दै लोकल बाख्रा वितरण गरिन्छन्। यी बाख्राको तौल मुस्किलले ३०-३५ केजी हुन्छ। श्रमको लगानी पनि उठ्न सक्दैन', उनी भन्छन्, 'लोकल बाख्रा वितरण गर्नु भनेको किसानको श्रम शोषण बाहेक केही होइन। सबैभन्दा पहिले गरिबको श्रम शोषण हुने काम छोडेमात्र कृषिक्रान्ति सम्भव छ।'
बोयर जातका बाख्राहरूलाई सम्पूर्ण खुराक मिलाउन सकियो भने दैनिक २५० ग्रामसम्म तौल बढ्ने उनले बताए। अहिले उनको फार्ममा १० जनाजतिले काम गरिरहेका छन्।
नेपालमा वर्षेनी करोडौंको मासु आयात हुने गरेको छ। यदि देशमा उत्पादन बढाउने हो भने आर्थिक समृद्धिको एउटा आधार बाख्रापालन हुने उनले दाबी गरे। यसले देशलाई त फाइदा पुग्छ नै, सबैभन्दा ठूलो परिवर्तन किसानको जीवनमा हुनेछ।
बोयर बाख्राको माग देशभित्रै उच्च छ। माग यसलाई व्यवस्थित गरेर अगाडी बढाउन सक्ने हो भने देशमा बढ्दो बेरोजगार घट्न सक्छ। यति मात्र होइन, मासुमा मात्र आत्मनिर्भर हुनसके वर्षेनी करोडौं रुपैयाँ पूँजी पलायन हुनबाट रोक्न सकिने पक्कापक्की छ।
उनका अनुसार छिटो बढ्ने, बोसो तथा कोलेस्टेरोल कम हुने हुँदा बजारमा बोयर जातका खसी-बोकाको मासुको माग बढिरहेको छ। फार्म संचालन गर्नुको उद्वेश्य मासुका लागि भन्दा पनि रैथाने बाख्रासँग क्रस गराएर उन्नत नस्लका पाठापाठी बढाउनु रहेको उनले बताए।
उनको फार्मबाट सोलुखुम्बु लगायत ५० जिल्लामा बाख्रा पुगेका छन्। यो जातको बाख्रा जहाँ पनि सहजै पाल्न सकिने भएकोले आफ्नो फार्ममा किन्नेहरूको भीड लाग्ने गरेको उनी बताउँछन्। बोका ९ महिनामा प्रजननका लागि तयार हुन्छ। उनको फार्ममा बाख्रा पालक किसानहरूले ‘बुकिङ’ गरेको ६ महिनामा बोका पाउने गरेका छन्।
युवालाई तालिम
उनले वैदेशिक रोजगारमा जाने युवा र देशमा बढ्दो बेरोजगारी दरलाई सानो अंशमा भएपनि घटाउन सहज होस् भनेर फार्म खोलेको बताए।
आचार्यले शुरूमा अस्ट्रेलियाबाट १७ वटा उन्नत जातका बाख्रा ल्याएका थिए। अहिले फार्ममा २ सय भन्दा धेरै बाख्रा छन्। उनको समूहले बाख्रा उत्पादन मात्र गरेका छैन, फार्ममा नै किसानहरूलाई तालिम समेत दिने गरेको छ।
'बाख्रापालन गर्नुअघि यसबारे सम्पूर्ण ज्ञान लिएमात्र आर्थिक उपार्जन सहज हुन्छ भनेर तालिम दिने गरेका छौं। युवाहरू समूहगत रुपमा आउने गर्नुहुन्छ। हामीले जानेको ज्ञान दिन्छौं', तालिमबारे आचार्य भन्छन्, 'आहार, खोर, रोग, प्रजनन, वृद्धि विकास व्यवस्थापन, मानव स्रोत परिचालन, रेकर्ड कीपिङ, आर्थिक व्यवस्थापनबारेमा तालिम दिने गरेका छौं।'
उनी बाख्रापालन गर्न चाहने किसानलाई केही टिप्स समेत दिन्छन्। बाख्रापालन गर्दा खोर वरपर जैविक सुरक्षा (बायोसेक्युरिटी) अपनाउनुपर्ने उनले बताए।
'बाख्रालाई दिनमा पटक-पटक पानी खुवाउने गर्नुपर्छ। हरेक दिन बाख्राको अवस्थाबारे जानकारी लिनु आवश्यक हुन्छ। यसैगरी बाख्राहरूलाई उपयुक्त समयमा खोप र औषधि दिनु उत्तिकै महत्वपूर्ण छ,' उनले भने, ' यो जातका बाख्रामा रोगसँग लड्नसक्ने क्षमता बढी हुन्छ। यद्यपी, बाख्रा बोल्न सक्ने जात होइन। रेखदेख त दिनहुँ आवश्यक पर्छ।'
अहिले कामको खोजीमा दैनिकजसो हजारौं युवाहरू बाहिरिने गरेका छन्। दक्ष र अदक्ष जनशक्ति निर्यात गर्नु नेपालको समस्या हो। बाख्रापालनमा अग्रसर हुनेहरूलाई सक्दो मद्दत गर्न आफू तयार रहेको उनी बताउँछन्। 'मेरो उद्वेश्य नै युवा जमातलाई व्यवसायिक बाख्रापालनमा आकर्षित गराउनु र युवाका लागि रोजगारी सिर्जना गर्नु, अनि देशलाई मासुमा आत्मनिर्भर बनाउने हो।'
विदेशमा अवसर देख्ने हाम्रो नियति
बेरोजगारीका कारण रोजगार खोज्दै विदेसिने युवाहरूको संख्या बढ्दो छ। यसको मुख्य जड भनेको शिक्षा प्रणाली पनि रहेको पूर्व-प्रमपुत्र आचार्य बताउँछन्।
'हाम्रो शिक्षा नीति नै गलत छ। किताबमा जे लेखेको छ : त्यो भट्ट्याएर लेख्यो भने त्यसले नम्बर पायो। जसले प्रश्नमा आफ्नो विचार राख्यो-त्यो फेल खान्छ। शिक्षा नीतिले हाम्रो दिमाग चलाउन कहिल्यै पनि सिकाएको छैन', आचार्य भन्छन्, 'हामीलाई कपी-पेस्ट गर्न सिकायो। विश्वमा यतिखेर धेरै अवसरहरू छन्। तर, हामीकहाँ शिक्षाले अवसरको बाटो देखाउन सकेन। अवसरलाई कसरी सदुपयोग गर्ने भन्नेबारे बहस नै गर्न सिकाएको छैन। शिक्षाले त मान्छेलाई सृजनशील बनाउनुपर्ने हो। तर, विडम्बना-दास मानसिकता तयार पारिदिएको छ।'
एकातर्फ शिक्षामा कमजोरी छ भने अर्को तर्फ युवाहरूमा नै समस्या रहेको आचार्यलाई लागेको छ। 'अहिलेका युवाले देख्ने अवसर भनेको फेन्सी लुगाको पसल, मोबाइल पसल, जुत्ता पसल, मम पसल र विदेशमा ठूला-ठूला भवन र चिल्ला सडकमा हो। हामीले समृद्धि सवारी साधनमा देखेका छौं ', उनी हाम्रो वास्तविक चित्र शब्दमा उतार्छन्, 'सरकारले पनि युवा केन्द्रित नीति ल्याउन सकेको छैन। यो विडम्बनाका कारण नेपाली युवाहरू खाडीमा अवसर खोज्न अभिशप्त छन्।'
खाडीमा अवसर खोज्दा देशको स्रोत र साधनहरू अलपत्र छन्। जमिनहरू बेकामे भएका छन्। रेमिट्यान्स आयात गरेर हाम्रा दैनिकी आवश्यकता परिपूर्ति गर्ने त्यो पैसा पुन विदेश पलायन भएको छ। अनि समृद्धि कसरी आउला र !
यहाँ बढ्दो शैक्षिक बेरोजगार बढ्दो छ। यहाँका युवालाई सरकारले उत्साहित बनाउन सकेको छैन। सरकारले युवालाई रेमिट्यान्सको स्रोत ठानेको छ। सरकारले शिक्षित वर्गमा जनशक्तिमा व्यवहारिक ज्ञान दिन सकेको नसकेको उनी बताउँछन्।
राजनीतिमा आउन बुबाको कसरत
पदमा पुगेका अभिभावकका सन्तानलाई मनोवैज्ञानिक दबाब हुन्छ। अभिभावकको प्रतिष्ठा जोडिने भएकोले पनि दबाब हुनु स्वभाविक हो। तर, ती सन्तानहरू कम्फोर्ट जोनमा पनि हुन्छन्। किनभने, एउटा ठूलो छहारी पनि त सँगसँगै पाइन्छ।
नेपालका १८ औं प्रधानमन्त्री टंकप्रसाद आचार्य वि.सं. २०१२ माघदेखि २०१४ सम्म देशको नेतृत्वमा बसे। आचार्यको आफ्नै इतिहास छ। पुत्र आचार्य पनि त्यो राजनीतिक घरमा हुर्के, जहाँ देशको भविष्य जोडिएको थियो।
घरमा हुने हरेक दिनको राजनीतिक बैठक उनलाई रोचक र रमाइलो लाग्थ्यो। देशका मूर्धन्य नेताहरू देख्दा खुबै रमाइलो मान्थे। टंकप्रसादले पनि छोरा आचार्यलाई राजनीतिमा आउन सुझाव दिन्थे।
आचार्य सम्झन्छन्, 'बुबा कानुन पढेर राजनीति गर्न सुझाव दिनुहुन्थ्यो। तर, मलाई यो राजनीति कहिल्यै रुचिको विषय रहेन, जसकारण मैले व्यवस्थापन पढें।'
राजनीति विशुद्ध सेवामुखी हुनुपर्थ्यो। अहिलेको राजनीति देख्दा त्यो परिभाषा फेर्नुपर्ने अवस्था आएको आचार्यलाई लागेको छ। उनलाई कहिलेकाही यस्तो फोहोरी राजनीतिमा नलागेर ठीक गरेछु भन्ने महसुस हुन्छ।
नेपालका पूर्व प्रधानमन्त्रीका अधिकांश सन्तानहरूले अभिभावकको लिगेसी समाउँदै राजनीतिको बाटो रोजेका छन्। तर, वीरभद्र अपवाद देखिए
'म मेरो क्षमता जे मा छ-त्यसमा नै आफ्नो करियर बनाउँछु भन्ने लागेर राजनीतितिर गइनँ', उनी भन्छन्, 'क्षमता र रहरबिना त के राजनीति गर्नु र?'
तपाईंको ईमेल गोप्य राखिनेछ ।