|

स्याङ्जा : जिल्ला प्रहरी कार्यालय स्याङ्जाले प्रहरी कर्मचारीका लाग हाउस वाइरिङ तालिम दिएका छ। सेवा निवृत्त हुन लागेको २० जना प्रहरीलाई विद्युतीय दुर्घटना निराकरण गर्न र सेवा अवकासपछि उद्यमी बनाउन ४५ दिने हाउस वायरिङ तालिम प्रदान गरिएको हो।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले तालिमलाई अवकाश कार्ययोजनाअन्तर्गत प्रदान गरेको कार्यालय प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताए। उनी भन्छन्, ‘जनताको सेवामा खटिने प्रहरीलाई सेवा अवधिभर र अवकाशपछि पनि सुखी जीवन जिउन सिकाउने अभ्यासको थालनी गरेका छौँ।’

‘सिप सिकौँ, आत्मनिर्भर बनौँ’ भन्ने नारासहित घरेलु तथा साना उद्योग कार्यालय स्याङ्जाले आयोजना गरेको तालिममा सेवाको उत्तरार्धमा पुगेका २० र सेवा निवृत्त भएका दुईजना प्रहरी सहभागी छन्। तालिमपछि २६ वटा प्रहरी युनिटमा प्रहरीले नै विद्युतीय समस्या निराकरण गर्ने जनशक्ति उत्पादन गर्ने जिप्रका स्याङ्जाको लक्ष्य छ।

तालिम लिइसकेपछि वैदेशिक रोजगारी र अन्य पेशामा भौतारिनुभन्दा आफ्नै सिपलाई उपयोग गर्न प्रहरीहरु उत्साहित छन्। ‘प्रहरी सेवाको रिटाएर्डपछि वित्तीय संघ संस्थामा सुरक्षा गार्डको जागिर खोज्दै हिँड्न त पर्दैन। सिप भएपछि  आफ्नै कर्म गर्न त पाइन्छ,’ प्रहरी हवल्दार मनोज प्रसाद पाण्डे भन्छन्, ‘सेवा अवधिभर विद्युतीय दुर्घटनाबाट मानवीय क्षति रोक्न र सेवापछि आफ्नै व्यवसाय सञ्चालन गर्न यो सिप काम लाग्नेछ।’ 

जिल्ला प्रहरी कार्यालयको प्रमुखको जिम्मेवारी पाएपछि प्रहरी उपरीक्षक बोगटीले यसअघि ‘आई लभ यु बुढी’ अभियान चलाएका थिए। प्रहरीको जीवनमा पारिवारिकसुख ल्याउन यो अभियान ल्याइएको बोगटी बताउँछन्। सेवा अवधिभर घरपरिवारलाई दैनिक सम्झनुपर्दछ भन्ने उद्देश्यले राति सुत्ने बेलामा फोन गरेर परिवारलाई ‘आई लभ यु’ भन्नुपर्ने थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.