|

काठमाडौं : सहिद स्मारक ’बी’ डिभिजन लिग फुटबलमा मध्यपुर युथ एसोसियसनले लगातार तेस्रो जित निकालेको छ। कोरोनाका कारण करिब एक वर्ष रोकिएर फेरी सुरु भएको लिगमा त्यसपछि खेलेका चारवटा मध्ये पछिल्लो समय खेलेका ३ वटै खेलमा लगातार जित दर्ता गरेको हो।

यस क्रममा शुक्रबार भक्तपुर क्लब मध्यपुरले ललितपुर क्लब पुल्चोक स्पोर्ट्स क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्यो। जितसँगै मध्यपुरले ९ खेलमा १० अंक जोड्दै आफूलाई लिगको सातौं स्थानमा समेत उकालेको छ।

शुक्रबारको खेलमा १० खेलाडीमा समेटिएको मध्यपुरले पुल्चोकलाई हराएर पुछारबाट माथि उठ्ने पुल्चोकको प्रयास विफल पारिदिएको छ। पुल्चोक २ अंक जोडेर पुछारमा छ। एन्फा कम्प्लेक्स सातदोबाटोमा मध्यपुरलाई जित दिलाउन धिरज श्रेष्ठले दुई गोल गरे भने अर्को एक गोल आत्मघाती उपहार पायो। पुल्चोकका किश्मत लिम्बु र शिरोब लो तामाङले एक÷एक गोल फर्काए।

ठिमीको क्लब मध्यपुरले सुपर सिक्ससम्म पुग्ने योजना बनाएको छ। लिगमा अब बाँकी रहेका दुबै खेलमा जित हातपारे मध्यपुर सुपर सिक्समा पुग्नेछ। मध्यपुरले अब झम्सीखेल युथ क्लब र सातदोबाटो युथ क्लबसँग खेल्न बाँकी छ। एक वर्ष अगाडि कोरोनाका कारण प्रतियोगिता रोकिनु अघिसम्म खेलेमा ५ खेलमा ४ मा हार र १ मा बराबरी खेलेको थियो। कोरोनापछि फेरी सुरु भएको प्रतियोगिताको पहिलो खेलमा मध्यपुर नयाँ वस्ती यूवा क्लबसँग पराजित भएको थियो।

पछिल्ला खेलमा मध्यपुरले अंक गुमाउन परेको छैन। उसले शतप्रतिशत नतिजा निकालिरहेको छ। कुमारी क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको मध्यपुरले टुसाल युथ क्लबलाइ पनि पराजित गरेको छ। त्यसअघि खुमलटार युथ क्लब, आरसिटी क्लब, बाँसबारी क्लब र श्रीभगवती क्लबसँग मध्यपुर स्तब्ध बनेको थियो। ब्वाइज युनियन क्लबसँग भने बराबरी खेल्दै अंक बाढेको थियो। 

पछिल्लो समय आफ्नो टोली सेटमा आएको क्लबका अध्यक्ष उपेन्द्रमान सिंहले बताए। ‘खेल्ने खेलाडी तिनै हुन्। एक वर्ष अघि अनुभव कम देखिएको टोली अहिले सेटमा आएको छ’ उनले भने, ‘अहिले टीम राम्रो देखिएको छ। सातदोबाटाको अपराजित यात्रा यही टोलीले भत्काउन सक्छ।’ यसअघि शुक्रबारनै सम्पन्न पहिलो खेलमा शीर्ष स्थानको सातदोबाटो युथ क्लबले सहज जित निकालेको छ।

सातदोबाटोले बाँसबारी क्लबलाई ४–१ गोल अन्तरले पराजित गरेको हो। सातदोबाटोको जितमा अशिम राई, प्रवेश बस्नेत र दिनेश राईले एक÷एक गोल गरे। यस्तै, सातदोबाटोले बाँसबारीका अमृत श्रेष्ठको आत्मघाती गोेलको उपहार पनि पाएको थियो। बाँसबारीका निशान सुनारले सान्त्वना एक गोल फर्काए। जितसँगै उपाधि होड बलियो बनाएको सातदोबाटोले ९ खेलमा २५ अंक जोडेको छ। बाँसबारीले ९ खेलमा १८ अंक जोडेको छ। बाँसबारी तेस्रो स्थानमा रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.