|

धादिङ : धादिङको धुनीबेंसी नगरपालिका-४, जिम्बालगाउँ ढुंगेनीमा गएको पुस २४ गते राति ७५ वर्षीया वृद्धाको हत्या गरी गरगहना लुटेर फरार भएका पाँच जना काठमाडौंबाट पक्राउ परेका छन्‌।  

सान्नानी सार्कीको हत्यामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरी शुक्रबार जिल्ला प्रहरी कार्यालय धादिङमा सार्वजनिक गरेको हो।

कान र घाँटीमा लगाएको गरगहना लुट्नकै लागि वृद्धाको हत्या भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। अनुसन्धानमा संलग्न इलाका प्रहरी कार्यालय खानिखोलाकी प्रमुख रुपा थापाका अनुसार लुटेरा समूहले गत पुस २४ गते राती २ बजे आफ्नै घरमा सुतिरहेको समयमा सान्नानीको हत्या गरेका हुन्‌।

वृद्धाको हत्यामा संलग्न भएको आरोपमा मकवानपुर जिल्ला मकवानपुरगढी गाउँपालिका वडा नम्बर १ बस्ने २५ वर्षीय अनिल थिङ भनिने जय बहादुर सिंगार, खोटाङ जिल्ला खोटेहाङ गाउँपालिका वडा नम्बर ९ मा जन्म भइ हाल सप्तरी जिल्ला अग्नीसाइर कृष्णसवरन गाउँपालिका वडा नम्बर ६ बस्ने वर्ष ३२ का साजन विक, ओखलढुंगा जिल्ल्ला चिशखुंसीगढी गाउँपालिका वडा नम्बर ३ मा जन्म भइ मोरङ जिल्ला विराटनगर महानगर पालिका वडा नम्बर ३ घई भइ काठमाडौं थानकोट बस्ने वर्ष २४ का अबिसराज कार्की, काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल नगरपालिका १३ माइती घर भइ नुवाकोट जिल्ला विदुर नगरपालिका वडा नम्बर ५ घर भइ काठमाडौं बाफल बस्ने वर्ष ३३ की पुष्पा कुमारी पौडेल र काभ्रेपलान्चोक जिल्ला धुलिखेल नगरपालिका वडा नम्बर २ घर भइ काठमाडौं कालीमाटी बस्ने वर्ष ४२ का सुन व्यवसायी धन बहादुर कालीराजलाई धादिङ प्रहरीले शुक्रबार सार्वजनिक गरेको हो।

पक्राउ परेकाहरूलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ को ज्यान सम्बन्धी कसुर र सोही संहिताको परिच्छेद २० को चोरी तथा डाँका सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार ससुरालीमा बस्दै आएका अनिल थिङ भन्ने जय बहादुर सिंगारले लामो समयदेखि सान्नानीबारे जानकारी लिँदै आएको र सोही योजनाअनुसार उनको हत्या गर्नकै लागि काठमाडौंमा भेटेर छलफल गरी योजना बनाएर चार जना साथीहरू बोलाई हत्या गरेको अनुसन्धानबाट खुलेको छ।

घटना भएदेखि नै धादिङ र काठमाडौँमा प्रहरीले खोजी कार्य शुरू गरेको थियो। घटनापछि शंकास्पद व्यवहार देखाउँदै आएका अनिल थिङ भनिने जय बहादुर सिंगारलाई फागुन १७ गते पक्राउ गरी बयान लिँदा घटनाको रहस्य खुलेपछि अन्य चार जनालाई गत माघ २५ गते पक्राउ गरी अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

सुनका गहना लुटपाट गर्ने योजना बनाई पहिलेदेखि ससुराली घरमा बस्दै आएका अनिलले प्रतिवादीहरूलाई काठमाडौँमा बोलाई योजना बनाएको पाइएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूले जानकारी दिएका छन्।

योजना बमोजिम मध्यरातमा सान्नानीको घरमा पुगी टाउकोमा ढुङ्गाले प्रहार गरी हत्या गरी गरगहना लुछि टोली राति नै गाउँबाट राजधानी फर्केको धादिङका प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताए। ‘योजना बनाएरै हत्या गरेको अनुसन्धानका क्रममा खुलेको छ’, खड्काले भने। 

हत्या गरी सुनका गरगहना लुटेर काठमाडौँ फरार भएका उनीहरूले भोलिपल्ट पुष्पाकुमारी पौडेलमार्फत कालीमाटीका सुन व्यवसायी धनबहादुर कालीराजलाई ५० हजार तीन सय ८९ रुपैयाँमा बेचेको र प्राप्त रकम एक-आपसमा बाँडफाँड गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जानकारी दिएको छ।

श्रीमान र श्रीमती अलग-अलग घरमा बसेको दिन पत्ता लगाई उनको हत्या भएको थियो। मृतक सार्कीका २ छोरा काठमाडौंमा बस्दै आइरहेका छन्‌ भने छोरीको विवाह भइसकेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.