४२ लाखलाई खोप लगाउने योजना

|

काठमाडौं :  कोरोना भाइरस संक्रमणविरुद्ध दोस्रो प्राथमिकताको पहिलो चरण आजबाट सुरु हुँदैछ।  प्रधानमन्त्री केपी शर्मा ओलीलाई खोप लगाएर दोस्रो चरणको अभियान शुरु गरिने भएको छ । प्रधानमन्त्री ओलीले आइतबार बिहान शिक्षण अस्पतालमा खोप लगाउने तय भएको छ। 

दोस्रो प्राथमिकतामा रहेका ५५ वर्ष उमेर माथिका साथै विश्वविद्यालय र विद्यालयका शिक्षक कर्मचारीलाई खोप लगाइने छ। यस्तै सार्वजनिक सवारीसाधनका चालक र सहचालकलाई पनि प्राथमिकतामा राखिएको छ। ती सबैको संख्या करिब ४२ लाख रहेको स्वास्थ्य सेवा विभागको आकलन छ।

यो चरणमा १५ हजारभन्दा बढी जनशक्ति परिचालन गरी ४२ लाखलाई खोप लगाउने छन्। यस्तै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोरोनाविरुद्धको खोप सबै जनताको पहुँचमा पुर्‍याउने प्रयास भइरहेको बताएका छन्।​

मन्त्री त्रिपाठीले भारतमा उत्पादन भएको कोभिशिल्ड खोपको ५० लाख मात्रा किन्ने प्रक्रियासमेत शुरु भइसकेको जानकारी दिए यसअघि सरकारले भारत सरकारको अनुदानमा १० लाख मात्रा खोप र खरीद गरेको १० लाख मात्रा खोप आइसकेको छ भने १० लाख मात्रा खोप भारतबाट आउने प्रक्रियामा रहेको उनको भनाइ छ।  २० दिनसम्म चल्ने खोप अभियानमा १६ लाख ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिने सरकारको योजना छ।

कोभ्याक्स आज आइपुग्ने

स्वास्थ्य सचिव लक्ष्मण अर्यालले कोभ्याक्स संयन्त्रबाट प्राप्त हुने तीन लाख ४८ हजार खोप आज नेपाल आइपुग्ने जनाएका छन्। सरकारले कोभ्याक्स संयन्त्रमार्फत एक करोड ३० लाख खोप ल्याउने तयारी गरेको छ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मा कोभ्याक्समार्फत बर्मा, श्रीलङ्का र नेपालले मात्र खोप पाउने भएका छन्।

यस्तै सचिव अर्यालले भारतको सेरम इन्स्टिच्युट कम्पनीसँग खरीद गरेको खोप पनि एक हप्ताभित्र आउने बताए। उनले आजबाट शुरु हुने खोप १५ हिमाली जिल्लाका ५५ वर्षभन्दा माथि र बाँकी अन्य जिल्लाका ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई लगाइने बताए। करीब ६ हजार खोप केन्द्रबाट प्रत्येक दिन दुई लाखका दरले खोप प्रदान गरिने उनको भनाइ छ। उनले असार १५ गतेसम्म ५५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई पहिलो र दोस्रो मात्राको खोप लगाइसक्ने तयारी रहेको समेत जनाए।

यसअघि पहिलो चरणको खोप अभियानअन्तर्गत चार लाख २९ हजारले खोप लगाएका थिए। पहिलो चरण गत माघ १४ देखि फागुन १० गतेसम्म सञ्चालन भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.