|

चितवन : गत शुक्रबार राति भरतपुर महानगरपालिका–१९ रामपुरस्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा करिब ४५ लाख रुपैयाँ बराबरको क्षति भयो। मधु सापकोटाले सञ्चालन गरेको अनुपम फर्निचर उद्योगमा विद्युत् सर्ट हुँदा आगलागी भएको थियो। उद्योगमा लागेको आगो तीनवटा दमकलको सहायतामा स्थानीय र प्रहरीले करिब एक घण्टामा नियन्त्रणमा लिएका थिए। 

पछिल्लो समय चितवनमा आगलागीका घटना बढ्दो छ। आगलागीबाट बर्सेनि करोडौँ रुपैयाँको क्षति हुने गरेको छ। आगलागीका अधिकांश घटना विद्युतको प्राविधिक समस्या, मानिसको असावधानी र लापरवाहीका कारण भएको पाइएको छ।

चालू आर्थिक वर्षको आठ महिनामा आगलागीका १३ वटा घटना भएका छन्। फागुनमा मात्रै तीनवटा घटना भएको प्रहरीले जनाएको छ। तीमध्ये दुईवटा विद्युत सर्ट भएर र एउटा लाइटर पड्किँदा भएको हो। 

चालु आर्थिक वर्षमा भएका १३ वटा आगलागीका घटनामध्ये छवटा विद्युत सर्ट भएर, ग्यास सिलिण्डर लिक भएर दुईवटा र फोहोर जलाउँदा, दियो बाल्दा, गाईभैंसीका लागि पानी तताउँदा र लाइटर पड्केर एक÷एक वटा घटना भएका छन्। त्यस्तै, गत कात्तिक २८ मा भरतपुर–३ न्युरोडमा रोकिराखेको ना ३ ख ६९०५ नम्बरको ट्रकमा अचानक आगलागी भएको थियो।

आगलागीका घटनाबाट करिब दुई करोड २० लाख २० हजार रुपैयाँ क्षति भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए। यस्तै, दुई जना घाइते भएका छन्।

गत आर्थिक आगलागीका छवटा घटना भएका थिए। तीमध्ये पाँचवटा विद्युत् सर्ट हुँदा भएका हुन्। एउटा घटना भने राप्ती–११ को वडा कार्यालयमा अज्ञात समूहले आगजनी गर्दा भएको हो। आगलागीबाट गत आर्थिक वर्ष करिब १३ करोड ६७ लाख ५४ हजार रुपैयाँ क्षति भएको थापाले बताए।

अग्नि नियन्त्रण सामग्रीको अभाव

आगो नियन्त्रणका लागि प्रहरी नै अग्रपंक्तिमा खटिएका हुन्छन्। तर, नियन्त्रणमा प्रयोग हुने फायर एक्सटिङ्गगुइसर र दक्ष जनशक्ति प्रहरीसँग पर्याप्त नरहेको प्रहरी नायब उपरीक्षक थापा बताउँछन्। ‘हामीसँग फायर एक्सटिङ्गगुइसर पनि पर्याप्त मात्रामा छैन,’ उनले भने, ‘दमकल त छँदै छैन, स्थानीय तह र अन्य निकायमा भएका दमकललाई प्रयोग गर्ने हो।’

दमकललाई सम्पर्क गरेको ५ देखि १० मिनेट भित्र घटनास्थल पुग्न सक्ने अवस्थालाई दमकलको प्रभावकारितालाई पर्याप्त मान्न सकिन्छ। तर भित्री क्षेत्रमा आगलागीले पूर्ण क्षति पु¥याइसक्दा पनि दमकल पुग्न नसक्ने अवस्था रहेको उनी बताउँछन्।

घर तथा उद्योगमा अर्थिङ जोड्न सुझाव

विद्युत् सर्ट हुन नदिन घर तथा उद्योगहरुमा अर्थिङ जडान गर्नुपर्ने विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका इन्जिनियर विनोद सापकोटा बताउँछन्। बिजुली चम्कँदा तारमा प्रभाव हुने उच्च भोल्टेजको करेन्टलाई अर्थिङले जमिनमुनि पठाउने काम गर्छ। जसले गर्दा विद्युत सर्ट हुन नपाउने सापकोटाको भनाइ छ।

ट्रान्सफर्मरमा अर्थिङ नगर्दा, त्यसका भित्रि तारहरु चुँड्ने वा आपसमा जोडिँदा विद्युत् सर्ट भई आगलागी हुन सक्ने उनको भनाइ छ। ‘उद्योगीहरुले अर्थिङलाई खासै ध्यान दिँदैनन्, अर्थिङ फेल भएको अवस्थामा भोल्टेज उच्च हुन पुग्यो भने विद्युत् सर्ट हुन्छ’, उनले भने, ‘बिजुली चम्कँदा विद्युत् प्राधिकरणले पनि भोल्टेज नियन्त्रण गर्न सक्दैन। यो प्राकृतिक प्रकोपजस्तै हो।’

ग्राहस्थ उपभोक्ताले पोलबाट घरसम्म तान्ने तारको बाहिरी आवरणमा हुने पत्र (इन्सुलेसन) कम गुणस्तरको पर्न गएमा विद्युत सर्ट हुन सक्ने उनले बताए। ‘गुणस्तरको आधारमा तारहरुले कति भोल्टेजसम्म धान्न सक्ने भन्ने निर्धारण हुन्छ,’ उनी भन्छन्, ‘सामान्यतः ४०० भोल्टको तारले तीन हजार भोल्टसम्म धान्छ। आकाशमा बिजुली चम्कँदा तारमा तीन हजारभन्दा पनि बढी भोल्टेज हुन गएमा इन्सुलेसन फेल हुन्छ र सर्ट भएर आगलागी हुन सक्छ।’ 

घर तथा उद्योगहरुमा अर्थिङ राख्न सके विद्युत् सर्ट हुने समस्यालाई कम गर्न सकिने उनको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.