|

जुम्ला :  स्थापना भएयता कर्णाली प्राविधिक शिक्षालयमा २६ जना प्रमुख भएका र फेरिएका छन्‌। तर, शिक्षालयको मुहार फेरिएको छैन। नेपालको पहिलो कर्णाली प्राविधिक शिक्षालय निकै जीर्ण बनेको हो।

यहाँका भौतिक संरचना भत्कने अवस्थामा पुगेका छन्‌। हिँड्ने बाटो उप्किएको छ। उचित घेराबार नहुँदा पशुबस्तु चरण क्षेत्र झैँ देखिन्छ। २०३० सालमा कर्णालीलाई प्राविधिक शिक्षाको केन्द्र बनाउने हेतुले स्थापना भएको यो शिक्षालय निकै भद्रगोल र अव्यवस्थित हुन पुगेको हो।

अहिले पनि शिक्षालयमा खानेपानीको चरम अभाव छ। जसका कारण विद्यार्थी, शिक्षक र प्रशिक्षक दूषित पानी पिउन बाध्य छन्‌।

​४० वर्ष पहिले बनेका भौतिक संरचना पुन:निर्माण त के मर्मत समेत हुन सकेका छैनन्‌। चुहिने छानामा विद्यार्थी शिक्षक बस्न र पढ्न बाध्य छन्‌। दरबन्दी अनुसारका शिक्षक पनि छैनन्‌।

प्राविधिक शिक्षालयजस्तो महत्व बोकेको कर्णाली प्राविधिक शिक्षालय निकै छाडा र उजाड बनेको स्थानीय बताउँछन्‌। प्राविधिक शिक्षालयको मर्मत सम्भार र संरक्षणमा कसैको चासो पुगेको छैन। उनका अनुसार हरेक क्षेत्रको मुहार कोर्ने प्राविधिक जन्माउने यो थलो अहिले उजाड हुन पुगेको छ।

'भवनमा लगाएका चुना पुरानो भएको छ, भवन भत्किएका छन्‌, घेरबार नहुँदा शिक्षालय असुरक्षित छ, तर सरोकारवाला निकाय रमिते बनेर टुलुटुलु हेरिराखेको छ, यो जस्तो लाजमर्दो विषय अरू हुन सक्दैन,' स्थानीय कर्णबहादुर भण्डारीले भने, '६ सय ५२ रोपनी क्षेत्रफलभित्र रहेको कर्णाली प्राविधिक शिक्षालय निकै उदेकलाग्दो छ, विकासको प्रतिक्षा गरिरहेको अवस्थामा छ, शिक्षालयका शौचालय निकै फोहोर छन्‌, संघीयता आइसकेपछि प्राविधिक शिक्षालयको अवस्था गिर्दो छ।'

हरेक कार्यालय प्रमुखको रिर्पोटमा यहाँको विकास राम्रो भएपनि अवस्था नफेरिएको स्थानीय बताउँछन्‌। कर्णाली प्राविधिक शिक्षालयका प्रिन्सिपल टेकेन्द्र थापा शिक्षालयको अवस्था निकै नाजुक भएको बताउँछन्‌। फागुन १८ गतेदेखि प्रिन्सिपलको रुपमा आएका उनले शिक्षालयको प्रगति आशालाग्दो नभएको बताए।

उनले भने,'अबको पाँच बर्षमा यहाँको मुहार फेर्ने गरि कार्ययोजना ल्याउन लागेको छु। तत्काल ४० वर्ष पुराना संरचनाको मर्मत हुनेछ। नाला सफा गर्नेदेखि आधुनिक शौचालय निर्माण गरिनेछ। शिक्षालय परिसर हरियाली हुनेछ। पहिलेकै अवस्थामा आकर्षक संरचना निर्माण भएको हुनेछन्‌। यो मेरो जिम्मेवारी हुनेछ। साथ सबैको होस्‌।'

शिक्षालयमा खाली दरबन्दी पदपूर्तिको लागि तत्काल पहल हुने उनले बताए। उनले भने, 'कसैबाट दबाव नआएको अवस्थामा शिक्षालयले परिक्षा लिएर दरबन्दी अनुसारका शिक्षक प्रशिक्षक राख्नेछ। व्यापक दबाव आउने अवस्था भएर लोकसेवा आयोगलाई जिम्मेवारी दिएर भएपनि खोली कोटा पुरा गरिनेछ। प्रिन्सिपल फेरिन्छन्‌। शिक्षक, प्रशिक्षक, कर्मचारी, विद्यार्थी बदलिन्छन्। तर प्राविधिक शिक्षालयको संरचना पुरानै ढर्राको छ।'

प्राविधिक शिक्षालयसँग सरोकार राख्ने निकाय, अभिभावक, स्थानीय र स्थानीय सरकार सबैसँग बसेर शिक्षालयको अवस्थामा सुधार ल्याउने प्रयास हुने प्रिन्सिपल थापा बताउँछन्‌। हरेक वर्ष गरिने क्रियाकलापको टिपोट हुनेछ। वास्तविक प्राविधिक शिक्षालय जुम्लामै छ। हरेक हिसावले यो प्राविधिक शिक्षालय अघि नै छ भन्ने सन्देश छर्न तयार रहेको उनले बताए।

अहिले डिप्लोमातर्फ ४ विषयको पढाई भइरहेको छ। २०६५ मा डिप्लोमा सिभिल इन्जिनियर,२०६६ सालमा आइएस्सीएजी प्लान्ट साइन्स, २०७४ सालमा फरेस्ट्री र २०७७ सालमा फार्मेसी पठनपाठन भइराखेको छ। आगामी दिनमा डिप्लोमा भेटनरी तर्फको कक्षा सञ्चालनका लागि पहल हुने प्राविधिक शिक्षालयले जनाएको छ।

यो कक्ष सफल भएको खण्डमा एग्रो इन्जिनियर पढाइका लागि लविङ शुरु हुनेछ। अन्डर एसएलसी तर्फ सब ओभरसियर र जेटीएको पठनपाठन भइरहेको छ। सीएमए र अनमी चिकित्सा शिक्षा आयोगले नपढाउन लागि सर्कुलर गरिसकेको छ। यो वर्ष यी दुई विषयमा भर्ना पनि लिइएको छैन।

पहिलेका केही महत्वपूर्ण तथा प्राविधिक शिक्षालयमा हुनुपर्ने गुणको अभाव छ। अहिले यहाँ उत्पादित जनशक्ति देशै भरी छरिएर काम गरिरहेको छ। तर प्राविधिक उत्पादन गर्ने उद्योगको रुपमा रहेको प्राविधिक शिक्षालय दिनप्रतिदिन जीर्ण बन्दै गइराखेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.