|

काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले २०० विद्यार्थीलाई ट्राफिक स्वयंसेवकको रुपमा परिचालन गरेको छ।

ट्राफिक व्यवस्थापनलाई चुस्त, दुरुस्त बनाउन महाशाखा र राष्ट्रिय युवा परिषद्को समन्वयमा बिभिन्न कलेजका २०० जना विद्यार्थीलाई ट्राफिक स्वयंसेवकको रुपमा खटाउन लागिएको हो।

विद्यार्थीलाई महाशाखामा शिक्षण गरि काठमाडौंका विभिन्न चोक जक्सन, आकाशे पुल र जेब्रा क्रसिङमा परिचालन गरिने महाशाखाले जनाएको छ। महाशाखाले स्वयंसेवकलाई १० दिनसम्म उपत्यकाका विभिन्न सवारी चाप हुने स्थानमा परिचालन गर्ने जनाएको छ। उपत्यकाको सवारी चाप हुने तथा बढी पैदल यात्रु भीडभाड हुने स्थानमा सहज र सुरक्षित आवागमन गर्ने लक्ष्यसहित ट्राफिक स्वयंसेवक परिचालन गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताए।

स्वयंसेवकले आकाशे पुल तथा फुटपाथको प्रयोग नगर्ने पैदल यात्रुहरुलाई सुरक्षित तरिकाले बाटो काट्न सहयोग गर्नुका साथै जथाभावी बाटो नकाट्न र नियमको पालना गर्न सन्देश प्रवाह गर्ने भट्टराईले जानकारी दिए। उनले एक मिनेट मात्रै सवारी सञ्चालनमा सहज भयो भने पनि राहत महसुस हुने भन्दै ट्राफिक स्वयंसेवकले त्यो वातावरण तयार पार्ने विश्वास व्यक्त गरे।

जेब्रा क्रसिङ तथा जथाभावी बाटो काट्दा भएका दुर्घटनामा परि मानिसको ज्यान गएको विगतको घटना स्मरण गर्दै उनले पैदलयात्रुको बढि भीडभाड हुने त्यस्ता क्षेत्रमा स्वयंसेवक परिचालन गरि सहजता ल्याउने जानकारी दिए।

उपत्यकामा बर्षेनी सुरक्षित सडक प्रयोग नगर्दा धेरै पैदलयात्रुहरू दुर्घटना परि अनाहकमा ज्यान गुमाउनुको साथै अङ्गभङ्ग हुने गरेको छ। सडक सुरक्षा तथा ट्राफिक नियमलाई बेवास्ता गरि लापरवाही तरिकाले सडक पार गर्ने र जथाभावी हिड्डुल गर्दा दुर्घटनाको जोखिम उच्च रहने र सडक व्यवस्थापनमा समेत असर गर्ने हुनाले त्यसलाई रोक्न ट्राफिक स्वयंसेवक परिचालन एउटा प्रभावकारी उपाय हुने महाशाखाको अपेक्षा रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.