काठमाडौं : थिएटरमा दर्शकहरूलाई ल्याउन गाह्रो हुन्छ। एकपटक आएपछि नाटक हेर्ने भोक सधैँका लागि जाग्छ।
कोरोना महामारीका कारण लामो समय नाटक घरहरू पनि बन्द भए। अब क्रमश: खुल्दैछन्। नाटकहरू भने मञ्चन हुन चाहिँ बाँकी नै छन्। कोरोनाले सामाजिक दुरीमा बस्नुपर्ने बाध्यकारी अवस्था सिर्जना गरिदिनाले नाटक फ्लोरमा जान सकेको छैन।
कोरोनाले थलिएको देश नै अहिले चलायमान हुँदैछ। सरकारले कोरोना नियन्त्रण गर्न लगाएको लकडाउन पनि पूर्णत: हटिसकेको छ।
कोरोना नियन्त्रण गर्न भन्दै सरकारले सबैभन्दा बढी भीड रहने सिनेमा हल, नाटकघर, होटल, डिस्को बार तथा क्लबहरू बन्द गरिदिएको थियो।
अहिले ती पूर्ण रूपमा खुलिसकेका छन्। तर, हल र थिएटर भने अहिलेसम्म साविककै लयमा आउन सकेका छैनन्। खुलेका सिनेमा हलमै पनि दर्शकको उपस्थिति न्यून रहेको छ। थिएटरहरूको पनि हालत उस्तै छ।
उपत्यका लगायत देशका विभिन्न शहरमा खुलेका नाटक घरहरू चहलपहल हुन बाँकी छ।
काठमाडौं उपत्यकाका सबै थिएटर खुलेपनि अधिकांशमा नाटक मञ्चन भएका छैनन्। कोरोनाको खोप आइसकेपछि भने अब भने नाटकघर खुलाउन सहज भएको छ।
सर्वनाम थिएटरमा कार्यरत नाट्यकर्मी राज शाहले अब नाटक मञ्चन भएपनि दर्शक आउँछन् कि आउँदैनन् भन्ने कुरा महत्वपूर्ण रहेको बताए। कलाकारहरूले लामो विश्राम लिएकोले अब आक्रमक रूपमा नाटकहरू मञ्चन हुने विश्वास उनले लिएका छन्।
'हामीले यो बिचमा नाटक मञ्चन गर्न सक्थ्यौं। तर, सामाजिक उत्तरदायित्व बहन गर्नुपर्ने कलाकर्मीको पनि जिम्मेवारी रहेकाले नाटकहरू मञ्चन नगरेका हौं,' उनले भने, 'अब भने नाटकहरू मञ्चन हुन्छन्, सम्भवत चैत वैशाखमा नाटक घरहरूमा दर्शकहरूले नाटक हेर्न पाउँछन्।'
पूर्वको झापामा निर्माण भएको 'कदम नाटकघर' पनि पूर्ण रूपमा बन्द भएको थियो। लकडाउन हुनुअघि नाटक 'बाछिटा' मञ्चन तयारीमा थियो। त्यो नाटक मञ्चन हुनुअघि नै देशमा कोरोना फैलियो।
कोरोनासँगै 'कदम थिएटर'मा नाटक मञ्चन हुन पाएन। अब कोरोनाको भ्याक्सिन नेपाल आइसकेकाले सो नाटक मञ्चनको तयारीमा रहेको थिएटरका कला निर्देशक सिजन दाहालले जानकारी दिए।
अहिले कोरोनाले गर्दा समाजले भोग्नुपरिरहेको अवस्थालाई नाटक मार्फत 'थिएटर फर कम्युनिटी' भन्ने नयाँ नाटक मञ्चनको कार्यक्रम शुरू हुँदैछ। यो झापाका विभिन्न ७ पालिकामा मञ्चन हुने दाहालले बताए।
नाटकबारे नियमित मञ्चन भएपनि दाताको आवश्यकता परिरहने अवस्थाले गर्दा अब भने यसलाई व्यवसायिक बनाउन थप कामहरूका लागि योजनाहरू अघि बढाइरहेको उनी सुनाउँछन्।
'नाटकलाई व्यावसायिक बनाउन काम नै गर्नुपर्छ, यसका लागि हामी लागिरहेका छौं,' उनले भने। सम्भवत: चैतको अन्तिमबाट कदम थिएटरमा नाटक मञ्चन हुने उनले सुनाए।
'भवन निर्माण हुने काम सकिनुपर्थ्यो। तर, कोरोनाले भवन निर्माणको काम पनि पूर्ण रूपमा सकिएको छैन। अब वैशाखसम्म यो काम पनि सकिएपछि भने नाटकलाई थप तीव्रतासाथ अघि बढ्नेछ,' उनी विश्वस्त छन्।
यता, पोखरामा पनि कोरोनाका कारण एक वर्ष नाटकहरू मञ्चन हुन सकेका छैन। गएको फागुनमा 'यो कस्तो महाभारत' नाटक मञ्चन भएको केही समयमा नै लकडाउन भयो। त्यसपछि नाटकबारे कुनै गतिविधि भएका छैनन्। लामो समय सुस्ताएको पोखराको नाटक कर्म केही वर्ष यता जुर्मुराएको थियो। तर, कोरोनाले गर्दा पुन: पहिलेको अवस्थामा पुगेको पोखरा थिएटरका अध्यक्ष परिवर्तन बताउँछन्।
'नाटक कहिले मञ्चन हुन्छ भन्ने पोखरेलीको जिज्ञासा मेट्न पनि अब पुन: नाटक मञ्चनको तयारीमा छौं। चैतबाट विद्यालय नाटक महोत्सवमा विजेता भएका नाटकहरू हामी मञ्चन गर्ने तयारी गरिरहेका छौं,' परिवर्तनले भने।
अहिले पोखरा थिएटरमा अभिनयका क्लास शुरू भइसकेका छन्। तर, पूर्ण तयारी गरेर काम गर्नुपर्ने उनले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।