|

 

राम् राम् साप!
म चौवालीस्
सेकेन वर्ल्ड वारको एक जख्मी सिपाही
यो बार
इस्टकोटको गोजीमा पट्टा हैन, खत् घुसारेर
पिन्सिन क्याम आएको छु।

हरबार जब यो क्यामको हरियो गेटभित्र छिर्छु
मेरो कानमा
हजारौँ बम र गोलीका आवाजहरू बज्न थाल्छन्
'हुकुमलाई जवाफ छैन
काललाई ओखती छैन'
सिरुपाते खुकुरी नचाउँदै लडेका
वो दिन याद आउँछ।

हरबार जब यो क्यामको हरियो गेटभित्र छिर्छु
उमेरको भूमरीमा फन्फनी उल्टा बगेर
म पुग्छु जुद्को मैदानमा
याद आउँछ
गोली छल्दै दुश्मनहरूलाई एटेक गरेको
बहुत याद आउँछ।

जब मुछ् पलाउँदै थियो नाकको वेसीमा
गल्लाको पछि लागेर
गोरखपुर पुगेको याद आउँछ
याद आउँछ
भर्ती भएर नाइन् जिआर जोइन् गरेको
याद आउँछ
कसम खाएको कुछ् दिनमा नै
जुद्‍मा निस्कने आडर आएको।

क्यानाम् यो जुद्ले
बहुत् जिस्काएको छ एक बारको जिन्दगीमा
तकरिवन तकरिवन कानमा आएर
गोलीले धेरैपटक गाना गाएको छ।

एलओसीमा
जापानी सेनाको गोलीले छाती छेडेपछि
चौसठ्ले भनेको याद आउँछ-
पिन्सिन क्याममा मेरी फेमेलीसँग मिल्नु है नम्बरी!
 

इण्डोनेसियाको घना जंगलमा
रूखको बोक्रा खाएर पखालाले सिकिस्त हुँदा
पिन्चानब्बेले भनेको याद आउँछ-
गाउँकी सोल्टीनीलाई मेरो याद सुनाइदिनू है नम्बरी!

हरबार जब यो क्यामको हरियो गेटभित्र छिर्छु
मरेका नम्बरीहरूको बहुत् याद आउँछ।

लिकिन साप्
यो बार कुछ् अच्छा छैन
तिम्रो एसएसबी मेरो गाउँ घुसेर मेरै छोरा मारिदियो
दिल टुटेको छ
और खुन बहुत गरम् भएको छ।
लिनू
यो खत लगेर तिम्रो पिएमलाई दिनू
और एकबार सोधिदिनू-
के उनलाई
गोर्खालीको गरम रगत याद आउँछ?

(शहीद गोविन्द गौतमप्रति समर्पित। उनलाई हालै भारतीय सीमा सुरक्षा बलले कञ्चनपुरमा गोली हानेर मारेको थियो)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.