|

झापा : पछिल्लो समयमा झापाका सीमावर्ती नेपाली बजारमा प्रतिबन्धित लागुऔषध ब्राउन सुगरको अवैध कारोबार फस्टाएको छ। सीमा क्षेत्रका बजारमा लागुऔषध ट्याब्लेट, सिरप, गाँजाको अत्यधिक कारोबार हुँदै आएकोमा लकडाउनपछि ब्राउन सुगर (खैरो हिरोइन) को कारोबार ह्वातै फस्टाएको हो।

जिल्लामा ब्राउन सुगरको कारोबार फस्टाएसँगै झापा प्रहरी यसको जालो तोड्ने मिसनमा जुटेका छन्। प्रहरी कार्यालय झापाका एसपी सानुराम भट्टराईले लागुऔषध मुक्त जिल्ला बनाउने अभियानमा सक्रियता देखाएसँगै झापा प्रहरी र लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाले दिनहुँ ब्राउन सुगर प्रयोगकर्ता र गिरोहमा आबद्ध व्यक्तिलाई पक्राउ गर्न थालेका छन्।

यसैक्रममा प्रहरीले भद्रपुरबाट ब्राउन सुगरसहित एक प्रयोगकर्तालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भद्रपुर नगरपालिका ६ बस्ने २६ वर्षीय विशाल मण्डल रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए। मण्डललाई फागुन १९ गते बुधवार भद्रपुर ६ स्थित देउराली होटेलको कोठाबाटै १७ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो।

प्रहरीले उनको साथबाट डब्लुबि ७४ए क्यु ३८६४ नम्बरको स्कुटर समेत बरामद गरेको छ। प्रहरी कार्यालय झापाबाट खटिएका सादा पोसाक र लागुऔषध नियन्त्रण ब्यूरो काकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सुराकीको आधारमा योजनाबद्ध तरिकामा उनलाई पक्राउ गरेको थियो। प्रहरीले ब्राउन सुगर खरिदबिक्री गर्ने नाइकेलाई पनि पक्राउ गर्ने योजना बनाएको थियो। तर, प्रहरी त्यस योजनामा असफल बन्यो। त्यसको ठाउँमा प्रयोगकर्ता डिल गर्न पुगेपछि उनलाई प्रहरीले पक्राउ गर्यो। पक्राउ परेका प्रयोगकर्ता मण्डलले ब्राउन सुगरको मुख्य नाइके भद्रपुर ६ निवासी अन्दाजी २८ वर्षीय रविन घोष भएको प्रहरीलाई बयान दिइसकेको प्रहरी स्रोतको दाबी छ।

मण्डललाई पक्राउ परेका बेला मुख्य नाइके घोष त्यही होटेल वरिपरि रहेका थिए । प्रहरीले प्रयोगकर्ता मण्डललाई पक्राउ गरेको आफ्नै आँखाले देखेपछि नाइके घोष त्यहाँबाट भारत फरार भए। मण्डलले प्रहरीलाई घोषको नाम बताएपछि प्रहरी टोली तत्काल झापा चोकस्थित उनको घर पुगेको थियो। तर, नाइके घोष घरमा थिएन, उनी घर नगई भद्रपुर नाकाबाट सोजै भारत भाग्न सफल भए।

प्रयोगकर्ता मण्डलले प्रहरी समक्ष बयान दिँदै भनेका छन्, ‘म प्रयोगकर्ता हो, मलाई एक डोज दिने सर्तमा घोषले ब्राउन सुगर बोकेर एक महिलालाई दिनु र पैसा लिएर आउनु भनी होटेल पठाएको हो।’ यसभन्दा अघि पनि घोषले एक डोज दिने बाहानमा यसरी काम अडाउँदै आइरहेको उनले प्रहरीलाई बताएका छन्। मण्डलले घोषको काम गरेबापत उनलाई पैसा दिँदैन थियो।  

‘सबै लगानी उसैको, फाइदा पनि उसैले लिन्थ्यो, मलाई त एक डोज दिन्थ्यो, त्यसैले पुगिहाल्थ्यो, उनले प्रहरीलाई भनेका छन्। यता प्रहरीले मण्डललाई प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान गरिरहेको छ, भने नाइके घोषलाई खोजिरहेका छन्। नाइके घोषले भद्रपुरका अधिकांश युवाहरूलाई विभिन्न प्रलोभन दिएर आफ्नो जालमा फसाएर विभिन्न अवैध काम गराउँदै आइरहेका थिए।

ब्राउन सुगरको कारोबार गर्नुअघि नाइके घोष भारतीय रुपैयाँको अवैध कारोबारमा सक्रिए थिए। २०७३ साल चैत २५ गते तत्कालीन सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय झापाबाट खटिएको एपीएफको टोलीले स्रोत नखुलेको ११ लाख १० हजार भारतीय रुपैयाँसहित घोषलाई पक्राउ गरेको थियो। घोषसहित उनीसँगै हिँडेका मनोज राजवंशीलाई पनि पक्राउ गरेको थियो। पक्राउ परेका उनीहरूलाई कारबाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाउनु पर्नेमा नेताको पावरमा त्यसको भोलिपल्ट विना कारबाही सशस्त्रले छोडेको थियो। 

त्यस्तै प्रहरीले भद्रपुर–८ सगरमाथा चोकबाट ब्राउन सुगरको कारोबार गर्ने थप एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भद्रपुर–८ विमानस्थल नजिकै बस्ने २४ वर्षीय दिनेश राजवंशीलाई ६ ग्राम ५० मिलिग्राम ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको हो। राजवंशीले पनि भद्रपुरमा ब्राउन सुगरको कारोबार गर्दै आइरहेका थिए।

यता प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाका अनुसार लागुऔषधमा पक्राउ परेका आरोपीको बयानको आधारमा गिरोहका अन्य व्यक्तिहरूलाई प्रहरीले धमाधम पक्राउ गरिरहेको बताए। पक्राउ परेका आरोपीलाई लागुऔषध ओसारपसारको बारेमा बयान लिन्छौ, डिएसपी थापाले भने, ‘आरोपीले लागुऔषध कारोबार गर्ने व्यक्तिको नाम बयानमा दिए, त्यसको विषयमा पनि छुट्टै अनुसन्धान गर्छौ, कानुनी कारबाही दायरमा ल्याएर छाड्छौं।’ आरोपीलाई थुन्ने र अरूलाई कारबाहीको दायरमा नलाएर छाड्ने त्यस्तो नहुने उनको भनाई छ। 

ब्राउन सुगरमा तेब्बर फाइदा

ब्राउन सुगरको खरिदबिक्री गर्दा सुन भन्दा बढी फाइदा हुने गरेको पाइएको छ। पाउडर जस्तो धुलो पदार्थको ब्राउन सुगर बोक्दा पनि कसैले थाहा नपाउने, बिक्री गर्दा किनेको भन्दा तेब्बर फाइदा हुने भएपछि पछिल्लो समयमा यसको अवैध कारोबार फस्टाएको छ। नेपालमा प्रतिबन्धित ब्राउन सुगर भारतबाट भित्रिन्छ।

​कारोबारीले भारतका सीमावर्ती विभिन्न सहरबाट खरिद गर्ने र लुकाई छिपाई नेपाली बजारमा ल्याउने गरेको छ। भारतमा प्रति ग्राम ब्राउन सुगरको मूल्य एक हजारदेखि डेढ हजारसम्म पर्छ। नेपालमा त्यसको खरिद मूल्य साढे दुई हजार बढी रुपैयाँसम्म पर्छ। नेपालका सीमावर्ती बजारमा ब्राउन सुगर बिक्री गर्दा प्रति ग्राम ५ हजारदेखि ६ हजार रुपैयाँसम्म पर्छ।

राजधानी लगायत नेपालका अन्य सहरसम्म पुग्दा त्यसको मूल्य १० हजार प्रति ग्रामसम्म पर्छ। भारतमा एक किलो ब्राउन सुगरको मूल्य १० देखि १५ लाख पर्छ। त्यसलाई नेपाल ल्याएर बिक्री गर्न सकिए ५० लाखदेखि ६० लाख हुन्छ। १६ लाखदेखि २४ लाख लगानी गर्ने कारोबारले एकै पटकमा त्यसको दोब्बर-तेब्बर कमाउने गरेको छ। त्यही भएर पछिल्लो समयमा यसको कारोबार जिल्लामा फस्टाएको प्रहरीको भनाई छ। 

कानुनी सजायको व्यवस्था

लागुऔषध नियन्त्रण ऐन २०३३ को परिच्छेद ३ दण्ड सजाय ९१० दफा ४ को खण्ड (ज) मा अफिम, कोका र सोबाट बनेको लागु औषधको सेवन र खेती गर्ने कार्य बाहेक अन्य निषेधित कार्य गर्ने व्यक्तिलाई यस्तो कानुनी सजायको व्यवस्था गरिएको छ।

२५ ग्रामसम्मको कारोबार गर्नेलाई ५ बर्षदेखि १० वर्षसम्म कैद र ५ हजारदेखि २५ हजारसम्म जरिवाना, २५ ग्रामदेखि एक सय ग्रामसम्मको कारोबार गर्नेलाई १० वर्षदेखि १५ वर्षसम्म कैद र ७५ हजारदेखि २ लाखसम्म जरिवाना र एक सय ग्रामदेखि माथि जतिसुकै परिमाणको कारोबार गर्नेलाई १५ वर्षदेखि जन्म कैद र ५ लाख रुपैयाँदेखि २५ लाखसम्म जरिवाना तोक्ने व्यवस्था छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.