नपा उपप्रमुख भन्छिन्‌, 'न्यायालयसम्म जानै नदिने समाज पनि दोषी हो'

|

दैलेख : दैलेखको आठबीस नगरपालिका–३, बिमलेकी सुखी बढुवालले घरेलु हिंसा सहन नसकेरै ४ सन्तानसहित कर्णाली नदीमा हाम फालेको बुझिएको छ। यो हृदय-विदारक घटनाको मूल कारक बने उनकै पति मानसिंह बडुवाल।

फागुन २३ गते मानसिंहले गाउँकै एक पसलमा मदिरा सेवन गरेपछि सुखीले नै उनलाई घर लगेकी थिइन्‌। श्रीमानलाई घर लगेपछि २४ गते बिहान ४ बजेतिर सुखी ४ सन्तानसहित घरबाट निस्केको र २४ गते उनका दुई छोरीहरूको शव कर्णाली नदी किनारमा फेला परेको सोही वडाका अध्यक्ष प्रयागबहादुर शाहीले बताए।

'सुखीको ​परिवारिक अवस्था मध्यम खालकै रहेको बुझिएको छ। उनको परिवारमा ३ छोरी सहित १ छोरा र श्रीमान-श्रीमती गरी ६ जना रहेका जनप्रतिनिधिले बताएका छन्।

वडा अध्यक्ष शाहीले भने, 'मध्यम खालको परिवार हो, मानसिंहले पहिलेदेखि नै मदिरा सेवन गर्ने र परिवारमा झगडा गर्ने गरेका कारण यस्तो घटना भएको हुनसक्छ। थप कुरा प्रहरीको अनुसन्धानपछि पत्ता लाग्ला।'

आठबीस नगरपालिका–३ मा मदिरा सेवनकै कारण यस्ता खालका मुटु नै काँप्ने घटना हालसम्म नभएका अध्यक्ष शाहीले बताए। 'सामान्य मदिरा सेवन नगर्ने अहिले त कमै भेटिन्छन्, मदिरा सेवन गरी पारिवारीक झगडापछि यस्तो घटना पहिलोपटक भएको हो,' उनले थपे।

घटनास्थलमा रहेका दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठका अनुसार सुखीका श्रीमान प्रहरी नियन्त्रणमा रहेका र प्रारम्भिक अनुसन्धान गर्दा उनी पहिलेदेखि नै मदिरा सेवनकर्ता रहेको र घरमा झै-झगडा गर्ने गरेको खुलेको छ। 

श्रेष्ठले अहिले नै घरेलु हिंसामा परेर यस्तो घटना भएको हो भन्न नसकिने बताए। उनले भने, 'हामी अनुसन्धान प्रकृयामै छौं, समाजमा बुझ्दा पहिलेदेखि नै पारिवारीक झगडा हुने गरेको बुझिएको छ, पोस्टमार्टम रिपोर्टपछि हत्या या आत्महत्या के हो भन्ने सबै खुल्छ।' 

अहिलेसम्म सुखीका दुई छोरीको शव कर्णाली नदीको किनारामा डोरीले हात बाँधिएको अवस्थामा फेला परेको र अन्य एक छोरा, एक छोरी र सुखीको खोजतलास भैरहेको प्रहरीले जनाएको छ। 

आत्महत्याको कारण समाज पनि

दुर्गमका महिलाहरूले समाजकै कारण पनि आत्महत्या गर्ने गरेका अगुवाहरू बताउँछन्। आठबीस नगरपालिकाकी उप–प्रमुख समेत रहेकी महिला अधिकारकर्मी दीपा बोहरा भन्छिन्, 'समाजमा हुने घटनाको कारक समाज नै हुने गरेको देखिन्छ।'

'समाजले नै हिंसा भोगिरहेका महिलाहरूलाई न्यायालयसम्म पुग्न बन्देज गर्छ, पछि यही समाजमा बस्नुछ, श्रीमान यही हो लगायतका कुराहरू समाजले सुनाउने गरेकाले महिलाहरूले न्यायभन्दा पनि हिंसाको पीडा सहन नसकेर अन्तिम विकल्पको रुपमा आत्महत्याको बोटो रोज्ने गर्छन्‌,' उप–प्रमुख बोहोराले भनिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.