|

पर्वत : ​उमेरले श्रीमान् ७३ वर्षका पुगे असपुर भुजेल। जागिरे जीवन हुनेहरूले आनन्दसाथ अवकाश जीवन बिताउने उमेर हो यो।

तर, असपुर अझैसम्म हातमा केही थान कुचा, पिठ्यूँमा नाङ्ला र डालीको भारी खेप्दैछन्‌। उनको साथमै डुल्छिन् ५५ वर्षीया कान्छी श्रीमती सानुमाया।

‘बाह्र छोरा तेह्र नाति,बुढाको धोक्रो काँधैमाथि’ भनेजस्तै सन्तान धेरै भएर पनि असपुरले सुख पाएका छैनन्। 

तनहुँको बन्दीपुर गाउँपालिका–२ छिम्का लेक जन्मस्थान रहेको बताउने भुजेल जोडी वर्षौंदेखि नै यसरी नै बाँस र निगालोबाट बनेका सामग्रीहरू बेच्दै काठमाडौँ, वालिङ, पोखरा, बागलुङ, बेनी लगायतका शहरमा पुग्छन्।

अहिले पर्वतमा ‘दोस्रो मगर महोत्सव’ चलिरहेको थाहा पाएपछि मेलामा आएका दर्शकले सामग्री किन्छन् कि भन्ने आसामा आफूहरू गह्रौं भारी बोकेर कुस्मा आइपुगेको भुजेलले बताए।

‘नाङ्लो, डाली, कुचो बेच्न हामी त जहाँ पनि जान्छु। अहिले यहाँ मौसम (महोत्सव) चलेको भन्ने सुन्यो। हेर्न आएकोले किन्छ कि भनेर आएको हामी,’ उनले भने, ‘हाम्रो बाजेहरूको काम पनि यही थियो। बुबाले नि यही गर्‍यो, म पनि यही गर्छु। मेरो सानुमाया पनि यही गर्छिन्।’

लामो दूरीबाट यात्रा तय गरेर ठाउँ-ठाउँमा पुगे पनि उनको नाफा त त्यस्तै हो। एकमुष्टमा महिनामा सात हजार रुपैयाँ जतिको कारोबार हुन्छ। नाङ्लो र डालीको मूल्य ५ देखि ८ सय रुपैयाँ र कुचोको मूल्य ८० रुपैयाँ तोकेका छन्‌। यही पनि बिक्री नभएर ठाउँ-ठाउँमा डुल्नुपर्ने सानुमाया बताउँछिन्। उनीहरूले छिम्काको लेकबाट प्रतिघारा ५ सय रुपैयाँसम्म तिरेर बाँस किन्ने गरेका छन्। 

जति बेलै हँसिलो मुद्रामा रहने असपुरको जीवन कहानी भने उस्तै कहालीलाग्दो छ। उनले जीवनमा पाँच श्रीमती विवाह गरे तर दुई श्रीमतीको मृत्यु भयो। उनको साथमा अहिले तीन श्रीमती छन्।

१५ वर्षको उमेरमा बिहे गरेका भुजेलकी पहिलो श्रीमती विष्णुको त्यसको दुई वर्षमा मृत्यु भयो। नाङ्ला बनाउने बाँस काट्न लेकमा गएको बेलामा त्यही अचानक बिरामी परेपछि 'ऐया! ऐया!!' भन्दाभन्दै उनको मृत्यु भएको असपुर बताउँछन्।

त्यसपछि उनले दोस्रो बिहे गरे। तर उनको पनि करिब पाँच वर्षपछि मृत्यु भयो। त्यति मात्र होइन, उनीबाट जन्मिएका पाँच सन्तानले पनि विभिन्न कारणले ज्यान गुमाए।

‘म त मान्छे हँसिलो छु र केही नभएजस्तो देखिने हो। मेरा कुरा त भनिसाध्य छैन। जहाँ पुग्दा नि सबैले मेरो भिडियो खिच्छन्, फोटो खिच्छन्,’ भुजेलले भने, ‘पहिलो श्रीमतीको बिहे गरेको दुई वर्ष जतिमा बाँस काट्दा एक्कासि बिरामी भएर मरिन्‌। दोस्रो बिहे गरेको पाँच वर्ष जतिमा त्यो पनि गयो। उसले जन्माएको पाँचवटै छोराछोरी पनि गयो।’

नजिकैमा स्वास्थ्य संस्था नहुने, सानै उमेरमा बिहे गर्ने र बिरामी भए उपचार गराउने पैसा नहुने जस्ता कारण रहेको बताउँछन्। कान्छी श्रीमती सानुमाया असपुरको साथमा डुलेपनि बाँचिरहेका जेठी सुकुमाया र माहिली फुन्टुमायाले घरमै बसेर बाँस काट्ने, चोया निकाल्ने, डालो नाङ्लो लगायतका सामग्रीहरू तयार पार्छन्।

सानुमाया र असपुर तीनै सामग्री बिक्री गर्न हिँड्छन्। तीन श्रीमतीबाट ८ छोरा र ६ छोरीको जन्म भएको थियो। छोरी सबैको बिहे भएको छ भने छोराहरू कोही मोटरसाइकल वर्कशपमा, कोही फर्निचरमा त कोहीले साहुको घरमा बसेर सहयोगीको काम गर्दै आएको उनीहरू बताउँछन्।

सन्तान जन्माउँदैमा सुख नहुँदो रहेछ भन्ने उनीहरूलाई लागेको छ। ‘सन्तान मात्र जन्माएर सुख त नहुँदो रहेछ,’ सानुमायाले भनिन्‌, ‘हामी बूढाबूढी भइयो, हिँड्नै नसकिने बेलामा यत्रो भारी बोकेर हिँड्नु परेको छ, छोराहरू कताकता छन्।’

श्रीमतीको सङ्ख्या तीन हुँदा समेत उनीहरूबीचको आपसी मिलापका कारण पनि भुजेललाई केही राहत भएको छ। उनीहरूबीच कहिल्यै पनि झगडा नभएको सुनाउँदै उनले सबै मिलेर काम गरेकाले नै पेट पाल्न सकेको बताउँछन्।

फेरि श्रीमती मिलाउने तरिका भने उनकै बुबाले सिकाएका रहेछ। दुई विवाह गरेका बुबाले श्रीमतीको माया पाउने तरिका सिकाएको सम्झिँदै असपुरले भने, ‘दशैँको बेलामा खसीको मासु खाने बेलामा आफूलाई भाग नलगाई तातो तातो रस सबै श्रीमतीलाई भाग लगायो। आज पनि त्यही, भोलि पनि त्यही। पर्सिबाट त बूढीहरूले बूढोले खान पाएन भनेर आफूले नखाएरै मलाई दिन्छ नि!’ उनको भनाइमा सानुमायाले पनि सहमति जनाइन्।

घरमा भएका बेला श्रीमानले खाना पस्केर श्रीमतीहरूलाई नखुवाएसम्म आफूले कहिल्यै पनि नखाने गरेको उनको भनाई छ। मधुमेह र उच्च रक्तचापको समस्यामा रहेका असपुरको कमजोरीको कारण सँगै हिँडेकी सानुमायाले सकेसम्मको भारी आफैँ बोक्छिन्। थोरै भारी श्रीमानको पिठ्युँमा राखिदिन्छिन्। 

घरमा सम्पत्तिको नाममा १२ रोपनी जग्गा रहेको बताउने उनीहरूले वर्षका नौ महिनामा बेसाएरै खानुपर्ने सुनाए। गरिबीकै कारण बाजेहरूले गरेको यो काम आफूले पनि गरिरहेको र उमेरले १५ वर्षको हुँदाबाट यसरी बाँसका सामग्री बेच्न डुल्ने गरेको भुजेलको भनाई छ।

उनलाई जीवन निकै दुःखको भारी भएको लाग्छ। गरिबको जिन्दगी मरे हुन्थ्यो जस्तो लाग्छ। ‘जीवन त साह्रै दुःख रहेछ। गरिबको जिन्दगी त मरे हुन्थ्यो जस्तो लाग्छ।

कहिले त सम्झेर रुन मन लाग्छ। बोलेर भएन, धकेलेर भएन, काल छिटो लिन आऊ भन्दा आएन।’ भुजेलले भने, ‘गरिबलाई पनि भोक लग्ने रैछ। त्यही भएर यी बुढेसकालमा भारी बोकेर डुल्नुपरेको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.