लक्षण देखिए पनि परीक्षण गर्न आउने निकै घटे

|

काठमाडौं : देशभर दुई सातामा १२ सय ५६ जना कोरोना संक्रमित थपिए। केही समय अगाडि देशभर संक्रमित संख्या दैनिक दुई सय हाराहारीमा हुने गरेको थियो। अहिले दैनिक सयको हाराहारीमा संक्रमित थपिँदै गरेका छन्।

बाहिरी बजारको वातावरण हेर्दा करिब-करिब कोरोना संक्रमण देशमा सकिएको जस्तो देखिएको छ। पहिले-पहिले कोरोनाबाट डराउने मानिस हिजोआज मानिसबाट कोरोना डराएको जस्तो देखिन्छ। अधिकांश मानिस बिनामास्क हिँडडुल गर्न थालिसकेका छन्। सार्वजनिक यातायातमा सामाजिक दूरी कायम नगरी यात्रुहरु यात्रामा निस्केको देखिन्छ।

पछिल्लो समय विभिन्न राजनीतिक दलका समूहहरु स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाई भेला जुलुस गर्न थालेका छन्। होटल तथा रेष्टुरेन्टमा ग्राहकको अत्यधिक चाप बढिरहेको छ। जहाँ स्वास्थ्य सुरक्षाको कुनै पनि मापदण्ड नअपनाई आ-आफ्ना व्यवसाय सञ्चालन गरिरहेका छन्।

संक्रमण कम भएर हो या कोभिडविरुद्धको खोप नेपालमा आइसकेर मानिसले यसबाट सुरक्षित रहने विभिन्न उपाय अपनाउन छाडिसकेका छन्। दैनिकजसो देशभरका कोभिड ल्याबबाट १० देखि १५ जनामा कोभिड पुष्टि हुने गरेको छ। कोभिड संक्रमित संख्या घट्दैमा संक्रमण शून्यतर्फ गइसकेको भन्न नमिल्ने कोभिड संक्रमितको उपचार गराइरहेका अस्पतालका चिकित्सक बताउँछन्।

अहिले पनि लक्षण सहितको मानिसहरु परीक्षणका लागि आउने गरेकाले नेपालमा कोरोना संक्रमणको दर घटेको नमिल्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक सागर कुमार राजभण्डारी बताउँछन्। बाहिर मानिसहरु हिँडडुल गर्दा स्वास्थ्यका मापदण्ड नअपनाएकोमा उनले दुःखेसो पोखे। 

मानिसहरु बाहिर बजारमा किनमेल गर्न तथा अन्य कामको लागि निस्केकाहरूले कुनै पनि स्वास्थ्यका मापदण्ड पालना नगरेको राजभण्डारीको जिकिर छ। मास्क लगाउन छोडेका, स्यानिटाइजर र भौतिक दूरी केही कायम नगरेका देखिँदैन। राजनीतिक दलले जुलुस,सभा वा भेला गर्दा अझ जोखिम बढिरहेको उनको भनाइ छ।

'कोभिड विरुद्धको भ्याक्सिन नेपालमा लगाउन सुरु गरिए तापनि कोभिड पूर्ण रुपमा नेपालबाट निर्मुल भइसकेको छैन,' निर्देशक डा. राजभण्डारीले भने,' कोभिड कुन चरणमा देखिन्छ भन्नलाई यसलाई अझै पर्खनुपर्ने अवस्था छ।'

ल्याबमा परीक्षण गर्न आउने मानिसहरु बाहिर जान आउने गरेको उनले जानकारी दिए। 'परिवारमा केही मानिसलाई कोभिड भएमा आशंका लागि उनीहरु परीक्षण गर्न आएका छन,' उनले भने,' उपत्यकाका धेरै मानिसहरुको शरीरमा एन्टीबडीको विकास भएको छ। कतिपयलाई कोरोनाको लक्षण भए पनि उनीहरुले परीक्षण गर्दैनन्।'

कोरोना पुष्टि भएमा बाहिर कतै हिँडडुल गर्न नपाइने त्रासमा कतिपय मानिसले परीक्षण नगर्ने गरेको उनले सुनाए। अहिले धेरैमा लक्षण देखापरे आफ्नै घरमा क्वारेन्टाइनमा बस्ने गरेको उनले बताए।

विदेशबाट मानिस सहजै आउँदा भेरियन्ट भाइरसको जोखिम

जनस्वास्थ्यविज्ञ डा. किरणराज पाण्डेले पछिल्लो समय विदेशबाट मानिसहरु सहजै आइरहेकाले नेपालमा भेरियन्ट भाइरसको जोखिम रहेको बताएका छन्। कोभिड संक्रमणको संख्या कम हुन थालेपछि बाहिर घुम्न जानेको संख्या बढिरहेकाले र उताबाट आउनेलाई व्यवस्थित क्वारेन्टाइनमा राख्नलाई उनले सुझाए। विदेशबाट आएका मानिसहरु क्वारेन्टाइन बसेका छन वा छैनन त्यसको अनुगमन गर्नलाई उनले सुझाव दिए।

आममानिसमा कोभिडविरुद्धको भ्याक्सिन लगाउन थालेपछि मानिसमा एक प्रकारको उत्साह बढेको उनको दाबी छ। खोप लगाउन थाले पनि यसको जोखिम नटरेको उनले बताए।

देशभरका धेरै मानिसमा एन्टीबडीको विकास भइसकेको अनुसन्धानले देखाएको छ। एन्टीबडी कति समय सम्म रहन्छ त्यो अनुसन्धान हुन बाँकी रहेको उनले जानकारी दिए। ६ देखि ८ महिनासम्म एन्टीबडी रहने भनिए पनि त्यो कहिलेसम्म रहने त्यस विषयको खोज भएको छैन। इम्युनिटी पावरको विकास भएको छ।

कोभिडविरुद्धको भ्याक्सिनमा मानिसको त्रास र आशंका रहे पनि दोस्रो चरणको खोपमा भने मानिसको सहभागिता उत्साहजनक रुपमा अघि बढिरहेको उनको दाबी छ।

पछिल्लो समय देशभर कोरोना संक्रमितको संख्या घटे पनि अस्पतालमा गम्भीर अवस्थाको बिरामीहरु भर्ना हुने गरेको उनले बताए। सर्वसाधारणले अधिकतम रुपमा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउनलाई सुझाव दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.