गल्ती भयो उपचार गरिदिन्छु : शिक्षक अर्याल

|

गुल्मी : जिल्लाको इस्मा गाउँपालिका ४ दोहलीको रामराज्य माविका एक शिक्षकद्वारा कुटिएका बालकलाई मुटुसम्बन्धी समस्या देखिएको छ। कक्षा चारमा अध्ययनरत ११ वर्षीय किस्मत तिमल्सेनालाई शिक्षक बलराम अर्यालले फागुन २३ गते कक्षा कोठामै सबै विद्यार्थीका अगाडि कुटेका थिए।

सोही क्रममा किस्मत शिक्षकको कुटाइबाट बेहोस भए। उनलाई दोहली स्वास्थ्यचौकीमा सामान्य उपचार गरियो। मुटु दुख्ने र सास फेर्न गाह्रो हुने भएपछि गुल्मी अस्पताल तम्घासमा समेत उपचार गरिएको आमा कल्पना तिमल्सेनाले बताइन्।

उनले समस्या झन् बल्झेपछि बुधबार गौतमबुद्ध मुटु अस्पताल बुटवल जाँदै गरेको जानकारी दिइन्।

आफूले इस्मा प्रहरी, वडाअध्यक्ष र गाउँपालिकामा समेत बच्चाको अवस्थाको बारेमा जानकारी गराएकाले बच्चाको उपचार र कुटपिट गर्ने शिक्षकलाई तुरुन्तै कानुनअनुसार कारबाहीको माग तिमल्सेनाले गरिन्।

अर्यालले विद्यार्थी कुटपिट गरेको यो पहिलो घटना  भने होइन। उनले केही वर्ष पहिले पनि विद्यालय नजिकैका एक विद्यार्थीलाई कुटपिट गरेर गम्भीर घाइते बनाएका थिए।

केही महिना पहिले उनकै छोरा बालकृष्ण अर्यालले पनि स्थानीय रामबहादुर विष्टकी छोरीलाई कुटपिट गरेका थिए।

कोरोनाको समयमा गाउँपालिकाले टोल–टोलमा विद्यार्थी भेला पारेर पढाइन्थ्यो। बलराम आफू पढाउन नगएर छोरालाई पठाउँथे। सोही क्रममा छोराले विद्यार्थी कुटेर हातमा चोट लाग्यो। तर, यो विषयमा पनि बाहिर आएन। बलरामको ज्यादती पटकपटक हुँदा विद्यालय प्रशासन मौन रहेको किस्मतका हजुरबुबा मानप्रसाद तिमल्सेनाले गुनासो गरे।

 ‘स्कुलमै धन्न नातिको ज्यान गएन, अहिले पनि उपचार भइरहेकाले केही भन्ने अवस्था छैन,’तिमल्सेनाले भने,‘ अब कसरी ढुक्क भएर छोराछोरी विद्यालय पठाउने<’

विद्यार्थी कुटपिटका आरोपित अर्यालले विद्यालयबाहेक समुदायस्तरमा थुप्रैलाई दुर्व्‍यवहार गर्ने गरेको स्थानीयले बताएका छन्।

 विद्यालय व्यावस्थापन समितिका पूर्व-अध्यक्षसमेत रहेका नेपाली कांग्रेसका नेता चन्द्रबहादुर महतले अभिभावकले विद्यालयमा शिक्षकले दोहो¥याएको ज्यादती सहन नहुने बताए। उनले आफ्नो नाति र किस्मतसहितका बालबालिकालाई कुटपिट गर्ने शिक्षकलाई तत्काल कारबाही नभए अभिभावकले आन्दोलन गर्ने चेतावनी दिए।

 उनले किस्मतलाई मात्र नभएर विद्यालयकै बालबालिकाको बाल मनोविज्ञानमा असर पुग्ने काम गरेको बताए।

गल्ती भयो उपचार गरिदिन्छु : शिक्षक अर्याल

यता, कुटपिट गर्ने शिक्षक बलराम अर्यालले आफूबाट गल्ती भएको स्वीकार गरेका छन्। उनले विद्यार्थी सम्झाउने क्रममा आफूले कुटपिट गरेकोले उपचारमा सहयोग र परिवारलाई सहानुभूति दिएको पनि बताए।

यता, इश्मा गाउँपालिकाकी उपाध्यक्ष विमला खत्रीले आफूहरुलाई आधिकारिक रुपमा केही जानकारी नभएको बताइन्। विद्यालयमा बालबच्चालाई कुट्ने अधिकार कसैलाई नभएको भन्दै शिक्षकलाई कानुन अनुसारको कारबाहीका लागि आफूले पहल गर्ने बताइन्।

यस्तै, जिल्ला प्रहरी कार्यालयमा पनि लिखितरूपमा केही जानकारी नभएको प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.