|

सिमरा : ​जितपुर–सिमरा उपमहानगरमा सूचना तथा सञ्चार क्षेत्रका लगि छुट्याइएको बजेटमा समेत अनियमितता भएको रहस्य खुलेको छ। 

उपमहानगरले चालु आर्थिक वर्षको लागि सूचना तथा सञ्चारका क्षेत्रका छुट्याएको ३० लाख बजेटमध्ये ६ महिनाको अवधिमै २५ लाख खर्च गरिसकेको छ। जसमध्ये उपमहानगरले एउटै सूचनाको ५ लाखसम्म भुक्तानी गरेको पाइएको छ।

सूचना तथा सञ्चारका लागि खर्च भएको झण्डै २५ लाखमध्ये नेपाल मिडिया हाउसलाई मात्रै ११ लाख ४१ हजार भुक्तानी दिएको छ भने यू एडी मिडियालाई २ लाख ४६ हजार ४ सय १५ रुपैयाँ, फ्युचर हब मिडियालाई १ लाख ५ हजार, मिडिया गेटलाई एउटै सूचनाका १ लाख ४८ हजार ९ सय १५, एक्सप्रेस एड्भटिजलाई १ लाख २९ हजार ३ सय ६०, प्रशासनिक सरोकारलाई ३४ हजार, तराई मिडियालाई २० हजार ३ सय ८ रुपैयाँ, केएस मल्टिपर्पोजलाई ३४ हजार ७ सय ८८ रुपैयाँ, / साझेदारी दैनिकलाई ९ हजार ८ सय ६५ दिइएको छ।

उपहानगरले माघ मसान्तसम्म भुक्तान गरेको २५ लाख रुपैयाँ बिनाकोटेशन सूचनाहरु प्रकाशन भएको पाइएको छ। ‘हामीकहाँ सबै सूचनाहरु प्रेस संयोजक दिवाकर भणडारीमार्फत जान्छ, हामीकहाँबाट प्रत्येक २/४ दिनमा सूचनाहरु जाने भएकोले टेन्डर कोटेशन माग गर्न सम्भव हुँदैन, प्रत्येक सूचनामा कोटेशन माग्दैनौ’, प्रमुख प्रशासकीय अधिकृत चेतकुमार पोखरेलले भने।

उपमहानगरले एउटै सूचनामा ५ लाखसम्म खर्चेको भेटिएपछि सूचनाको हक प्रयोग गरेरै  सो सम्बन्धी सूचना माग गरिएको थियो। राष्ट्रिय ‘क’ वर्गका पत्रपत्रिकामा सूचना प्रकाशन गरेबापत ४० देखि ६० प्रतिशत छुट नगरपालिकाको खातामा नआएको पोखरेलले जनाएका छन्।

‘एजेन्सीले दिने छुट नेपाल सरकारको खातामा आउँदैन, जो व्यक्तिमार्फत सूचना गएको छुट उसैले लिन्छ’, उनले भने उपमहानगरले सञ्चार क्षेत्रका लागि छुट्याएको बजेटमा स्थानीय सञ्चार माध्यमलाई बेवास्ता गर्दै नगरपालिकाका कर्मचारी र एजेन्सीहरुलाई मात्रै फाइदा पुग्नेगरी काम गरेको भन्दै स्थानीय सञ्चार उद्यमीहरुले भने आक्रोश पोखेका छन्।

रेडियो आकाशवाणीका सञ्चालक राजुराज गिरीले उपमहानगरले स्थानीय सञ्चार माध्यमलाई हतोत्साहित बनाउने काम गरेको भन्दै आक्रोश पोखेका छन्।

‘लकडाउन र कोरोनाकालमा हामीले जोखिम मोलेर रेडियोका सञ्चारकर्मी साथीहरुलाई फिल्डमा खटायौं, स्थानीय तहमा जनचेतना फैलाउने कार्यक्रम गर्‍यौं, तर आज हाम्रो नगरपालिकाले हामीलाई हतोत्साहित बनाउने काम गरिरहेको छ’, रेडियो सञ्चालक गिरीले दुखेसो पोखे, ‘उपमहानगरले स्थानीय सञ्चार माध्यमलाई पहिलो प्राथमिकता दिनुपर्थ्यो, तर हामीलाई निरुत्साहित बनाउने काम भयो।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.