पर्वत : नेपाली लोक सांगीतिक क्षेत्रमा पशुपति शर्माको नाम पनि अग्रस्थानमा छ। उनी यतिखेर चलेका र जमेका छन्।
विशेषतः कमेडी धारका र कम्मर मर्काइमर्काइ नचाउनसक्ने उनका गीत जनजनको कानमा गुञ्जिरहेका छन्। यही विशेषताले नै शर्मालाई आजको पशुपति बनाएको हो।
सांगीतिक क्षेत्रमा हाम फालेको छोटो समयमै उनले धेरै चर्चा कमाए, सबैका प्रिय कलाकार बने। उनी अहिले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रीय उपाध्यक्ष समेत हुन्।
तर, उनको संघर्षपूर्ण जीवनको तत्कालीन प्रयास र वर्तमान अवस्था भने फरक छन्। अध्ययन गर्ने बेला उनलाई केही द्विविधा हुन्थ्यो। उनको चाहना कलाकार बन्नु थियो, बुबाको चाहना व्यापार वा अन्य केही गरिदिए हुन्थ्यो भन्ने थियो। आमा, दिदी, भिनाजु र दाजुहरूले लोक सेवा निकाल्न र सरकार जागिर खानुपर्छ भनी दबाब दिइरहन्थे।
पशुपतिका बुबा जिल्ला शिक्षा कार्यालयमा सुब्बा थिए। तर, सोझोपनबाट गरिने सरकारी जागिरले आर्थिक उन्नति नभएपछि उनले जागिरको १९ औँ वर्षमा पेन्सन नहुँदै राजीनामा गरे।
‘बुबाले स्थायी जागिर खाएर आर्थिक रूपमा बलियो बन्न सकिँदैन, जागिर खान भन्दा राम्रो पढेर कुनै व्यापार व्यवसाय गर्न भन्नुहुन्थ्यो, बरु विदेशमा राम्रो देश जाने भन्नुहुन्थ्यो,’ शर्मा भन्छन्, ‘विशेषगरी आमा र दाइले लोक सेवामा जान दबाब दिनुहुन्थ्यो।’
दाजु रेडियोलोजिस्ट, तीन दिदी-बहिनीमध्ये दुई जना सरकारी सेवामा र एक जना व्यवसायमा छन्। तीनै जना भिनाजुहरू सरकारी जागिरे परे। परिवार र नातागोता सबै सरकारी सेवामा रहेका कारण पनि आफूलाई लोक सेवामा जान दबाब आएको पशुपति बताउँछन्। लोकगीतको क्षेत्रमा नभएको भए लोक सेवा वा इन्जिनियरिङ क्षेत्रमा आफू हुनसक्ने उनले बताए।
विद्यालय तहमा अध्ययनरत हुँदादेखि नै संगीत मोहमा परेका शर्माले २०५८ सालबाट दोहोरी क्षेत्रमा प्रवेश गरे। २०६३ सालदेखि प्रत्यक्ष दोहोरी गाउन सक्रिय रहेका उनले दोहोरी साँझमा पनि त्यही बेलाबाट काम शुरू गरे।
‘सबैको दबाब भएपछि तयारी पनि गरेँ, तर लिखितमै नाम निस्केन, अनि मलाई यता पनि दुःखै रहेछ भन्ने लाग्यो, मलाई लोक गीतमा नै चासो भएकोले फेरि त्यतै लाग्ने सोच आयो,’ शर्माले भने, ‘मेरो भित्री चाहना गायक नै हुन्छु भन्ने भएकोले लोक सेवाको तयारीको लागि पढाई नै पुगेन, घरकाले फलानाका छोराले खरदारमा फलानाले सुब्बामा नाम निकाले, तैँले गाएर मात्र हुँदैन है कान्छा भन्ने गर्थे।’ आफूलाई बच्चैमा पनि कलाकार भएर टेलिभिजनमा देखिन र पत्रिकामा छापिन मन लाग्ने गरेको उनले सुनाए।
पशुपतिको नाम चर्चामा ल्याएका गीतहरू त धेरै छन्। त्यसमा पनि ‘अचम्मै राम्रो नाच्छे मोरीले,’ ‘लरक्कै लर्क्यो रातो सारी भुइँमा’, ‘अब त चाइनेजो मेरै पाली हो’, ‘क्याम्पस पढ्न आउनी’, ‘एउटा आत्मा छ’, ‘मलाई अमेरिका यही’, ढाड दुखेर मार्यो’, ‘लुट्न सके लुट’ लगायतका गीतले उनलाई ठूलो सफलता दिलाए।
रचना र स्वरदेखि र फिचरिङसम्म
अहिलेहाल चल्तीका गीतमा कलाकार शर्मा ‘भर्साटाइल’ छन्। शब्द रचना, लय सिर्जना, स्वर र अभिनय उनी आफैँ गर्छन्। हरेक व्यक्तिमा स्वार्थ हुने भएका कारण नै आफ्ना गीतमा आफूले नै अभिनय पनि गर्न थालेको शर्माको भनाई छ।
‘हामी सबैको स्वार्थ भनेको जहाँ पुग्न सकिन्छ, जे गर्न सकिन्छ-मै पुगूँ, मै गरूँ भन्ने जोडिएको हुन्छ। अरूलाई खेलाएपछि यो कसले गाएको हो ? सर्जक को हो ? भन्ने थाहा नहुने। आफैँले सबै गरेपछि दर्शकले सजिलै चिन्छन्,’ उनले भने, ‘आर्थिक रूपमा खर्च पनि कम लाग्दा सबै तीरबाट फाइदा हुने रहेछ, कलाकार र डाइरेक्टर सापहरूले पनि तपाईं नै गर्दा हुन्छ भन्न थाल्नुभो, कोशिश गर्दा गर्दै आफ्नै गीतको मोडलिङमा पनि लागेँ।’
आफूलाई शुरूदेखि नै हास्य विधामा चासो रहेको र हास्य रसमा सिर्जना भएका गीतहरू खेल्न सजिलो लाग्ने गरेको कलाकार शर्माको भनाई छ। दर्शकले आफूलाई कमेडियनको रूपमा समेत लिने गरेको उनले बताए।
तर, सधैँ त्यसो गर्दा दर्शकले यसले हँसाउनेमात्र रहेछ भनी बुझेकाले केही गीतहरू भने भावनात्मक बनाएको शर्माको भनाई छ। आफ्ना हरेक गीतमा एउटा न एउटा सन्देश रहने भएकोले बुझ्नेलाई ठीकै र नबुझ्नेलाई उरन्ठेउलो जस्तो पनि लाग्ने गरेको शर्माले बताए।
लोकगीतमा लगानी बढ्दै
आजभोलि आधुनिक प्रविधिको प्रयोग बढिरहँदा लोकगीतमा पनि लगानी बढेको शर्माले बताए।
सुटिङ स्पट, क्यामेरा, कोरस र म्युजिकमा पहिलेभन्दा धेरै स्तरीयता आएकाले लगानी बढेको उनको भनाई छ। तर, पहिलेका परम्परागत बाजाहरू बाँसुरी, सारङ्गी, मुर्चुङ्गाजस्ता मौलिकता झल्काउने संगीत भने बिस्तारै हराउँदै जान थालेको शर्मालाई लागेको छ।
‘भ्युज बढाउने हिसाबले मात्रै गीतको सिर्जना भयो भने गुदो भएका गीत भेटाउनै गाह्रो हुन्छ, वास्तविक लोक गीत र लोक कलाकार कस्ता थिए भनेर बिर्सिने दिन आउनपनि सक्छ,’ उनले भने, ‘आफ्नो धरातल नबिर्सीकन परिवर्तन हुन सके त ठीकै हो। ठ्याक्कै मूलबाटो छोडी हालेको त पाइएको छैन, तर छोड्न-छोड्न लागेको जस्तो देखिन्छ।’
युट्युबमा दोहोरी : यौन र रोयल्टीका कुरा
लकडाउनमा नयाँ गीत नआएको मौकामा अहिले लाइभ दोहोरीको प्रतिष्पर्धा ह्वात्तै बढेको छ।
ट्रेन्डिङमा पर्ने लोभमा लाइभ दोहोरीहरूमा यौनसम्बन्धी प्रसंगको प्रयोग बढी हुनु दुःखद भएको शर्माको मूल्यांकन छ। अहिले यस्ता गीत गाएर छाड्दा ती कलाकारका सन्तानले भविष्यमा आफ्ना बुबा आमाप्रति गर्व गर्न नसक्ने पनि शर्माले बताए।
‘भविष्यमा कलाकारका सन्तानले म फलानो कलाकारको सन्तान हुँ भनेर गर्व गर्ने ठाउँ राखेर गीत गाउनुहोस्, त्यस्तो छाडा गाउने कलाकारलाई पाँच/सात हजार रुपैयाँ दिइएला, तर त्यो कलाकारलाई जनताले हेर्ने नजर के होला?’ पशुपति भन्छन्, ‘तपाईं काल वा अकालमा मरेपनि युट्युबमा हेर्दा यस्तो रहेछ त्यो मान्छे त भन्ने पार्ने काम नगरौँ।’
लाइभ दोहोरीमा अरूको बौद्धिक सम्पत्ति प्रयोग भएकाले सम्बन्धित सर्जक वा लगानीकर्ताको अनुमतिबिना अनुमति लय प्रयोग गर्न नहुने उनले बताए। कतिपयले सर्जक र कलाकारको नामै नलिई गाउने गरेकोमा दुखेसो गर्दै उनले प्रतिष्ठानले युट्युबमा लाइभ दोहोरी चलाउनेहरूसँग यस विषयमा छलफल पनि गरिरहेको बताए।
अनुमति बिना गरेमा कानुनी प्रक्रियामा जानुपर्ने बाध्यता हुने भन्दै उनले अहिलेसम्म आफन्त र साथीहरू भनेर केही नगरिँदा अनुमति नलिने चलन बढेको उल्लेख गरे।
गाएरै बाँच्न सकिन्छ ?
जीवनमा सफल हुन सबैभन्दा पहिले हिम्मत र त्यसपछि आफ्नो प्रतिभाको पहिचान हुनुपर्ने शर्माले बताए।
सांगीतिक बजारमा धेरै कलाकार विस्थापित र धेरै कलाकार स्थापित भइरहेको प्रसंगबारे कुरा गर्दा उनले सगरमाथा चढ्न चाहने मान्छेले पहिले नै सगरमाथा चढिसकेको सपना देख्नुपर्ने बताए।
‘सगरमाथा चढ्ने सपना देखेमा यहाँ जान्छु, यसरी अभ्यास गर्छु, यो सामान चाहिन्छ भन्ने थाहा हुन्छ, खोँचहरू यसरी पार गर्छु भन्ने हुन्छ, यसरी रसी समात्छु भन्ने हुन्छ, पहिरो खस्न लागे यता भाग्छु भन्ने कुरा दिमागले पहिले नै सोचेको हुनुपर्छ,’ उनले भने, ‘जो मान्छेले गीतमा पनि यसरी नै प्लान गर्छ-त्यो कलाकार बाँच्न सक्छ।'
'तर, जसले लख्रालुख्रु काम गरेपनि हुनेरहेछ, फाटफुट जान्छु, यसो उसो गर्छु भनेर आउनुभएको छ-उहाँहरूलाई कठिन छ। हलुका रूपमा लाग्नु हुँदैन। यो क्षेत्रमा म अन्तिम अवस्थासम्म लड्छु र केही गर्छु भनेर आएको हुनुपर्छ,’ उनले थपे।
नेपाली लोक सांगीतिक क्षेत्र निकै प्रतिस्पर्धी समेत बनेकाले अब काममा केही फरकपन ल्याउन नसक्दा पनि बजारमा टिक्न गाह्रो हुने शर्मा बताउँछन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।