|

भक्तपुर : महाशिवरात्रिका अवसरमा आज बिहीवार बिहानैदेखि भक्तपुरका विभिन्न शिवालयहरूमा भक्तजनको घुइँचो लागेको छ।

महादेवको पूजाआजा गरी धुमधामका साथ मनाइने शिव रात्रिको अवसरमा भक्तपुरको दत्तात्रय, सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव, यातु महादेव, सुवर्णेश्वर, अनन्तलिङ्गेश्वर, आशापुरी लगायतका शिवालयहरूमा भक्तजनको घुइँचो लागेको हो।

शिव रात्रिको अवसरमा डोलेश्वर महादेव मन्दिरमा भक्तजन स्वयम् मन्दिरभित्र प्रवेश गरी पूजा गर्ने व्यवस्था गरिएको छ। अन्य दिन पुजारीमार्फत पूजा गर्ने यस मन्दिरमा वर्षको तीन दिन भक्तजन स्वयम् मन्दिरभित्र प्रवेश गरी पूजा गराउने परम्परा रहेको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले जनाएको छ।

समितिका वरिष्ठ उपाध्यक्ष सूर्यबहादुर खाइतुका अनुसार डोलेश्वर महादेव मन्दिरमा अक्षय तृतीया, डोलेश्वरलाई केदारनाथको शिर घोषणा गरेको दिन भदौ ६ गते र शिव रात्रिको दिन भक्तजन मन्दिरभित्र प्रवेश गरी स्वयमले पूजा गर्न पाइने व्यवस्था रहेको छ। 

समितिले डोलेश्वर महादेव मन्दिरमा पनि शिव रात्रिमा दर्शन गर्न आउने भक्तजनहरूले अनिवार्य मास्क लगाउनुपर्ने व्यवस्था गरेको महाशिवरात्रि पर्व मूल समितिका संयोजक समेत रहेका खाइतुले जानकारी दिए। 

हजारौंको संख्यामा मन्दिरमा आउने भक्तजनको संख्यालाई ध्यानमा राखेर सरकारले तोकेका सबै स्वास्थ्य मापदण्ड पालना गर्दै दर्शनको व्यवस्था मिलाइएको उनले बताए।

‘मन्दिरमा दर्शन गर्न भक्तजनले मास्क अनिवार्य रूपमा लगाएर आउनुपर्ने तथा सेनिटाइजर लगाउने र भौतिक दूरी कायम राख्नुपर्ने गरी लाइनको व्यवस्था गरिएको छ,’ खाइतुले भने।

महाशिवरात्रिका दिन सुरक्षा व्यवस्थाका लागि महानगरीय प्रहरी वृत्त जगातीबाट सुरक्षाकर्मी तथा विभिन्न संघसंस्थाबाट स्वयंसेवक परिचालन गरिने समितिले जनाएको छ।

नेपाली सेनाका चिकित्सक र नर्सहरूको स्वास्थ्य शिविर, नेपाल मानव सेवा संघले प्रसाद वितरण गर्नेछ। यस्तै, नेपाल रेडक्रस सोसाइटी सिपाडोल उपशाखा र नेपाल मानव सेवा संघको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम गरिनेछ। 

महाशिवरात्रि दर्शनका लागि भारतका विभिन्न स्थान तथा नेपालका विभिन्न स्थानबाट साधुसन्त आएका छन्।

नागा बाबा, भंगी, जोगी र अघोरी बाबा लगायतका साधुसन्तले मन्दिरको क्षेत्रमा रोमाञ्चकका छाएको छ। परम्पराअनुसार जोगी, सन्त, महन्थलाई स्वागत तथा बिदाइ समितिले गर्ने गरेको छ। समितिले नागा बाबालाई मन्दिर परिसरमा धुनी जगाई बस्नको लागि दाउराको व्यवस्था गरेको छ।  

वार्षिक कार्यक्रम अनुसार शिवरात्रिका दिन सर्वसाधारण भक्तजनहरूका लागि मन्दिरका चारै ढोका बिहान ४ बजेदेखि राती १२ बजेसम्म खुल्ला हुने खाइतुले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.