|

पर्सा : ठेकेदारको लापरबाहीका कारण समयमै सडक नबन्दा पर्साको ग्रामीण क्षेत्रका बासिन्दा सास्ती भोग्न बाध्य भएका छन्। वीरगन्ज महानगरपालिकामा गाभिएपछि महानगरबासी भए पनि त्यहाँका नागरिक यसको महसुस गर्न पाएका छैनन्।  

जिल्लाको कुहडी, उदयपुरघुर्मी र हरपतगंज तथा अपौनी टोल वीरगन्ज महानगरपालिकाको वडा नम्बर २७ र वडा नम्बर २० का विभिन्न टोल हुन्। तर त्यहाँका नागरिकको दिनचर्या र सडक सञ्जालको वास्तविकता भने महानगरवासीको जस्तो छैन। 

त्यसको प्रमुख कारण नै सडकको स्तरोन्नति नभएको स्थानीयले गुनासो गरेका छन्। नामका लागि भने महानगरवासी भए पनि बाँकी कुरामा देहातका नागरिक जत्तिको पनि सुविधा नभएको उनीहरूले गुनासो गर्ने गरेका छन्।   

मुलुकको पछिल्लो संरचनामा आएपछि जीवनशैली पनि परिवर्तन हुन्छ कि भन्ने आश भए पनि महानगरका २७ र २० को कुहडी, उदयपुरघुर्मी र हरपतगंज तथा अपौनीका टोलबासी स्वच्छन्द पुप्पु युनाइटेडको दलदलमा पिसिनुपरेको स्थानीय शम्भु यादवले बताए।

'उसले सघन सहरी तथा भवन निर्माण आयोजना वीरगन्जबाट २०७५ जेठ ९ मा दुई वर्षभित्र सो क्षेत्रको सडक पिच गरिसक्ने जिम्मेवारी लिएको थाहा पाएका छौं,' तर २ वर्षमा सम्पन्न गरिसक्नु पर्ने सडकखण्ड ४० प्रतिशत पनि निर्माण नहुँदा स्थानीय धुले सडकको जोखिममा छन्,' उनले बताए।

यो कुरा आफूहरुले स्थानीय पालिका र जिल्ला प्रशासन कार्यालयलाई पटक–पटक जानकारी गराए पनि सुनुवाइ नभएपछि गएको माघ २१ गते लापरबाही गर्ने ठेकेदारलाई आवश्यक कारबाही गर्न लिखित माग पनि गरिएको उनले बताए। 'तर पनि काममा कुनै प्रगति नभई जस्ताको त्यस्तै छ,' यादवले भने।

७३ करोड लागतका १७ सडक अलपत्र 

सो क्षेत्रको सडकखण्डमध्ये निर्माण गर्न रोशन–रंजित र सागर जेभीले पोखरियादेखि मिर्जापुर, भलुवहिया, मुडली, वसन्तपुर सडकखण्ड १३ करोड ५६ लाख ७७ हजारमा ठेक्का लिएको छ।

त्यसै गरी ७३ करोड ७५ लाख ६९ हजार ९२० रुपैयाँमा हरपतगंज, अपौनी, कुँहडी, घुर्मी जसैलीदेखि अन्य १७ वटा सडकखण्डको निर्माण गर्ने भनी पप्पुले जिम्मेवारी लिएको सघन शहरी आयोजनाले जनाएको छ। 

ती सडकखण्डमध्ये पप्पुको जिम्मा परेका सडक निर्माण नहुँदा स्थानीयले कष्ट भोग्न परेको भनी जिल्ला प्रशासन कार्यालयमा स्थानीयले कारबाहीका लागि लिखित उजुरी दिएका छन्।

ठेकेदारलाई कारबाहीको उजुरी दर्ता भएपछि जिल्ला प्रशासन कार्यालयले सघन सहरी तथा भवन निर्माण आयोजना वीरगन्जलाई लापरबाही गर्ने ठेकेदारमाथि कारबाही गरी राय दिन पत्राचार पनि गरेको छ। तर गएको माघ २२ गते सघन शहरी आयोजनाले जिल्ला प्रशासन कार्यालयको च.नं. १०१२ को पत्रानुसार पप्पुमाथि कुनै कारबाही गरिएको भेटिएको छैन। 

१७ वटा सडक सबै अलपत्र 

निर्माण कार्यको विभिन्न ठेक्का लिने र काम नगरी मुलुकभरि बदनामी पाएको पप्पुले पर्सामा पनि १७ वटा सडक निर्माणको ठेक्का लिएको छ। तर अहिलेसम्म कुनै सडक निर्धारित समयमा पूरा नगरेको सघन सहरी कार्यालयका पप्पुको साइट हेर्ने इन्जिनियर सदरे आलमले बताए।

कोरोना महामारीको कारण जिम्मेवारी लिने ठेकेदारले निर्धारित समयमा सम्पन्न गर्ने भनिएका काम केही प्रभावित भएको बताएका छन्। साह्रै हेलचेक्रयाइँ गर्ने ठेकेदार भने जो कोही भए पनि कानूनी प्रकृयामा पर्ने सहरी भवन आयोजना वीरगन्जले दाबी गरेको छ।  

ठेकेदारहरुकै हानथापले समस्या

यता स्वच्छन्द पप्पु युनाइटेडले भने पेटी कन्ट्राक्टमा अरु ठेकेदारलाई कामको जिम्मेवारी दिएकोले उनीहरुले समयमा नै काम नगरिदिएको भन्दै पन्छिँदै आएको छ।

पेटी कन्ट्राक्ट गर्ने ठेकेदार कम्पनीले भने पप्पुले सघन शहरी आयोजना कार्यालयबाट भुक्तानी लिएर पनि आफूहरुलाई काम गरेको पैसा पनि नदिएकोले काम अगाडी बढाउन नसक्ने भनी पत्रकार सम्मेलन गरेरै केही समय अगाडि बताएका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.