कानुनबाहिर गएर सम्बन्धन नमागेको र आफ्नो अस्पताल हेर्न सञ्चालक प्रसाईंको आग्रह

|

काठमाडौं : लामो समयदेखि सम्बन्धनको पर्खाइमा रहेको झापाको बिर्तामोडस्थित बिएण्डसी मेडिकल कलेजले चिकत्सा शिक्षा अध्यापन गराउन (सम्बन्धन पाउन) आफू योग्य रहेको भन्दै त्यसका केही आधारहरू सार्वजनिक गरेको छ।

२०६८ सालमा मेडिकल कलेज सञ्चालनका लागि मनशाय पत्र लिएको र सम्पूर्ण भौतिक पूर्वाधार पूरा गरेको भए पनि लामो समयदेखि यसको सम्बन्धन विवादमा पर्दै आएको थियो।

बिएण्डसी मेडिकल कलेजलाई काठमाडौँ विश्वविद्यालयले सम्बन्धन दिनेछ भनी प्रधानमन्त्री केपी शर्मा ओलीले गत १८ फागुनमा बिएण्डसीकै प्रांगणबाट उद्घोष गरेपछि यसले पुनः चर्चा कमाएको हो। 

प्रधानमन्त्रीको उद्घोषपछि बिएण्डसीलाई सम्बन्धन दिन हुँदैन भन्ने एउटा तप्का देखिएको छ भने अर्को तप्का कानुनी र संरचनागत प्रक्रिया पूरा भएको संस्थालाई सम्बन्धन दिनुपर्नेमा बताइरहेको छ।

चिकित्सा शिक्षा सुधारका लागि पटकपटक अनशन बस्दै आएका प्राडा गोविन्द केसीले भने प्रधानमन्त्री र शिक्षामन्त्रीले पछिल्लो समय पदीय मर्यादा कुल्चँदै पहुँच र प्रभावका भरमा मात्र सम्बन्धन बाँड्ने प्रयास गरेका आरोप लगाएका छन्। उनले बिहीबार यसको विरोध गर्दै फेरि अनशन बस्ने चेतावनीसमेत दिए। 

उता कानुनी र संरचनागत दुवै रुपमा बिएण्डीसीले सबै प्रक्रिया पूरा गरेको प्रस्तावित सो कलेजले जनाएको छ।

कलेजका सञ्चालक दुर्गा प्रसाईंले चिकित्सा शिक्षा ऐनले नै भौतिक पूर्वाधार भएको र ७३ सालभन्दा पहिले एलोआई लिएको उपत्यका बाहिरको मेडिकल कलेजले सम्बन्धन पाउनुपर्छ भनेर उल्लेख गरेको हुँदा आफ्नो कलेजलाई सम्बन्धन दिनुपर्ने बताइरहेका छन्। 

उनले भने, ‘बिएण्डसीले सबै खालका कानुनी र संरचनागत प्रक्रिया पूरा गरेको छ। ५ वर्षअघि स्वास्थ्य मन्त्रालयबाट ३ सय बेड सञ्चालनको स्विकृति पाएको यो अस्पतालमा दैनिक १ हजारभन्दा बढी बिरामीले उपचार पाउने गरेका छन्। त्यसैगरी यहाँ ३० देखि ४० वटा शल्यक्रिया हुने गरेका छन्, चिकित्सा शिक्षा ऐनमा उल्लेख गरिएअनुसार हाम्रो कलेजले सम्पूर्ण मापदण्ड पूरा गरेको अवस्थामा हामीले सम्बन्धन पाउनुपर्छ।‘

प्रसाईंले आफूले कानुनबाहिर गएर सम्बन्धन नमागेको र आफूलाई सम्बन्धन दिन हुँदैन भन्नेहरूले एक पटक आफ्नो अस्पताल र मेडिकल कलेजको भौतिक पूर्वाधार हेर्नसमेत आग्रह गरे। उनले भने, ‘हामीले चोर बाटोबाट सम्बन्धन मागेका छैनौँ, उनले नेपालमा मेडिकल कलेजले सम्बन्धन पाउने कानुनी प्रक्रिया हामीले पूरा गरेका छौँ, विश्वास नलागे एक पटक हाम्रो भौतिक पूर्वाधार हेर्न आउन सक्नुहुन्छ।‘

शिक्षा मन्त्रालयले मेडिकल कलेज सञ्चालन प्रयोजनका लागि २०६८ माघ २४ गते मनशायपत्र प्रदान गरेको छ। त्यसैगरी कलेज सञ्चालनका लागि आवश्यक अस्पताल २०७३ साउन ९ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३०० बेडको अस्पताल सञ्चालन स्वीकृत गरेको र हाल आफ्नो कलेजले विशेषज्ञ सेवासहित अत्याधुनिक पूर्वाधारयुक्त अस्पताल समेत सञ्चालन गरेको उनले दाबी गरे। 

नेपालमा कुनै पनि मेडिकल कलेजले चिकित्सा शिक्षा अध्ययन गराउन चिकित्सा शिक्षा अध्यापन गराइरहेका विभिन्न विश्वविद्यालयबाट अनुमति लिनुपर्ने हुन्छ।

नेपालमा त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयले मात्र चिकित्सा शिक्षा अध्ययन गराउँदै आएका छन्। एउटा विश्वविद्यालयले पाँच वटा मेडिकल कलेजलाई मात्र सम्बन्धन दिन पाउने कानुनी व्यवस्था छ। तर चिकित्सा शिक्षा ऐनले भौतिक पूर्वाधार पूरा भएका र पहिले नै मनशायपत्र लिएका कलेजहरूले सम्बन्धन पाउने समेत उल्लेख गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.