|

बैतडी : बैतडीको दोगडाकेदार गाउँपालिका–३ श्रीकोटस्थित स्वास्थ्य चौकीमा एमबिबिएस डाक्टरले सेवा दिँदा बिरामीलाई सहज भएको छ। कोभिड अस्थायी अस्पताल स्थापना भएपछि गत पुस २० गतेदेखि  एमबिबिएस डाक्टर कुमार कार्की आएका छन्। 

कोरोनाका जटिल बिरामीको स्थानीयस्तरमै उपचार गर्न अस्थायी अस्पताल स्थापना गरिएको थियो। तर कोरोनाका जटिल बिरामी नआउँदा डाक्टर कार्कीले हाल श्रीकोट स्वास्थ्य चौकीमा बसेर परामर्श तथा सेवा दिइरहेका छन्। 

डाक्टरले सेवा दिन थालेपछि सेवाग्राहीको संख्या पनि बढेको श्रीकोट स्वास्थ्य चौकीका इञ्चार्ज वीरसिंह भाटले जानकारी दिए। उनले भने, ‘पहिला औसतमा दैनिक १० जना आउँथे, हाल २५ जनासम्म आउँछन्। यसअघि वडाभित्रैका बिरामी आउने गरेका र उनी आएपछि वडाबाहिरका बिरामी पनि आउन थालेका छन्।'

कोरोनाका जटिल बिरामी कोही नआएकाले आफूले हाल श्रीकोट स्वास्थ्य चौकीमा ओपिडी सेवा दिइरहेको डाक्टर कार्की बताउँछन्। भन्छन्, 'आफू आएपछि बिरामीहरु बढेका छन्, आफ्नो क्षमताअनुसार बिरामीको उपचार परामर्श दिने गरेको छु।’

गाउँमै चिकित्सकीय सेवा पाउँदा निकै सहज भएको स्थानीय सीता सिंहले बताइन्। भनिन्, ‘स्वास्थ्य चौकीमा पाउने सेवाका साथै परामर्शका लागि सजिलो भएको छ।’

श्रीकोट स्वास्थ्य चौकीमा प्रयोगशाला सेवासमेत सञ्चालनमा छ। दोगडाकेदार गाउँपालिकासहित जिल्लाका ५ स्थानीय तहमा हाल कोरोना अस्थायी अस्पतालमा चिकित्सक छन्। दशरथचन्द नगरपालिकाबाहेक बाँकी ४ स्थानीय तहका कोरोना अस्थायी अस्पतालमा भने चिकित्सक छैनन्। 

संघीय सरकारले कोभिड अस्थायी अस्पतालका लागि स्थानीय तहलाई १० लाख रुपैयाँ बजेट पठाएको थियो। जसमा ५ शैय्याको अस्थायी अस्पताल निर्माण गर्ने, १ जना एमबिबिएस डाक्टर, २ जना स्टाफ नर्स र १ जना कार्यालय सहयोगीको पारिश्रमिक दिने भनिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.