|

गुल्मी : नागरिकहरुको सुरक्षामा दिन रात खटिने प्रहरीहरु नै असुरक्षित स्थानमा बस्न बाध्य छन्। उनीहरु कहीँ पानी चुहिने टिनको छानामुनि त कुनै भूकम्पले भत्काएका र चर्किएका घरमा बस्दै आएका छन्।

इस्मा गाउँपालिका–१ हस्तीचौरमा रहेको हस्तीचौर प्रहरी चौकी २०७२ सालदेखि एक सहकारी संस्थाको जीर्ण भवन बस्दै आएको छ। नजिकै चौकीको नाममा जग्गा प्राप्त भएको छ। तर, त्गाा भवन निर्माण नहुँदा अहिलेसम्म भाडाको घरमा बस्नु परेको चौकी इन्चार्ज प्रहरी सहायक निरीक्षक विष्णुबहादुर गाहाले बताए। 

कालीगण्डकी गाउँपालिका–७ को भुर्तुङ प्रहरी चौकी पनि भाडाको घरमा नै छ। चौकी वर्षौंदेखि हीराध्वज शाहको कच्ची घरमा बस्दै आएको छ। त्यो घर पनि भूकम्पले चर्किएको भवन छ। चौकीलाई तत्कालीन गाविस हुँदै प्राप्त भएको जग्गा छ। तर, त्यहाँ पनि भवन निर्माणको कुनै पहल नभएको चौकी इन्चार्ज प्रहरी सहायक निरीक्षक दुहुना थारुले बताए। 

यस्तै, कालीगण्डकी गाउँपालिकाको केन्द्र पुर्तिघाटमा रहेको प्रहरी चौकीको पनि अवस्था दयनीय नै छ। २०७२ सालमा आएको भूकम्पका कारण प्रहरी चौकी रहेको घर चिराचिरा भएको छ। बस्न अयोग्य भनी वर्गीकरण भएको उक्त घरमा नै बसेर सेवा दिन बाध्य भएको चौकीका इन्चार्ज हरिकिसन पुनले बताउँछन्। हावाहुरी आउँदा र पानी पर्दा राम्रोसँग निद्रा नपर्ने र रातभर जाग्राम बस्नुपर्ने बाध्यता भएको पुनको गुनासो छ।

चन्द्रकोट गाउँपालिका–४ शान्तिपुरमा ‘ख’ श्रेणीको इलाका प्रहरी कार्यालय छ। उक्त कार्यालय पनि पुरानो घरमा छ। अहिले भवन निर्माणका लागि ठेक्का भएकाले नयाँ आशा थपिएको कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक पदम शाहीले बताए। यस्तै, मालिका गाउँपालिका–४ मा रहेको अर्खाबाङ प्रहरी चौकी पनि कच्ची घरमा २०७५ सालदेखि बस्दै आएको छ। यहाँ पनि पीडादायी अवस्था रहेको प्रहरीहरु बताउँछन्।

जिल्ला ट्राफिक प्रहरी कार्र्यालयको पनि आफ्नै भवन छैन। कार्यालयको आफ्नै जग्गा र भवन केही पनि छैन। अहिलेसम्म चार स्थानमा कार्यालय सारेर अस्थायी रुपमा बसिरहेको ट्राफिक प्रहरी कार्यालय गुल्मीेले जनाएको छ।

‘समस्या समाधान गर्नका लागि निरन्तर प्रयासमा छौं’

यता जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) गोपालचन्द्र भट्राईले तत्काल जिल्ला स्तरबाट हुने चौकीका समस्याहरुलाई समाधान गर्ने गरी आफू लागिपरेको बताउँछन्। चौकीमा पानी चुहिने, भाँडाकुँडाहरु नभएका जस्ता समस्यालाई तत्काल समाधान गर्ने र भवनहरु निर्माणका लागि केन्द्रसँग निरन्तर रुपमा प्रयास जारी राख्ने बताए।

आफू जिल्लामा भर्खर मात्रै आएकाले सबै स्थानबारे जानकारी पनि नभएको बताउँदै चौकी इन्चार्जहरुसँग समस्याबारे जानकारी लिने र समाधान गर्नेतर्फ लाग्ने उनको भनाइ छ ।

गुल्मीमा जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयबाहेक चार इलाका र १४ स्थायी र एक अस्थायी प्रहरी चौकी छन्। जसमध्ये सातवटा प्रहरी चौकीको आफ्नो भवन छैन। पौदीअमराई, मजुवा र खज्र्याङलगायतका चार प्रहरीचौकी अन्य सरकारी कार्यालयका भवनमा बस्दै आएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.