|

दाङ : तुलसीपुर उपमहानगरपालिका-१९​, संक्राम तत्कालीन माओवादीको जनमुक्ति सेना बसेका स्थान हो। शान्ति सम्झौता पछि वि.सं. २०६४ मंसिर २५ गते संक्राममा दीर्घ स्मृति ब्रिगेड अन्तर्गतका ३ बटालियनसहित जनमुक्ति सेनाका २ हजार लडाकु  बसेका थिए।

सेना समायोजनपछि उक्त ब्यारेक सुनसान भयो। लामाखोला महिला सामुदायिक वन क्षेत्रमा करिब १० हेक्टर क्षेत्रफलमा फैलिएको ब्यारेकको संरचना सुरक्षाका लागि सशस्त्र प्रहरी २०६८ फागुन २७ गतेदेखि खटियो। तर, केही समयपछि सशस्त्र प्रहरी पनि उक्त ब्यारेक छोडेर गयो।

त्यसपछि उक्त ब्यारेक संरक्षण उपमहानगरपालिकाको जिम्मामा आयो। उक्त ब्यारेकलाई उपमहानगरपालिकाका पदाधिकारीहरूले क्रान्ति संग्रहालय बनाउने भन्दै आश्वासन दिने गरेका छन्‌। तर, अहिले उक्त ब्यारेकका संरचना निकै जीर्ण बनिसकेको छ। भवनमा न झ्याल छ, न त ढोका नै । केही संरचनामा भएका जस्तापाता तथा काठ चोरी भइसकेको छ। जग्गा पनि अतिक्रमण हुन लागेको छ। यस्तै अवस्था कायमै रहे अब नामको मात्र ब्यारेक रहने स्थानीयबासी बताउँछन्‌।

​​

दाङकै तुलसीपुर उपमहानगरपालिका-१८ ठेगाना भएका पूर्व जनमुक्ति सेना भुल बहादुर विक पनि शान्ति प्रकृया शुरू भएपछि त्यहीँ बसेका थिए। आफू जस्तै पूर्व जनमुक्ति सेनाको रगत र पसिनाबाट बनेको संरचनाहरू यस्तो अवस्थामा देख्दा मन साह्रै दुख्ने गरेको उनले बताए।

उनले भने, ‘यहाँको संरचना बनाउने बेला सामानहरू किन्दा राज्यको पैसा सकिएको छ, संरचना उभ्याउन साथीहरूको रगत पसिना बगेको छ, यो ब्यारेकको अवस्था यस्तो होला भन्ने सोचेको पनि थिइनँ, यस्तो बिजोग बनाउनुभन्दा यहाँ भएका संरचनाका सामग्रीहरू विपन्नहरूलाई दिए हुन्छ। उनीहरूले बास बस्ने स्थान बनाउन त पाउलान्‌।’

अहिले जनमुक्ति सेनाको नाम निशाना नै मेटिइसकेको छ। जनसेना बसेका क्यान्टोनमेन्टहरूको यस्तो अवस्था देख्दा सबै हराएर नै जाने अवस्था आएको उनको भनाइ छ। ब्यारेकहरूको यस्तो अवस्था हुनमा राज्यको कमजोरी भएको उनले बताए।

ब्यारेकको सामान्य संरक्षण बाहेक अरू कुनै काम नभएको संक्राम ब्यारेक भौतिक संरचना संरक्षण तथा व्यवस्थापन समितिका सचिव विभीषण रोका मगरले बताए। उनले सुकुम्बासीहरूको नाममा केही व्यक्तिहरूले ब्यारेकको जग्गा अतिक्रमण गरेको र त्यसको जानकारी उपमहानगरपालिकालाई गराइसकेको समेत बताए। तुलसीपुर उपमहानगरपालिकाले पर्यटन तथा संस्कृति मन्त्रालयमा योजना छनोट गरी पठाएको र आफूहरू त्यसैको पर्खाइमा रहेको उनको भनाइ छ।

उक्त ब्यारेकको संरक्षण स्थानीय सरकारले नै गर्ने जिम्मा पाएपछि आफूहरूले केही नगरेको महिला लामाखोला सामुदायिक वनकी अध्यक्ष पम्फा नेपालीले बताइन्। उनले ब्यारेकको अवस्था जीर्ण बन्दै गइरहेको र भौतिक संरचनाका सामानहरू हराइरहेको समेत बताइन्।

‘ब्यारेकको संरक्षणको लागि समिती बनेको छ,’ उनले थपिन्, ‘समितीले पनि हेर्न सकेको छैन, यदी वनलाई जिम्मा दिएको भए हामीले गर्ने थियौं, सामानहरू हराइरहेको छ, कसले लग्छ कसैलाई थाहा छैन, उपमहानगरपालिकाले चासो नदिँदा ब्यारेकको अवस्था जीर्ण बन्दै गएको छ।’

विभिन्न समयमा नेताहरूले पनि उक्त ब्यारेकको अवलोकन गरेका छन्। तर, उक्त ब्यारेक संग्रहालय भन्दा पनि दिन-प्रतिदिन जीर्ण बन्दै गइरहेको छ। आफूले विगत एक वर्षदेखि उक्त ब्यारेकलाई हेर्दै आइरहेको कौमती खत्रीले बताइन्। त्यस्तै, केही स्थानीयहरूले ब्यारेकको जग्गा पनि अतिक्रमण गरेको बताइन्।

ब्यारेक क्षेत्रमा करिब ८२ वटा संरचनाहरू छन्‌। ती मध्ये केही भत्किएका र केही जीर्ण अवस्थामा पुगिसकेको छ‌। उक्त ठाउँ विकट भएपनि जनसेनाको ब्यारेक राखिएपछि अलि विकास भइरहेको थियो। तर, जनमुक्ति सेनाको खारेजीसँगै ब्यारेक खाली हुँदा विकासको प्रवाह पनि रोकिएको उनले बताइन्‌। 

‘ब्यारेकमा सेना हुँदा गाउँका नागरिकलाई सहज थियो,’ उनले भनिन्, ‘ब्यारेकमा सेनाहरू भएपछि चोरी-तस्करी र निकासी रोकिएको थियो, अहिले ब्यारेक सुनसान छ, ब्यारेकका सामानहरू रातिको समयमा चोरी भइरहेको छ।’

उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले ब्यारेकलाई क्रान्ति संग्रहालयका रूपमा विकास गर्ने तयारी भइरहेको बताए। यसमा सहयोग गरिदिन आफूहरूले पर्यटन मन्त्रालयमा पत्राचार गरेको उनले जानकारी दिए।

 साथै, अहिले केही व्यक्तिहरूले जग्गा अतिक्रमण भएको जानकारी आएको त्यहाँको वडालाई त्यो जग्गा संरक्षण गर्न भनेको र गैरकानुनी ढंगले अतिक्रमण गरेको भए हटाउने समेत उनले बताए। अहिले खुल्ला जेलको अवधारणा भएकाले ब्यारेकको केही भागलाई समेटेर प्रदेश सरकारको सहयोगमा खुल्ला जेलको कुरा पनि अगाडी बढाएको मेयर पाण्डेको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.