वामदेवले एमाले बचाउन सक्ने स्थिति छैन

|

सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्यूताइदिएसँगै नेपालको राजनीति नयाँ मोडमा पुगेको छ।

तत्कालीन नेकपामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक्ल्याएर प्रचण्डसँग साटगाँठ गरेका एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल अहिले अप्ठेरोमा परेका छन्।

पार्टी अध्यक्षसमेत रहेका ओलीले नेपाल पक्षकालाई जिम्मेवारीविहीन बनाइदिए पछि यो समूहले छुट्टै बैठक राखेर समानान्तर कमिटी गठन गरेको छ। त्यति मात्र होइन, ओलीले गरेको निर्णयको विरोध गर्दै सच्याउन माग गरेको छ।

यस्तो अवस्थामा एमाले अब कसरी अगाडि बढ्ला? पुनःस्थापित प्रतिनिधिसभाबाट नयाँ सरकार गठनको तयारी भइरहेका बेला यो सरकारको आयु कति? अबको सत्ता समीकरण र दलहरूको आगामी कार्यदिशा के हो जस्ता विषयमा केन्द्रित रहेर थाहाकर्मी जगत भण्डारीले लेखक, चिन्तक तथा विश्लेषक श्याम श्रेष्ठसँग कुराकानी गरेका छन्। 

सर्वोच्च अदालतले नेकपा एमालेलाई पुरानै अवस्थामा फर्काइदिएसँगै सुरु भएका गतिविधिलाई के भन्ने? 

एमाले फुटको संघारमा पुगेको छ। एमालेभित्र फेरि पाँडे पजनी सुरुवात भएको छ। नेतृत्वले चाहेको भए एमाले एकढिक्का भएर जान सक्थ्यो। तर प्रतिशोधको राजनीति थालियो। सबै पदाधिकारीलाई हटाउने खालको गतिविधि सुरु गरेको छ।

त्यसले एक किसिमको अघोषित फुट भएको स्थिति छ। एकथरीलाई लात हानेर बाहिर पठाउने काम भएको छ। त्यो उनीहरूको आफ्नो विधानमबमोजिम छ कि छैन भन्ने भन्ने पनि याद गरिएको छैन। यो खालको पाँडे पजनी राणाकालमा मात्र हुन्थ्यो। तर अहिले एमालेमा त्यो भएको छ। यसले एमाले अहिले फुटको नजिक छ।

तत्कालीन नेकपामा हुँदा माधव नेपालले प्रचण्डसँग मिलेर जसरी ओलीलाई पार्टी अध्यक्ष र संसदीय दलको नेताबाट मात्र होइन साधारण सदस्यबाटसमेत हटाउने,  प्रदेशहरूमा अविश्वास प्रस्ताव ल्याउने र सिध्याउने खेलहरू भए नि त्यसकै बदला त होला नि?

त्यतिखेर गरिएको कुरा पनि ठिक थिएन। अहिले गरिएको कुरा पनि ठिक होइन। यदी पार्टी फुट्नु नै छ भने फुटको घोषणा गरे भैगो नि। एकले अर्कोलाई निकाल्नै पर्दैन। निष्काषनको राजनीति चलेको छ। त्यो भनेको अहंकारको राजनीति हो। यसले पार्टीलाई कहीँ पनि पुर्‍याउँदैन। यसले दलहरूमा फुट ल्याउने, आपसमा वैमनश्य सिर्जना गर्ने र लामो समय इगोको राजनीति सुरु हुनेबाहेक केही होइन। हिजो भएको पनि उचित थिएन अहिले भएको पनि उचित होइन।

तर एमालेमा पहिले पनि गुटहरू थिए। त्यसैको निरन्तरता हो कि अहिले औपचारिक रुपमै फुट्ने सम्भावना देख्नुहुन्छ?

एमाले पार्टीको भन्दा गुटहरूको फेडेरेसनको रुपमा थियो। त्यो चलिरहेको थियो। फुटको आकार लिइसकेको थिएन। तर यसपटक अदालतले नै एउटै पार्टीमा बस भनेर धकेलिदिएपछि एउटा पार्टी गुटहरूको फेडेरेसनको रुपमा रहे पनि एउटा पार्टी बन्ने स्थितिमा थियो।

तर त्यसको हिजो पनि एकता थियो भन्ने होइन। हिजो पनि नेपाल समूह एकातिर ओली समूह अर्कोतिर र बामदेव समूह छुट्टै थियो। यी तीन वटा गुटहरूको फेडेरेसनको रुपमा थियो। अहिले कारबाही पछाडि एकताको सम्भावना सबै सकियो भनेर बामदेव पनि नेपालसँगै मिल्न जाने सम्भावना पैदा भएको छ। अर्कोतर्फ माधव नेपाल तलदेखि माथिसम्म छुट्टै संगठन तयार पारेर जाने भनेर कसिएको स्थिति छ। त्यसकारण एमाले सङ्लो पार्टी रहेन अब। फुटतर्फ गएको देखिन्छ।

पार्टी फुटाउन केन्द्रीय कमिटी र संसदीय दलमा ४० प्रतिशत हुनुपर्ने हुन्छ। नेपाल समूहको त्यो सम्भावना छ र?

त्यो त म भन्न सक्दिनँ, तर मैले सुनेको चाँहि, संसदीय दलमा ४० जना छ भन्ने सुनेको छु। केन्द्रीय समितिमा त ४० प्रतिशत भन्दा बढी होला।

बामदेव अहिले पनि म नेपाल र केपी ओलीलाई मिलाउँछु भनेर लागिरहेका छन् नि

अब उहाँले मिलाएर मिल्ने स्थितिमा एमाले छँदै छैन। जुन ढंगले महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई पनि एकलौटी ढंगले ओलीले कारबाही गर्नुभयो, निष्कासित गर्नुभयो, त्यो मिलेर जाने संकेत होइन, त्यो बाहिर जा तँलाई यहाँ ठाउँ छैन भनेको हो। त्यो भइसकेपछि कुनै पनि व्यक्ति त्यो संगठनमा बसिरहने स्थिति हुँदैन। त्यसकारण बामदेवले जति प्रयास गरे पनि क्यारेम बोर्डको गोटीजस्तै कहिल्यै मिल्न नसक्ने स्थितिमा गइसकेको छ।

तपाईंले त बामदेव माधव नेपालसँगै जाने सम्भावना छ भन्नु भो, तर उहाँले यसअघि आफूलाई तेस्रो खेमाको रुपमा अभियान चलाएका थिए, यो पटक पनि उहाँ छुट्टै उभिने सम्भावना छैन?

उहाँको अन्तर्वाताका हेर्दा ओली समूहमा नबस्ने निश्चित देखिन्छ। तर अब माधव नेपालतिर जाने सम्भावना ज्यादा छ। घटनाक्रमले कता लैजान्छ। बामदेव ट्रेडिकटेवल (परम्परावादी) नेता हुनुहुन्न। आफ्नो फाइदामा जुनसुकै स्टेप चाल्ने खालको हुनुहुन्छ। माधव नेपालसँग मिल्न जाने सम्भावना बढी छ।

प्रचण्डले माधव नेपालजीहरूको बढी चिन्ता भन्नुहुन्छ। यसको अर्थ नेपालहरूले नयाँ पार्टी नै बनाउँछन् कि प्रचण्डकै पार्टीमा जाने देख्नुहुन्छ?

योचाहिँ अहिले नै भन्न सकिने स्थिति छैन। अहिले नै भन्नु समयभन्दा चाँडो हुन्छ। तर प्रकारान्तरले उहाँहरू रहने ठाउँचाहिँ एउटै होलाजस्तो छ। माओवादी र माधव नेपालको समूह पार्टी एकीकरण भएर वा संयुक्त मोर्चा बनाएर उहाँहरू एउटा ठाउँमा हुने स्थितिचाहिँ देखिन्छ। किनभने उहाँहरूको सोच र प्रवृत्ति एउटै खालको देखिन्छ। त्यसैले ढिलो वा चाँडो एउटै ठाउँमा आउने सम्भावना प्रबल छ।

नेपाल र प्रचण्ड एकअर्काका लागि ओलीभन्दा कम्फर्टेबल हुन सक्छन् र?

प्रचण्डका लागि पनि, माधव नेपालका लागि पनि, ओलीभन्दा प्रचण्डका लागि माधव नेपाल सजिलो देखा पर्छन्। माधव नेपालका लागि पनि ओलीभन्दा प्रचण्ड सजिलो देखा पर्छन।

नेपाल र प्रचण्डबीच सामान्यतया मिलेर जाने सम्भावना कायमै रहे पनि माओवादीबाट मन्त्री बनेकाहरू एमालेमै रहने भएपछि माओवादी केन्द्र अहिले झनै खुम्चिएको छ। माओवादीको भविष्य कस्तो रहला?

माओवादी केन्द्रले कस्तो राजनीति लिएर आउँछ भन्नेमा भर पर्छ। अहिले खुम्चे पनि त्यसले धेरै ठूलो अर्थ राख्दैन। यसबाट पाठ सिकेर जनमुखी राजनीति बोकेर फेरि पनि आमजनताको प्रतिनिधित्व गर्ने दल त अहिले छैन।

अहिले गरिब वर्गको, गरिखाने वर्गको प्रतिनिधित्व गर्ने दल त कोही पनि छैन। मैदान पूरै खाली छ। त्यो मैदानको प्रतिनिधित्व म गर्छु भनेर रुपान्तरणकारी राजनीति ल्याएर आउने हो भने उसको सामुन्ने अहिले पनि अवसर छ।

तर यसबाट हाम्रो पार्टी सानो भयो भनेर खुम्चिएर बस्ने हो भने त्यसको कुनै ओखती नै हुँदैन। अहिले एउटा गतिलो पाठ सिक्न गतिलो अवसर छ। अहिले ओलीलाई जस्तै ०६२ सालमा माओवादीलाई पनि संसदमा ८० प्रतिशत सिटमा जनताले समर्थन गरेको थियो। भर्खरै विद्रोहबाट आएको थियो। सारा मानिसहरू परिवर्तनको लागि तयार थिए। त्यो मौका उसले हिजो गमाएको थियो। अहिले पनि मौका गुमाएकोबाट पाठ सिकेर बढ्नुपर्छ। ओलीले देशको परिवर्तनको राजनीति गर्न सक्दैनन् म गर्छु भनेर आउने हो भने मैदानचाहिँ खाली छ।

जनताले पत्याउलान् र?

०६२ सालदेखि माओवादीले जे जे भुल गर्यो, त्यसलाई रिअलाइज गरेर पुरानो पुस्ताले नयाँ पुस्तालाई सत्ता हस्तान्तरण गरेर नयाँ ढंगले बढ्ने सम्भावना छ। होइन, अहिलेको बदनाम पुस्ताले नै सारा कुरा गर्छु। मेरै हातमा सारा कुरा राख्छु भनेर आउने हो भने सम्भावना न नेकपा एमालेको छ न माओवादी केन्द्रको।

अहिले सत्ता समीकरणको खेलले सरकारको आयु कति देख्नुहुन्छ? माओवादी केन्द्र, जसपा र कांग्रेसको समीकरणमा नयाँ सरकार बन्ला?

पछिल्लो केही दिनयता कांग्रेस पनि आफ्नै नेतृत्वमा सरकार बनाउने गरी अघि बढेको छ। जसपा पनि एकढिक्का भएर अघि बढेको छ। भनेपछि तीनवटा दल मिलेर ओलीविरुद्ध अविश्वास प्रस्ताव पास गर्न सक्यो र बहुमत सावित गर्न सक्यो भने विकल्प दिने सम्भावना रहन्छ।

जसपालाई फुटाएर भए पनि विश्वासको मत प्राप्त गर्ने प्रधानमन्त्री ओलीको प्रयास जारी नै छ। त्यो सम्भावना कस्तो छ? 

त्यो पनि हुन सक्छ।
 
  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.