|

झापा : स्वदेशमै आन्तरिक पर्यटन प्रवर्द्धनलाई व्यवसायीमुखी बनाउने उद्देश्यले झापाको शिवसताक्षीमा निजी लगानीमा सुविधासम्पन्न वाटर पार्क रिसोर्ट सञ्चालनमा आएको छ।

शिवसताक्षी नगरपालिका –८ झिलझिले बजार नजिकै व्यवसायी राजकुमार सङ्ग्रौलाले एकल लगानीमा वाटर किङ्डम पार्क एन्ड रिसोर्ट सञ्चालनमा ल्याएको हो। 

कोरोना महामारीपछि आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने मनोरञ्जनका स्थलहरू धरायशी बन्दै गइरहेको अवस्थामा स्वदेशमै पर्यटन प्रवर्द्धनको क्षेत्रमा केही गरौँ भन्ने उद्देश्यले व्यवसायी सङ्ग्रौलाले ४२ करोड रुपैयाँको लगानीमा जिल्लाकै भव्य र उत्कृष्ट वाटर पार्क रिसोर्ट सञ्चालनमा ल्याएको हो। सो रिसोर्ट २ बिगाहा ५ कठ्ठामा फैलिएको छ। 

गर्मीयाम सुरु भएसँगै स्विमिङ गर्न रुचाउने अहिलेका बालबालिका तथा युवापुस्ता सुविधा सम्पन्न वाटर पार्कको खोजीमा छिमेकी राष्ट्र भारत वा नेपालको अन्य जिल्ला धाउनु पर्ने बाध्यता थियो।

जिल्लामै भव्य र उत्कृष्ट वाटर पार्क सञ्चालनमा ल्याएपछि यहाँका बासिन्दालाई भारतको सिलगुढी र काठमाडौँ लगायतका सहर धाउनुपर्ने बाध्यता टरेको रिसोर्टका कार्यकारी निर्देशक समेत रहेका सङ्ग्रौलाले थाहाकर्मीलाई बताए। 

जिल्लामा स्विमिङ पुलहरू सञ्चालनमा छन्, कार्यकारी निर्देशक सङ्ग्रौलाले भने, ‘यतिको वाटर पार्क जिल्लामै पहिलो भएको दाबी गर्छु, नाफामुखी भन्दा पनि आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने मुख्य लक्ष्य हो।’  

रिसोर्टमा १६ वटा सुविधा सम्पन्न भिआइपी गेस्ट रुम, सेमिनार हल र पार्टी हल रहेको छ। पार्कमा पानीमा खेलेर मनोरञ्जन लिने आठ प्रकारका खेल छन्। रिसार्टमा प्रदेश १ कै पहिलो जिप फ्लाइङ र जिप साइक्लिङको सुविधा पनि राखिएको छ।

तारमा रोमाञ्चक यात्रा हुने जीप फ्लाइङ र साइक्लिङलाई नयाँ तथा साहसिक खेल मानिन्छ। यसले आन्तरिक पर्यटकलाई निकै आकर्षित गर्ने सम्भावना छ।  पार्कमा स्विमिङ पुल, वेब पुल, मल्टिलेण्ड स्लाइड, वेब स्लाइड, क्रुसर स्लाइड, सोफालेण्ड स्लाइड र पेन्डुलम स्लाइड सञ्चालन ल्याएको रिसोर्टकी अध्यक्ष मेनुकादेवी सङ्ग्रौलाले बताइन्।

एकै ठाउँमा पानीमा खेल्ने आठ प्रकारको मनोरञ्जनका स्थल पूर्वमै नभएको उनको दाबी छ। बालबालिकाका लागि किड्स जोन र सिक्स्पा पार्क, वाटर किङडम पार्क बनाइएको छ। वृद्धवृद्धाका लागि विश्राम चौतारी पार्कमा पनि निर्माण गरिएको छ। 

युवायुवतीका लागि पार्कभित्र खान बस्न र पार्कभित्रका दृश्य अवलोकनका लागि विभिन्न संरचनाहरू निर्माण गरिएको अध्यक्ष सङ्ग्रौलाले बताइन्। पार्कमा ४५ मिटर लामो कृत्रिम सुरुङ मार्ग पनि सञ्चालनमा ल्याउनको उनको भनाइ छ। 

उनका अनुसार पार्कभित्र भेज र ननभेजका फरक–फरक होटेल सञ्चालन छन् भने आन्तरिक तथा बाह्य पर्यटकका लागि सुविधासम्पन्न २८ वटा कोठाको दुई वटा भवन निर्माण गरिएको छ। पार्कमा ७५ जनाले प्रत्यक्ष रोजगारी पाएको सञ्चालक समितिका सचिव गणेश घिमिरेले जानकारी दिए।

पार्कमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि पूर्वका पर्यटकीय स्थल इलाम, झापा, धनकुटा, ताप्लेजुङ, पाँचथर, सुनसरीलगायतका स्थानहरूमा प्याकेजमा भ्रमण गराउने योजना पनि बनाइएको कार्यकारी निर्देशक संगौलाले बताए।

वैशाखसम्ममा पार्कको सबै काम सकिसक्नुपर्ने भन्दै उनले भने, ‘वाटर पार्कको सिजन वैशाखदेखि मङ्सिरसम्म हो, त्यस अवधिमा एक लाख पर्यटकलाई पार्कमा स्विमिङ गराउने योजना छ।’  

झिलझिलेस्थित पूर्व–पश्चिम राजमार्गबाट ३०० मिटर दक्षिणमा यो रिसोर्ट छ। नगरमा सताक्षीधाम, चिल्लागढ, दोमुखा जस्ता प्रख्यात पर्यटकीय स्थलको नजिकै वाटर पार्क रिसोर्ट सञ्चालनमा आएको र यहाँ आउने पर्यटकलाई रिसोर्टले थप मनोरञ्जन दिने  समितिका सदस्य समेत रहेका स्थानीय पत्रकार विनोद सापकोटाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.