महानगरपालिका भन्छ : खाली गर्ने काम जारी छ

|

काठमाडौं : काठमाडौंको बीच भागमा रहेको कुनै बेलाको खुला ठाउँ टुँडिखेल कहिले बसपार्क त कहिले पार्किङस्थल अनि कहिले व्यापारिक भवनको नाममा अतिक्रमण हुँदै गयो। त्यही खुला ठाउँमा विभिन्न निर्माण सामग्री थुपारिन थालियो। निर्दलीय व्यवस्थामा खुला भएको खुलामञ्च लोकतन्त्रमा बन्द भएको टिप्पणी सुनिँदै आएको छ।

ती अतिक्रमण हटाएर पुरानै स्वरुपमा फर्काउनुपर्ने भन्दै सम्पदा संरक्षण अभियन्ताले ‘अकुपाई टुँडिखेल अभियान’ सञ्चालन गर्‍याे। उनीहरूले २०७६ कात्तिक २३ देखि मानव साङ्लो निर्माण गरी तीनमहिने अभियान सुरु गरे। यसमा सर्वसाधारणले पनि साथ दिए। तर, अभियान चलेको तीन महिनासम्म पनि त्यहाँका संरचनाहरू हट्न सकेनन्। 

यस अभियानमा काठमाडौं महानगरपालिकाले नै चासो नदेखाएको गुनासो अभियन्ताले गरिरहेका थिए। नगरप्रमुख विद्यासुन्दर शाक्यले नै खाली गर्न चासो नदेखाएका भन्दै उनको चर्को आलोचनासमेत भयो।

अन्तत: विभिन्न आन्दोलनको दबाबपछि महानगरपालिकाले खुलामञ्चलाई खुला गर्ने गरी बढेको छ। यद्यपि २०४६ को आन्दोलनपछि पनि त्यहाँ खुद्रा पसलेहरूले कब्जा जमाएर टुँडिखेल कुरुप बनाएका थिए। 

महानगरका तत्कालीन उपमेयर नवीन्द्रराज जोशीको पहलमा तिनलाई हटाएर भृकुटीमण्डपमा व्यवस्थापन गरियो। त्यो अहिले त्यहीँ छ। चिनियाँ सहयोगमा बनेको भृकुटीमण्डप त्यसबेलासम्म बालक र वृद्धहरूका लागि घुमफिर गर्ने सुन्दर उद्यान थियो।

महानगरपालिकाले पहिलो पटक फागुन ५ गते खुलामञ्च तर्फका टहराहरू भत्काएको थियो। दोस्रो पटक गत आइतबार महानगरपालिकाले  डोजर चलाएर  निर्माण सामग्री राख्न निर्माण गरिएका संरचनाको वरिपरिको बार भत्काएको छ।

अहिले खुलामञ्चमा चिनियाँ टोली बस्ने संरचनाबाहेक सबै महानगरपालिकाले भत्काइसकेको छ। त्यस ठाउँमा सबै प्रकारका सवारीसाधनसमेत निषेध गरिएको छ। महानगरपालिकाको यस कार्यले अब खुलामञ्च खुलै रहने आशा जगाएको छ। 

‘महानगरपालिकाले ढिलै गरे पनि राम्रो गर्‍याे’

अकुपाइ टुँडिखेलका अभियन्ता गणपतिलाल श्रेष्ठले महानगरपालिकाको काम स्वागतयोग्य रहेको बताए। उनले भने, ‘पहिला तीन महिनासम्म अभियान चलाउँदा महानगरपालिकाले संरचना हटाउन पहल गरेन। ढिलै भए पनि अहिले संरचना हटाएर राम्रो काम गरेको छ।’

खुलामञ्च अतिक्रमण गरिएको अनाधिकृत पसल,भ्युटावरको सामग्री, दुई माजुगुठीका संरचना हटाएर व्यवस्थित ढंगले टुँडिखेललाई व्यवस्थापन गर्नुपर्ने उनको माग छ। ‘महानगरपालिकाले सबै अनधिकृत संरचना हटाएर एउटा भिजन बनाएर जाओस् भन्ने मेरो चाहना छ। यसमा हामी साथ दिन तयार छौँ,’ उनले भने।

महानगर भन्छ : निकट भविष्यमा पहिलाको स्वरूपमा खुलामञ्च फर्काउँछौँ

महानगरपालिका नगर प्रहरी प्रमुख धनपति सापकोटा खुलामञ्चलाई निकट भविष्यमै पुरानै स्वरुपमा फर्काउने बताउँछन्। ‘नगरप्रमुख शाक्यको आदेशअनुसार निरन्तर खुलामञ्चमा राखिएका संरचनाहरू हटाइरहेका छौँ,’ उनले थाहाखबरसँग भने, ‘त्यहाँको चाइनिज संरचना पनि बिस्तारै भत्काउँछौँ। भ्युटावर र धरहरा निर्माणका सामग्री पनि हटाउँछौँ। निकट भविष्यमै खुलामञ्चको स्वरुप पुरानै रुपमा फेरिन्छ।’

उनका अनुसार खुलामञ्चका संरचना मात्रै नभई रत्नपार्क, टुँडिखेल आसपासका सबै व्यापारिक पसलहरू हटाएर सिल गर्ने योजना महानगरपालिकाको छ। दरबार हाइस्कुल, वीर अस्पताल निर्माण कार्य नसकिएकाले समयमा ती ठाउँ खाली गर्न नसकिएको उनको भनाइ छ।

‘वीर अस्पताल बनाउनुपर्छ, स्कुल पनि बनाउनुपर्छ। त्यसका लागि सामग्री ल्याउनुपर्‍याे। त्यसका लागि राख्नलाई ठाउँ चाहिन्छ। हामीले राख्न दिएर कुनै गल्ती गरेका छैनौँ। यो हाम्रो राख्न दिने बाध्यता नै हो,’ उनले भने।

अस्थायी बसपार्क सारिने

त्यस ठाउँमा रहेको अस्थायी बसपार्क पनि अन्यन्त्र सार्ने योजना महानगरको छ। नगर प्रहरी प्रमुख सापकोटाका अनुसार लामो रुटका सवारीसाधनलाई नयाँ बसपार्कमा सारिने छ।

‘टिकट काटेर गाउँ जाने बसहरू नयाँ बसपार्कमा सार्छौँ,’ उनले भने, ‘उपत्यकाभित्र चल्ने सवारीसाधनलाई टुँडिखेल रिङरोडमै ‘पिक एण्ड ड्रप’को व्यवस्थापन गरेर त्यहाँको बसपार्क खाली गर्ने हाम्रो योजना छ।’ 

खुलामञ्चको महत्व 

टुँडिखेलका स्थानीय एवं संघीय सांसद भीमसेनदास प्रधानका अनुसार राजा महेन्द्रले खुलामञ्च बनाएपछि त्यहाँ बेलाबेलामा पञ्चायतको कार्यक्रम हुन्थ्यो। त्यही ठाउँमा २०३६ र २०३८ सालको जनमतसंग्रह, २०४२ सालको सत्याग्रह, २०४६ सालको जनआन्दोलन र २०६२/६३ को संयुक्त जनआन्दोलन भएको थियो। त्यसैले जनआन्दोलनको उद्गम थलो खुलामञ्च मानिन्छ।

प्रधान भन्छन्, ‘२०३६ सालमा बिपीले सानो माइक राखेर खुलामञ्चबाट पहिलो भाषण सुरु गरेका थिए। पछि सबै देशका नेताहरूले त्यहाँ भाषण गर्थे। त्यसैले सांस्कृतिक पक्षमा मात्रै नभई राजनीतिकले पनि त्यो ठाउँको महत्व छ।’ उनले टुँडिखेल पानीको संकट पर्दा त्यहाँबाट निकाल्ने ठाउँ पनि रहेको बताए।

‘लिच्छविकालीन समयमा टुँडिखेल खाली थियो। हरियाली देखिन्थे। त्यही ठाउँले बाहिरका मान्छेहरू आकर्षित भएर सहर छिर्थे। पहिले बुढानीलकण्ठको गंगालल अस्पतालबाट सुरु भएर सबै समतल हरियाली मैदान थियो। रानीपोखरी बीच भागमा थियो,’ सांसद प्रधान भने, ‘पूर्वतिर बागमती नदी, पश्चिमपट्टि विष्णुमति अनि बीचमा टुकुचा। त्यसमा टुकुचा र विष्णुमतिको वरिपरि ठूलो ग्रासलाइन चौर थियो। त्यो नै टुँडिखेलको पुरानो वास्तविक एरिया हो।’

राणाशासन सुरु भएपछि ती समतल मैदानमा नारायणहिटी दरबार, शितलनिवास, कृष्ण शमशेरको दरबार, बागदरबार, सिहदरबारलगायत संरचना बनेको प्रधानले जानकारी दिए।

‘यी सबै संरचना बनिसकेपछि बचेको भाग भनेको रानीपोखरी हो,’ उनले भने, ‘त्यहाँ खेलकुद मैदान र पोखरी थियो। २०१३ सालतिर टुँडिखेल व्यवस्थापन गर्न राजा महेन्द्रले हाकु बाजे भनिने व्यक्तिलाई जिम्मेवारी दिएपछि टुँडिखेलको विखण्डनको काम सुरु भएको हो।’

प्रधानका अनुसार २०१८ सालतिर राजा महेन्द्रले बचेको टुँडिखेललाई सिमेन्टको पोल लगाएर संरक्षण गर्न बार लगाएका थिए। बिस्तारै सहिदगेट खोलियो। सुन्धारा पछाडि भएको सेनाको सचिवालय भवन टुँडिखेलमा बनाउन दिइयो। काठमाडौं महानगरपालिकाले भ्युटावर निर्माण व्यवसायी जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्ससगँ सम्झौता गरेसँगै टुँडिखेल अस्तव्यस्त बन्दै गयो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.