अब्बल बन्ने बुवाको सपनालाई थाँती राखेका छैनन्

|

इलाम : झापा चन्द्रगढीका अजित राउतको एक दशक अघिका केही थान सपनामध्ये खेलकुदको माध्यमबाट छोरोको भविष्य उज्वल बनाउने पनि थियो।

नेपालमा खेलकुदमा भविष्य छैन भन्ने अजितलाई थाहा नभएको पनि हैन। तर पनि उनी छोरा दिपांशुको फुटबल लगावमा अझै पनि साथ दिइरहेका छन्। ‘ बाबाले फुटबल वा पढाइमध्ये एउटा रोजभन्दा फुटबल नै रोजिरहेको छु, पढाइलाई पनि साथै लगिरहेको छु, उहाँको पनि साथले गर्दा लक्ष्यतर्फ अघि बढ्दै छु,’ दिपांशु सुनाउँछन्। 

४० को दशकमा देशकै प्रतिष्ठित नर ट्रफी, बर्थडे कप, त्रिभुवन च्यालेन्ज शिल्डलगायत प्रतियोगिता खेलेका अजित आफूभन्दा अब्बल छोरा बनोस् भन्ने चाहन्छन्।

राष्ट्रिय टोलीको सपना पूरा गर्न नपाएका अजितले छोरालाई नेपाली राष्ट्रिय झन्डाअंकित जर्सीमा देख्न चाहन्छन्। बाबुको सपनामा छोरा दिपांशु आजकाल दिनरात नभनी पसिना बगाइरहेका छन्।

त्यसो त दिपांशुले राष्ट्रिय टोलीको जर्सी लगाउन नपाएका हैनन्। नेपालमा नै सन २०१७ मा आयोजना भएको यु–१५ साफ च्याम्पियनसिपमा नेपाल उपविजेता बन्दा नेपाली राष्ट्रिय टोलीको जर्सीमा उनले बेञ्चमा नै बिताउनुपर्‍यो। 

नेपाली यु–२१ र यु–२३ टिमका लागी क्लोज क्याम्पमा परे पनि शीर्ष २३ मा पर्न सकेका छैनन्। १९ वर्ष पुगेका दिपांशुले भर्खरै मात्र बी डिभिजन लिग बाँसबारी क्लबबाट गोलपोष्ट सम्हाले।

२०७५ सालमा च्यासल क्लबबाट ए डिभिजन लिगमा सहभागिता जनाएका थिए। नेपाली फुटबलको वर्तमान अवस्थाबाट फुटबलमा बाँच्न सक्ने अवस्था नरहेको दिपांशुले अनुभूत गरेका छन्।

‘डर छ बाबाको सपना अधुरै रहने हो कि भन्ने। विकल्प त सोचिसकेको थिएँ पलायन हुने, तर कोरोनापछि लिग सुचारु भएकाले केही समय त्यसलाई थाँती राखेको छु,’ उनले सुनाए। 

नेपालबाट फुटबल प्रतियोगिता निरन्तर नहुँदा खेलाडीहरुको बाँच्ने एक मात्र अवस्था ‘खेप’ रहेको दिपांशु बताउँछन्। ‘खेप’ भन्ने शब्द विशेष गरेर भारतका चल्ने गर्छ। जसलाई ‘खेल पारिश्रमिक’को रुपमा बुझ्ने गरिएको छ।

जसले धेरै राम्रो खेल्न सक्छ, उसले धेरै कमाउन सक्छ। जसले खेल्नै सक्दैन उसको कमाइ थोरै। दिपांशुजस्ता युवा पुस्ताको खेलशैली र स्तर बढाउने माध्यम नै खेप हो भन्दा फरक पर्दैन। नेपालसँग सीमा जोडिएको भारतका विभिन्न क्षेत्रमा हुने प्रतियोगितामा उनी सहभागी हुन्छन्। लिगपछि बाँकी समय उनी भारतमा हुने साना ठूला प्रतियोगितामा नै व्यस्त भेटिन्छन्। 

यी र यस्ता प्रतियोगिताबाट उनी बर्सेनि डेढ लाखभन्दा बढि भारतीय रुपैयाँ आम्दानी गरेको सुनाउँछन्। ‘खेलाडी हामी बाँच्ने भनेकै खेपका प्रतियोगिता र मोफसलका गोल्डकपले हो लिग पनि २/३ महिना हुन्छ, क्लबले १ वर्ष अनुबन्धन गर्छ ३/४ महिनाभन्दा बढीको तलब दिँदैन,’ दिपांशु गुनासो पोख्छन्, ‘ तर सधैं खेलेर पनि हुँदैन, नेपालमै वर्षभरि खेल्ने वातावरण हुनुपर्‍यो।’

दिपांशुको फुटबल यात्रा

घर नजिकै मेची रंगशाला भएकाले उनका लागि फुटबल आउन त्यति असहज भएन। दिनहुँजसो रंगशालामा अभ्यासले उनमा फुटबलमा लाग्ने अझै हौसला बढ्यो। सानै उमेरमा बुबाले दिपांशुका लागि फुटबल बुट र ग्लोब्स ल्याएर थमाएपछि औपचारिक फुटबल यात्रा सुरु भयो। मेची रंगशालामा हुने जुनियर र सिनियर फुटबल उनी नछुटाइ हेर्ने गर्थे। त्यहाँ देखेका कला र सीपलाई उनले दैनिक अभ्यासबाट निखार्दै लगे। 

गोलरक्षक बन्ने प्रेरणा

मुनाल क्लबको आयोजनामा मेची रंगशालामा २०६८ सालताका भएको फुटबल प्रतियोगितामा उनीलगायत बालबालिकालाई बल ब्वाइको रुपमा ल्याइएको थियो। त्यही प्रतियोगितामा उनले गोलरक्षक मीन बस्नेतको खेल नजिकैबाट हेर्ने मौका पाए जसको नाम उनले फुटबल खेल्न सुरु गर्दैबाट सुनेका थिए।

मीनको बल नियन्त्रण गर्ने शैली र खेलले दिपांशुमा गोलरक्षक बन्नतर्फ प्रेरित गर्‍यो। उनी सम्झन्छन्, ‘सानैबाट मीन बस्नेतको नाम सुनेको थिए। प्रत्यक्ष खेल हेर्न पाएपछि उहाँजस्तै बन्ने लक्ष्यमा साथ गोलकिपर खेल्न थाले।’

उचाइले पनि उनलाई गोलरक्षक बन्न साथ दियो। गाउँमा हुने भालेकप खेल्दै आएका उनलाई एन्फा प्रवेशको अवसर थियो, तर पारिवारिक समस्याका कारण गुमाउन पुगे। एन्फा यु–१२ का लागि झापाबाट विराटनगर हुँदै काठमाण्डौका लागि छनोट भएका थिए। तर काठमाडाैंको अन्तिम छनौटमा भाग लिन पाएनन्। 

उमेर समूहको प्रतियोगिता

एन्फाका लागि छनोटमा भाग लिन नपाए पनि उनले सन २०१५ मार्चमा आयोजना भएको यु–१४ फुटबल फेस्टिबलमा सहभागिताको अवसर पाए। श्रीलंकामा भएको प्रतियोगितामा उनी शीर्ष २३ भित्र रहँदै टिममा छनोट भए।

तर प्रतियोगितामा बेञ्चमा नै बिताउनुपर्ने भयो। काठमाडाैंमा २०७५ सालमा भएको ललित मेमोरियल यु–१८ प्रतियोगितामा झापा–११ बाट खेलेका थिए। त्यसैगरी २०७६ मा एनआरटीबाट मैदानमा देखापरेका थिए।

सोही वर्ष च्यासलबाट ए डिभिजन लिग र केही मोफसलका प्रतियोगितामा देखा परे। केही दिनअघि सम्पन्न बी डिभिजन लिगमा बाँसबारीबाट केही खेलमा गोलपोष्ट सम्हालेका थिए। गत सिजनमा रेलिगेसन जोनमा रहेर १ अंक गुमाएको क्लबलाई यस सिजनमा तेश्रो स्थानमा राख्न महत्वपूर्ण भूमिका खेले।

घरेलु फुटबलमा दिपांशु

​यु–१५ साफ च्याम्पियनसिप खेल्नुअघि नै उनले झापा लिगमा न्युस्टार क्लब खोपवाडीबाट खेल्दै उत्कृष्ट गोलरक्षकसमेत पाए। त्यसलगत्तै उनले इलाममा आयोजना भएको माईभ्याली गोल्डकपमा झापा–११ को दोश्रो रोजाइको गोलरक्षक बन्दा प्रतियोगिता झापाले जित्यो।

तर दिपांशु मैदान उत्रन पाएनन्। विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेपछि तत्कालीन प्रशिक्षक प्रवेश कटुवालले झापा–११ का लागि दिपांशुलाई टिममा बोलाए।

त्यहाँ उनले यु–२३ का गोलरक्षक दिनेश थापा मगर र मनोज प्रधानसँगै स्थान बनाए। ‘अनुभवका लागिसमेत झापा गोल्डकपमा अतिरिक्त गोलरक्षकको रुपमा टिममा समावेश भए। त्यहाँबाट मोफसलको फुटबलबारे धेरै जानकारीसमेत प्राप्त भयो,’ उनले भने।

प्रतियोगितामा झापा उपविजेता बन्यो। त्यसपछि उनले बिआरसी फेन्स भुटानबाट मेचीनगर गोल्डकप, झापा–११ बाट राजर्षि जनक कप, भारतको मानेभञ्ज्याङ गोल्डकप र मिलनगाउँ गोल्डकप लगायतका एक दर्जन बढी प्रतियोगितामा पहिलो रोजाइको गोलरक्षकको रुपमा उत्रिए। 

खेपकै भर

कोरोना अघि र त्यसपछिको दिपांशुको समय छिमेकी भारतका विभिन्न जिल्लामा हुने गोल्डकप र टोलकप प्रतियोगितामा नै बित्ने गरेका छन्। मासिक रुपमा भारतको विभिन्न प्रतियोगितामा सहभागी भएर उनले ३० हजार भारतीय रुपैयाँ आम्दानी गर्दै आएका छन्।

मोफसलको गोल्डकप र छिमेकी देश भारतमा हुने रनिङ कप र अन्य प्रतियोगिता पूर्वको खेलाडीको बाँच्ने आधार भएको उनी बताउँछन्। ‘लिगको भरोसा नहुँदा खेप नै विकल्प हो। इज्जत पनि हुने र पैसा पनि कमाइ हुने। पूर्वका खेलाडीहरु लिगभन्दा पनि खेपबाटै बाँचेका छौं, भन्दा पनि फरक नहोला।’

उनी भन्छन्, ‘ तर सधैं खेपकै भरले पनि नहोला सरकारले खेलाडीको रुपमा सोचिदिनुपर्‍यो। कम्तीमा वर्षभरि प्रतियोगिता संचालन हुने र समयमा नै तलब पाउने वातावरण बनाइदिए खेलेर बाँच्न सकिन्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.