|

इलाम : इलाममा सूर्योदयको दृश्य देखिने ठाउँ धेरै छन्। अधिकांश अग्ला डाँडाबाट सूर्योदय देखिन्छ। तर, सन्दकपुर मात्र यस्तो ठाउँ हो-जहाँबाट सूर्योदय र सूर्यास्त मात्र होइन, तीन देशका हिमाल १८० डिग्रीमा देखिन्छ।

पाँचथर, इलाम र भारतको पश्चिम बंगाल राज्यको सीमावर्ती क्षेत्र सन्दकपुरबाट नेपाल, भारत र भुटानका गरी पाँच हजार मिटरमाथिका ६० भन्दा बढी हिमचुचुरा नाङ्गो आँखाले देख्न सकिन्छ। भारतको सिंहलीला नेशनल पार्कसँग जोडिएको सन्दकपुरबाट दोस्रो अग्लो पाकिस्तानको माउन्ट केटु (अष्टिन गड्विन) बाहेक विश्वका चारवटा उच्च हिमाल सहजै देख्न सकिन्छ।


पश्चिम उत्तरतिर ल्होत्से, मकालु, कुम्भकर्ण, सगरमाथा हिमाल नजिकै देखिन्छन्। सन्दकपुरबाट उत्तरतिर फर्किंदा भारतको सिक्किम राज्यका पाहुन्द्री, सिनोल्चु, लाथोङ र जोङसङ हिमाल झन् नजिक लाग्छन्। पूर्व हेर्दा भुटानका कुलाकाङ्ग्री र जोमलरीसहित एक दर्जन हिमचुचुरा देखिन्छन्। 

मौसम खुलेका बेला सगरमाथादेखि कुलाकाङ्ग्रीसम्मका हिमचुचुरा एउटै रेञ्जमा देख्न पाउँदा सन्दकपुर आउने पर्यटक रमाउँछन्। सूर्योदयको पहिलो किरण हिमालमा पर्दा देखिने सुनौलो दृश्यले सबैलाई लोभ्याउँछ। हिमाली दृश्यसँगै भौगोलिक विविधता चिहाउन चाहनेहरूका लागि पूर्वी नेपालको उत्तम गन्तव्य सन्दकपुर हो भन्नेमा दुई मत नहोला।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.