|

काठमाडौं : दुई जिल्लाबाट तीन वटा नागरिकताको प्रमाण पत्र लिने एक जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले काठमाडौंबाट पक्राउ गरेको छ।

बाग्लुङको साविक नरेठाटी गाविस–२ हाल गलकोट नगरपालिका– २ स्थायी ठेगाना भई काठमाडौं –४ सुकेधारा जाल्पादेवी मार्ग बस्ने ३७ वर्षीय कमल सुनारलाई ब्यूरोको टोलीले नागरिकता तथा अन्य थुप्रै कागजातसहित पक्राउ गरेको हो।

कमलले बाग्लुङ जिल्ला प्रशासन कार्यालयबाट एउटै मितिमा एउटै नागरिकता नम्बरमा एउटामा कमल सुनार र अर्कोमा कमल थापा नाम राखी दुई वटा नागरिकता लिएको खुलेको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन्।

यस्तै कमलले काठमाडौं​ जिल्ला प्रशासन कार्यालयबाट मिति २०७४-१०-२४ गते कमल सुनुवारको नाममा लिएको नागरिकताको सक्कलै प्रमाण पत्र पनि बरामद गरिएको पन्तले बताइन्।

उनले कमल थापा नामको नागरिकता विभिन्न सरकारी निकायहरूमा पेश गरी सेवासमेत लिएको अनुसन्धानबाट खुलेको ब्यूरोले जनाएको छ। ‘कमलले बिभिन्न बैंक तथा वित्तिय सस्थाहरूबाट कर्जा लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ’ पन्तले भनिन्,‘उनको साथमा भेटिएका बिभिन्न कागजातहरू हेर्दा नागरिकताको ब्यापक दुरुपयोग गरेको आशंका छ।’ 

पन्तले थप अनुसन्धानका लागि कमललाई आवश्यक कारवाहीको लागि महानगरिय प्रहरी परिसर काठमाडौं पठाइएको जानकारी दिइन्। 

                


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.