नेतृत्व परिवर्तन आवश्यक

|

काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले अबको निकास निर्वाचन नै भएको बताएका छन्।

नेपाल प्रेस युनियन दाङले आज घोराहीमा गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेता कोइरालाले देशलाई जटिल परिस्थितिबाट निकास दिन निर्वाचनमा जानुपर्ने धारणा राखेका हुन्‌। 

जारी राजनीतिक तनाव अन्त्य गर्न निर्वाचनको विकल्प नभएको बताउँदै उनले यसअघि सरकारले घोषणा गरेको निर्वाचन संविधान विपरित भएकाले कांग्रेसले विरोध गर्नुपरेको तर्क गरे।

‘देशलाई अप्ठेरो परिस्थितिबाट निकास दिनका लागि अबको विकल्प भनेको निर्वाचन नै हो,' कोइरालाले भने, ‘बहुमतको सरकारले निर्वाचन गर्न नमिल्ने भएकाले दलहरू मिलेर अल्पमतको सरकार गठन गर्नुपर्छ।’

नेता कोइरालाले निर्वाचनका लागि मंसिर वा चैत उपयुक्त समय हुने पनि बताए। निर्वाचनका लागि चुनावी सरकारको नेतृत्व कांग्रेसले नै गर्न उपयुक्त हुने भन्दै त्यसका लागि पार्टीको महाधिवेशन मितिलाई ध्यानमा राख्नुपर्ने समेत बताए।

नेपालको परिस्थितिमा कम्युनिष्टले निर्वाचन गराएको घटनाहरू नभएको भन्दै कांग्रेसले पार्टीको महाधिवेशनलाई ध्यानमा राखेर निर्वाचनको मिति तय गर्नुपर्ने कोइरालाको धारणा थियो।

उनले कांग्रेसलाई सशक्त र बलियो पार्टी बनाउन कांग्रेसमा नेतृत्व परिवर्तनको आवश्यक रहेको बताए। आउने महाधिवेशनबाट कार्यकर्तालाई गुटको भन्दा पार्टीको नेता छान्न समेत आग्रह गरे।

जनताबाट टाढा हुँदा पार्टी कमजोर बन्न पुगेको भन्दै नेता कोइरालाले कांग्रेसका नेता तथा कार्यकर्तालाई जनतासँगको दूरी कम गर्न आग्रह गरे। साथै, जनताका हरेक दु:ख र सुखमा साथ दिन समेत कार्यकर्ताहरूलाई उनले अनुरोध गरे। 

आगामी महाधिवेशनमा आफूले सभापति बाहेक अन्य पदमा उम्मेदवारी नदिने पनि कोइरालाले प्रष्ट पारे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.