गैँडा गणना गर्न १ करोड ६ लाख खर्च

|

काठमाडौं : तीन वर्षमा देशभरका दुई मुख्य निकुञ्जमा १ सय ७ गैंडाको मृत्यु भएको छ।

चितवन राष्ट्रिय निकुञ्जमा ९३  र बर्दिया निकुञ्जमा १२ वटा गैंडाको मृत्यु भएको थियो। शुक्लाफाँट निकुञ्जमा स्थानान्तरण गरेर राखिएकोले उक्त निकुञ्जमा मृत्यु भएको छैन। हाल उक्त निकुञ्जमा १७ वटा गैंडा छन्।

अधिकांश गैंडाको मृत्यु प्राकृतिक कारणले हुने गरेको छ। उमेर पुगेर, कालगतिले, भाले-भाले गैंडा जुधेर, बाघको आक्रमण, भाले गैंडाको आक्रमण पोथीको, जलथलमा परी र बाढीले बगाएर मृत्यु हुने गरेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ।

बर्दिया राष्ट्रिय निकुञ्जमा सात वटा पोथी र अन्य पाँच वटा भाले गैंडाको मुत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जको सूचना अधिकारी असीम थापा मगरले थाहाखबरलाई जानकारी दिए। उनले भने, 'धेरैको मृत्यु कारण प्राकृतिक र  वृद्ध उमेर रहेको छ।'

उनका अनुसार धेरै जसो गैंडालाई सुरक्षित तरिकाले आफ्नै क्षेत्रमा बसोबास होस भनी पानी पोखरी निर्माण गरिएको छ। जंगली जनावर भएकोले कैद गरेर राख्न सकिँदैन। स्वतन्त्र भएर हिड्ने भएकोले कतिखेर कहाँ मृत्यु हुन्छ थाहा हुँदैन।

चितवन निकुञ्जमा सबैभन्दा बढी गैंडा रहेकोले यस क्षेत्रमा बढी मृत्यु हुने गरेको सूचना अधिकारी लोकेन्द्र अधिकारी बताउँछन्। उनका अनुसार आव ०७५/०७६ मा ४३, ०७६/०७७ मा २६ र ०७७/०७८ मा २६ गैंडाको मृत्यु भएको थियो। बढी मृत्यु भएर संख्या घटे पनि जन्मदर वृद्धि भएर बढ्नेको संख्या उत्तिकै रहेको उनले स्पष्ट पारे।

'चोरी निकासीमा परी केहीको मृत्यु हुने गरेको छ,' उनले भने,' जंगलमा चोरी निकासी बढने गरेकोले विभिन्न सिफ्टमा गस्ती गर्न थालिएको छ।' गस्ती गर्नका लागि तयारी अवस्थामा हरेक निकुञ्जले दुई वटा हात्ती राखेको छ।

'समय-समयमा गैंडाको स्वास्थ्य परीक्षण गरिनुपर्छ'

गैंडामा विद्यावारिधि गरेका डा. शान्तराज  ज्ञवालीका अनुसार नेपालमा गैंडाको मृत्यु प्राकृतिक मुख्य कारण हो। बढीजसो वृद्ध भएकै कारण र झगडा गरेर मृत्यु हुने गरेको पनि उनले बताए। 

गैंडाको सिकार पनि कम हुने गरेको दाबी छ। प्राकृतिक मृत्य घटाउन निकुञ्जले गैंडा अनुगमन गर्न उनले सुझाए। सात-आठ वर्षदेखि यता चोरी सिकारीबाट कम मृत्यु भइरहेको उनले जानकारी दिए।

'रोग लागेर अन्य जंगली जनावरको सिकारमा परी मृत्यु हुने गरेको छ,' डा. ज्ञवालीले भने, 'रोग लाग्न नदिन समय-समयमा स्वास्थ्य परीक्षण गरिनुपर्छ।' स्थानीय मानिस र विभिन्न सरोकारवाला निकायहरुको चासो बढेकोले मृत्युदर घटेको उनको भनाइ छ।

गैंडा गणनामा तीन सय कर्मचारी खट्दै

२०१५ गरिएको गणनामा विभिन्न निकुञ्जमा गरेर ६ सय ५ वटा गैंडा रहेको थियो। यसपटकको गणनामा विगत वर्षको तुलनामा संख्या बढने निकुञ्जले दाबी गरेको छ।

गैंडाको गणना गर्न कुल १ करोड ६ लाख बजेट छुट्टयाइएको छ। केन्द्र सरकारले ८० लाख र तीन वटा सहयोगी संस्थाले २६ लाख लगानी गरेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी हरि भद्र आचार्यले जानकारी दिए। उनका अनुसार सहयोगी संस्था जेडएसल नेपाल, डब्लुडब्लुएफ र राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी)ले गैंडा गणनामा सहयोग गर्ने भएका छन्।

कुल ३ सय मानव श्रोतको प्रयोग गरी गणना गर्न लागिएको उनले जानकारी दिए। चितवनमा कुल ४० वटा हात्ती प्रयोग गरिने, बर्दियामा २० वटा र शुक्लाफाँटामा २ वटा हात्ती प्रयोग गरिने भएको छ।

चितवन र पर्सामा तीन हप्ता सम्म गणना गरिन्छ। बर्दियामा २ हप्ता र शुक्ला फाँटमा एक हप्ता सम्म गणना गरिने भएको हो।

यस वर्ष देशभर गैंडाको गणना पहिलो चरणमा चैत ९ गतेबाट हुने भएको छ। ६ वर्षभन्दा अगाडि गैंडाको गणना गरिएको थियो। चितवन राष्ट्रिय निकुञ्ज,बर्दिया राष्ट्रिय निकुञ्जमा गणना र शुक्ला फाट कञ्चनपुरमा गणना गरिएको थियो।

अन्य दुई राष्ट्रिय निकुञ्जमध्ये बर्दियामा चैत १७ गतेदेखि र शुक्लाफाँटामा १९ गतेदेखि गणना सुरु गर्दै छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.