प्रशासन कार्यालयबाट नागरिकता जारी नै नभएको खुलासा

|

झापा : भद्रपुर नगरपालिका ५ नम्बर वडा कार्यालयमा केही युवा समूहले तोडफोड प्रयास गरेका छन्। नेपाली नागरिकताको प्रतिलिपिका लागि सिफारिस माग्न गएका युवा समूहले वडाध्यक्षको कार्यकक्षमा तोडफोडका प्रयास गरेका हुन्। 

साबिक भद्रपुर १ ठेगाना बताउने अन्दाजी ६५ वर्षीय योगराज चौहानको नागरिकता हराएको र त्यसैको प्रतिलिपि बनाउनुपर्ने भन्दै चौहानसहित केही युवा मंगलबार दिउँसो वडा कार्यालय सिफारिस लिन पुगेका थिए। 

वडाध्यक्ष बन्धु कार्कीले नागरिकता हराएको कुनै प्रमाण नभएको र नागरिकता नम्बरकै आधारमै सिफारिस दिन नमिल्ने बताएपछि युवाले विवाद गर्दै कार्यकक्षमै तोडफोड प्रयास गरेका थिए। युवा समूहले दादागिरी शैलीमा वडाध्यक्षको टेबल ठोकेका थिए।

वडा कार्यालयभित्रै विवादसँगै टेबल ठोकाठोक भए पनि हातपात नभएको वडाध्यक्ष कार्कीले बताए। ‘उनीहरूले वडा कार्यालयभित्रै आक्रमण प्रयास गर्न खोजेका थिए,’ वडाध्यक्ष कार्कीले भने, ‘छेउमै नगरपालिका कार्यालयसँगै बीच बजारमै यस्तो घटना भएकोले उनीहरूले आक्रमण गर्न पाएनन्, घटनाको विषयमा कर्मचारीले तत्काल प्रहरीलाई खबर गर्नासाथ उनीहरू त्यहाँबाट भागे।’ 

१० देखि १२ जना युवाहरू समूह बनाएर योजनाका साथ आएका थिए। आफूलाई 'टोलेदादा' भन्ने उनीहरू मोटरसाइकल र कार चढेर झापाका विभिन्न स्थानबाट आएका थिए।

'उनीहरूसँगै नागरिकता प्रतिलिपि सिफारिस लिन सम्बन्धित व्यक्ति चौहान र उनकै सहयोगी केर्खाका पूर्ण दाहाल पनि आएका थिए। नागरिकताको कुनै कागजात नभएकाले मेरो नागरिकता हराएको भन्दै अदालतबाट पत्र लिएर आउनुहोस्, मैले चौहानलाई पटक पटक भनें,' वडाध्यक्ष कार्कीले भने। तर, चौहान र उनीसँगै आएका दाहालले त्यस्तो कहाँ हुन्छ र, वडा कार्यालय नै लिखित रुपमा सिफारिस दिन मिल्दैन भनेर दिनुपर्यो भनेपछि उनीहरूले विवाद गरेको उनको भनाइ छ। 

प्रशासन कार्यालयबाट नागरिकता नलिएको खुलासा 

साबिक भद्रपुर नगरपालिका–१ हाल भद्रपुर ५ बस्ने बताउने योगराज चौहान वर्षौंदेखि भारतमा बसोबास गर्दै आइरहेका छन्। उनले सम्पूर्ण कागजात भारतमै बनाइसकेका छन्। उनको भारतमा आधार कार्ड, राशन कार्ड, मतदाता परिचयपत्र भएको उनले स्वयं वडा कार्यालयमा सिफारिस लिन जाँदा कर्मचारीलाई बताएका छन्। 

वडा कार्यालयमा तोडफोडको प्रयास नागरिकताको विषयमा भएकोले घटनाबारे थप बुझ्न थाहाकर्मी बुधबार दिउँसो जिल्ला प्रशासन कार्यालय झापा पुगेका थिए। प्रशासन कार्यालयबाट चौहानले ल्याएको नागरिकता नम्बर कार्यालयमै बसेर केलाउँदा ढड्डा उनको नाम देखियो।

२०३३ सालमा प्रशासन कार्यालय झापामा घुम्ती टोली आएका बेला बुबा तिलबहादुर चौहानका छोरा योगराज (२३ वर्ष) नागरिकता नम्बर ११८०÷९४२ उल्लेख छ। त्यहाँ उनले औँठा छापा पनि लगाएका छन्। 

तर, उनले प्रशासन कार्यालयबाट नागरिकता लिएको जारी मिति कतै उल्लेख छैन। जारी मिति उल्लेख नहुँदा उनले घुम्ती शिविरमा नागरिकता पाउनका लागि नाम लेखाएको हो, तर नागरिकता लिन प्रशासन कार्यालय नआएको त्यहाँका कर्मचारीले थाहाकर्मीलाई बताए।

प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले भने, ‘घुम्ती टोलीको ढड्डामा नागरिकता नम्बर उल्लेख छ, तर जारी मिति छैन, त्यसैले ढड्डाकै आधारमा चौहानलाई नागरिकता दिन मिल्दैन। नागरिकता लिन पुरानो प्रमाण देखाउनुपर्छ, त्यसैले वडा कार्यालयको प्रतिलिपि सिफारिसको आधारमा प्रशासनले नागरिकता जारी गर्दैन,' उनले भने, ‘वडा कार्यालयले पनि सिफारिस नदिँदा हुन्छ,’ त्यस्तो परेमा प्रशासन कार्यालयसँग समन्वय गर्न उनले वडा अध्यक्ष कार्कीलाई जानकारी गराइसकेका छन्।

यता चौहानका दाजु एलबी क्षत्री (चौहान) भद्रपुर ६ निवासी हुन्। उनले भद्रपुर १ बाट नागरिकता लिएका थिए। उनको मृत्यु भइसकेको छ। परिवारका सदस्य पनि कोही छैनन्। अहिले चौहान माइला भाइ भन्दै नागरिकता बनाउन आएका हुन्। तर चौहानले नागरिकता बनाएपछि दाजुको करोडौँको सम्पत्ति हडप्ने उनको योजना हो। ती योजनामा केही युवा पनि खुलेर लागेका स्थानीय स्रोतको दाबी छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.