|

सुर्खेत : सुर्खेतको चिङ्गाड गाउँपालिका–२ मा बाढी पहिरो रोकथामका लागि प्रदेश सरकारले दिएको जाली दुरुपयोग भएको पाइएको छ। पालिकाको वडा नम्बर २ को बडाधारा डाँडा पहिरो नियन्त्रण उपभोक्ता समितिले पहिरो नियन्त्रण गर्ने भन्दै जाली लिएको थियो।

कर्णाली प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयअन्तर्गत भू–तथा जलाधार व्यवस्थापन कार्यालयबाट बडाधारा उपभोक्ता समितिलाई ३०५ वटा जाली किनेर दिएको थियो। केही जालीको तटबन्ध गर्ने काम भए पनि बाँकी जाली दुरुपयोग भएको देखिएको हो। 

निःशुल्क रुपमा पाएको जाली उपभोक्ता समितिले अन्य उपभोक्ता समितिलाई दिएर दुरुपयोग गरेको पाइएको हो। अहिले स्कुलले जालीको खोजी गरेपछि मात्र दुरुपयोग भएको खुलेको हो। 

बडाधारा डाँडा पहिरो नियन्त्रण उपभोक्ता समितिका अध्यक्ष प्रेम रोकायाले भने अघिल्लो आर्थिक वर्षको अन्त्य भएकाले काम गर्न नसकिएको बताए। ‘आर्थिक वर्षको अन्त्यतिर भएकाले सबै काम गर्न सकिएन, पछि हामीले डिल बहादुर खत्रीलाई केही जाली सापट दिएका छौं। अहिलेसम्म फिर्ता पाएका छैनौं,’ अध्यक्ष रोकायाले भने, ‘बजेट अभावका कारण पाएका जाली पनि उपयोग गर्न सकिएन, अहिले मुख्यमन्त्री रोजगार कार्यक्रमबाट बजेट परेको छ। बाँकी काम अब हामी गर्ने छौं।

उनका अनुसार जम्मा ३०५ जालीमध्ये १७० जालीको काम भएको छ भने डिल बहादुर खत्रीलाई दुई ठाउँका लागि ८४ वटा जाली सापट दिइएको छ। खत्रीले काम सुरु भएपछि जाली फिर्ता गर्ने जनाए।

रोकायाका अनुसार मुख्यमन्त्री रोजगार कार्यक्रमबाट स्कुलको फिल्ड मर्मत सँगै जाली लगाउन बजेट परेपछि उपभोक्ता समितिबारे विवाद उत्पन्न भएको छ। पुरानै समितिलाई निरन्तरता दिने या नयाँ समिति बनाउने भन्नेबारे विवाद देखिएको हो। 

उता भू–तथा जलाधार कार्यालयले भने २०६ वटा जाली लगाउन बाँकी रहेको भनी समितिबाट नै जानकारी आएको भन्दै जाली दुरुपयोग नगर्न र सम्बन्धित स्कुल र स्थानीय तहसँग समन्वय गरी उनीहरुको जिम्मा दिन निर्देशन दिएको थियो। 

तर उपभोक्ता समितिले जलाधार कार्यालयको निर्देशन नमानी मनोमानी रुपमा जाली सापट दिएको पाइएको हो। उपभोक्ता समितिले स्कुल वा स्थानीय तह कसैलाई जाली दिएको छैन। बरु अन्य उपभोक्ता समितिलाई सापट भन्दै दिइएको हो। फेरि त्यसमा नै बजेट परेपछि उपभोक्ता समितिका लागि हानथाप देखिएको छ।

‘हामीले पुरानै समितिबाट काम गरौं भनेका छौं, अरुले नयाँ समिति बनाउनुपर्छ भनेका छन्‘, रोकायाले भने, ‘कुरा मिल्न सकेको छैन।’

स्कुलका लागि योजना, स्कुललाई नै थाहा छैन

स्कुलको लागि पहिरो नियन्त्रण गर्ने योजनाको स्कुल प्रशासन र व्यवस्थापन समितिले आफूलाई काम शुरु नहुन्जेल सम्म थाहा नदिएको बताएको छ। स्कुलका प्रधानाध्यापक विनोद आदवले भने, ‘स्कुलको लागि पहिरो रोकथाम गर्ने काम राम्रो भए पनि स्कुलसँग समन्वय गरिएन, थाहै नदिएर काम गरियो। स्कुलले हस्तक्षेप गर्छ कि भन्ने होला, हामीलाई काम भए पुग्छ तर दुरुपयोग नहोस भन्ने हाम्रो चाहना हो।’ 

यादवले स्कुललाई जिम्मा दिएको भए दुरुपयोग नहुने बताए। ‘हामीलाई जिम्मा दिएको भए हामी उतिबेला नै काम सकिदिन्थ्यौं, काम सक्ने भन्दा पनि पैसा कसरी बचाउने भन्ने तिर समितिको ध्यान हुन्छ, कसलाई के भन्नु।’ 

माननीयका आसेपासेलाई मात्र आयोजना 

सुर्खेतको निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश 'ख' का प्रदेशसभा सदस्य तथा भौतिक पूर्वाधार पूर्वमन्त्री खड्क खत्रीको पुर्ख्यौली घर चिङ्गाडको  वडा नम्बर २ मा पर्दछ।

उनी आफू मन्त्री हुँदादेखि नै त्यस क्षेत्रमा नजिकका आसेपासेलाई मात्र आयोजना बाँडेको आरोप लाग्दै आएको थियो। यी उपभोक्ता समितिका अध्यक्ष उनकै गाउँका हुन्। माननीयको पहुँचमा ती आयोजनाको जिम्मा उनले पाएका थिए।

पूर्व मन्त्री खत्रीले नजिकका  ठेकेदारले काम नपाएको अवस्थामा भन्दै डिल बहादुर खत्रीलाई चिङ्गाड खोलाभरिको तटबन्धका लागि भन्दै उपभोक्ता समितिको अध्यक्ष बनाएर प्रदेश सरकारबाट ४२ लाख रकम विनियोजन गरेका थिए।

तर ४२ लाख सबै खर्च नभई १३ लाखको हाराहारीमा रकम खर्च भएको हो। त्यतै ठेकेदार खत्रीले भेरी बबई डाइभर्सनमार्फत परेको तटबन्धको समितिमा बसेर लाखौंको तटबन्धको काम गरेका छन्। 

खेत पनि राजनीतिको सिकार 

सरकार सबै जनताको हुन्छ। प्रतिपक्ष दललाई भोट हालेका जनताले पनि सरकारको विकासको अवसर बराबरी रुपमा पाउने गर्दछन्। तर डिल बहादुर खत्री अध्यक्ष भएको तटबन्ध बाँध्ने उपभोक्ता समितिले  आसपासका खेतलाई बाढीबाट रोक्न तटबन्ध गरेको देखिएको छ। 

त्यो समितिले आफ्ना नजिकका खेतमा मात्र तटबन्ध गरेर अन्य खेतलाई बीचमा खाली छोडिदिएको हो। एकतर्फबाट तटबन्ध गर्दै आउनुपर्नेमा स्वार्थका आधारमा खेतमा मात्र तटबन्ध गरिएको छ।

बीचमा तटबन्ध गर्न छुटाएका अरू किसानका खेत बाढीले बगाएको छ। फरक राजनीतिक धार भएका किसान कर्ण बहादुर घर्ती र मिलन रानाको खेतलाई बाढीले क्षति गरेको छ।

ती खेतको तलतिर र माथितिर तटबन्ध गरे पनि बाढीले क्षति गरेको खेतमा तटबन्ध नगर्दा बाढीले क्षति गरेको हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.