|

इलाम : इलामको आयोजनामा भइरहेको दोस्रो संस्करणको इलाम आमन्त्रण खुला पुरुष भलिबल प्रतियोगिता पहिलो दिन बुधबार विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब र गण्डकी प्रदेशले विजयी सुरुवात गरेका छन्।

जिल्ला भलिबल संघको आयोजनामा इलामको ठूलो टुँडिखेलमा सञ्चालन भइरहेको प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टोली त्रिभुवन आर्मीले तीन जना भारतीय राष्ट्रिय खेलाडी सम्मिलित विमान ट्रेडर्स विर्तामोडलाई ३–२ को सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा आर्मी २५–१७, १८–२५, २५–१८, २१–२५ र १५–८ ले विजयी बन्यो। लिक कम नकआउटको आधार सञ्चालित प्रतियोगिताको पहिलो सेट आर्मीले सहजै जित निकाल्यो।

२५–१७ ले विमान ट्रेडर्स पछाडी परेको थियो। तर दोस्रो सेटमा भने विमान ट्रेडर्सले आर्मीलाई १८–२५ ले हरायो। तेस्रो सेटमा आर्मी २५–१८ ले विजयी हुँदा चौथो सेट २१–२५ ले गुमाएको थियो। निर्णायक पाँचौ सेट आर्मीले १५–८ को सहज जितका साथ उपाधि यात्रालाई सहज बनायो। 

विभागीय डर्बी रहेको समूह ’बी’ को पहिलो खेलमा एपिएफले पुलिसलाई ३–२ को सेटमा हराएको थियो। एपिएफले २६–२४, २५–२२ ले सुरुवाती २ सेट जितेको थियो। तर तेश्रो र चौथो सेट १८–२५. १६–२५ ले एपिएफ पछि पर्दा निर्णायक पाँचौ सेट १५–१० आफ्नो पक्षमा पार्दै विजयी सुरुवात गरेको हो।

दिनको तेस्रो तथा समूह ’ए’ को दोस्रो खेलमा डिफेन्डिङ च्याम्पियन गण्डकी प्रदेशले गौरादह नगर खेलकुद विकास समितिलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको छ।

गण्डकीले २६–२४, २५–२१, २५–२१ ले हराउँदै विजयी सुरुवात गरेको हो। प्रतियोगिता दोस्रो दिन अर्थात बिहिबार पहिलो खेलमा आर्मी र गौरादह, दोस्रो खेलमा एपिएफ र दमक तथा तेस्रो खेलमा विमान ट्रेडर्स र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुने छ।

फागुन ४ देखि ८ गतेसम्म संचालन हुने प्रतियोगितामा ७ टोलीको सहभागिता छ। लिग कम नकआउटका आधारमा हुने प्रतियोगितामा सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, विमान ट्रेडर्स, गौरादह नगर खेलकुद विकास समिति र गण्डकी प्रदेश छन्।

समूह ‘बी’ मा नेपाल एपिएफ क्लब, नेपाल पुलिस क्लब र दमक नगर भलिबल क्लब छन्। समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछ। प्रतियोगिताको विजेताले २ लाख रुपैयाँ प्राप्त गर्नेछन्। दोस्रो हुने टोलीले १ लाख तथा तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ हात पार्नेछन्।

प्रतियोगिता १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन एवम सामाजिक विकास मन्त्री हिक्मतले कार्कीले मुख्य निर्णायकलाई बल हस्तान्तरण गर्दै खेलको उद्घाटन गरेका थिए।  

जग्गा व्यवस्थापन भए भलिबल कोर्टका लागि लगानी गर्छाैं : कार्की

कार्यक्रममा बोल्दै कार्कीले जग्गा व्यवस्थापन गरे इलाममा भलिबलको कभर्डहल र कोर्ट बनाउन प्रदेश सरकारबाट बजेट विनियोजन गर्ने प्रतिबद्धता जाहेर गरे। उनले कभर्डहल र भलिबल कोर्ट बनाउन जग्गा व्यवस्थापन गर्न इलाम नगरपालिका र जिल्ला समन्वय समितिलाई आग्रह गरे।  

‘यहाँ आएपछि मैले भलिबल मैदान कहाँ छ भनेर सोधे, भलिबल मैदान नै रहनेछ’, मन्त्री कार्कीले भने, ‘खेल मैदान बनाउन नगरपालिका र जिल्ला समन्वय समितिलाई जग्गा व्यवस्थापनको लागि आग्रह गर्छु, भलिबल कोर्ट बनाउन प्रदेश सरकारले बजेटको व्यवस्थापन गर्छ, बजेटका लागि संघीय सरकारसँग हामी समन्वय गर्छौं।’ उनले खेल क्षेत्रलाई प्रदेश सरकारले उच्च प्राथमिकता राखेको भन्दै लगानीको लागि कन्जुस्याइँ नगरिने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.