|

पर्वत : मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१७ हटिया घर भएका २७ वर्षीय विराज राईको दैनिकी दिनभर सडकमा डुल्दै गीत गाउने र केही रकम जम्मा पार्नु हो।

दृष्टिविहीन राईलाई सघाउन उनको साथमा मधु गौतम र दीपेन्द्र श्रेष्ठ पनि सँगै छन्। विराजको घरको आर्थिक अवस्था सामान्य छ। उनको परिवार जसोतसो दुई छाक खाने अवस्थामा छ।

रुकुम, बागलुङ, कास्कीलगायत जिल्लाका बजारहरूमा गीत गाइसकेका राई पर्वत सदरमुकाम कुस्मा बजारमा पनि भेटिए। उनले सडकमा राजेश पायल राईले गाएको गीत ‘दर्शन नमस्ते’ मा भावुक भएर गाइरहेका थिए। 

कसैले घरमा ठूलो आवाजमा राजेशको आवाजमा रहेको उक्त गीत बजाइरहेको जस्तो लाग्थ्यो। तर त्यो स्वर भने विराजकै थियो। राजेशकै जस्तै सुमधुर स्वर भएका विराजले सडकमा गाउँदै हिँड्नुको कारण परिवार पाल्न भने होइन।

केही समय अगाडि मात्रै उनले जसोतसो खर्च जुटाएर ‘यो सुन्दर संसार’ नामक गीत रेकर्ड गराएका छन्। दृष्टिविहीनहरुले कस्तो चाहना राखेका हुन्छन् भन्ने भावना समेटिएको गीतका लागि म्युजिक भिडियो निर्माणकै लागि हेटौँडादेखि विभिन्न जिल्ला घुम्ने क्रममा राई छन्। 

उनी आफैंले गाएको गीत सडकमा गाइरहेको सुन्दा धेरैको मन पनि भक्कानिएको देखिन्थ्यो। एउटा दृष्टिविहीनले सडकको पेटीमा मूर्तिजस्तै उभिएर उनको गीत सुनिरहेका थिए। 

जन्मजात दृष्टिविहीन भएपछि आँखाको ज्योति फर्काउन सम्भव नरहेको भनी चिकित्सकले बताएकाले यसकै लागि कहीँ पनि पैसा सहयोग नमागेको, बरु आफूभित्र रहेको कला देखाउन लामो दूरीको यात्रा तय गरेर विभिन्न जिल्लामा घुमिरहेको विराज बताउँछन्।

‘म जन्मजातै दृष्टिविहीन हुँ, मेरो आँखाको भित्री नसा पूरै सुकेको छ भनेर डक्टरले भन्नुभको छ,' उनले भने, ‘आँखाको ज्योति नफर्किने भए पनि मभित्र रहेको कलाको ज्योति भने बाहिर ल्याउन चाहन्छु। यही गीतको भिडियो बनाउने खर्च जुटाउन यसरी डुलिरहेको छु।’ 

विराजको साथमा रहेका सहयोगी दीपेन्द्रका अनुसार उनका बुबाको मृत्यु भइसकेको छ भने आमाले जसोतसो घरधन्दा चलाइरहेकी छन्। विराजको अवस्था देखेपछि कसैले सहयोग गरे भने त्यो पैसा पनि घर व्यवहार चलाउन प्रयोग हुने उनको भनाइ छ।

‘परिवारमा ममी र दाइ मात्र हुनुहुन्छ। घर व्यवहार चलाउन पनि कठिन भइरहेको अवस्था छ,’ दीपेन्द्रले भने, ‘सामान्य परिवार हो। अहिले पनि अरूको खेत कमाएर भोक टार्ने काम भइरहेको छ। गीतप्रति विराजको लगाव देखेर उसको सपना साकार पार्नकै लागि हामी साथीहरू पनि सँगै डुलिरहेका छौँ।’

सामान्य साक्षर मात्र रहेका विराजलाई अब पढ्न मन लागेको छैन। पढ्नुपर्ने उमेरमा पढ्न नपाएपछि अब पढेर खासै अर्थ नभएको बरु आफ्नो रुचि गायनमा नै रहेकोले कसैले त्यसमा सघाइदिए अगाडि बढ्ने चाहना आफूले राखेको उनी बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.