खेलाडीको विषय अझै अन्योल

|

इलाम : अंग्रेजीमा एउटा उखान छ ‘वान फुट केन नट स्टेन्ड इन टु बोट्स’ अर्थात ‘एउटा खुट्टाले दुईवटा डुङ्गामा उभिन सकिँदैन’।

तर पछिल्लो समय नेपाली फुटबलमा भने यो भनाइविपरीत भइरहेको पाइन्छ। सन्दर्भ हो नेपाल सुपर लिग (एनएसएल) को। भारतमा आयोजना भइरहेको इन्डियन सुपर लिग (आइएसएल) को लोकप्रियतालाई देखेर फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) आयोजना अघि बढ्यो।

२०७५ सालमा नै अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा चौधरी ग्रुपमा निर्वाण चौधरी अध्यक्ष रहेको नेपाल स्पोर्टस एन्ड म्यानेजमेन्टले प्रतियोगिता आयोजना गर्ने सम्झौता गरेको थियो।

तर केही प्राविधिक समस्या र कोरोना कहर सुरु भएपछि प्रतियोगिता हुन सकेन। आगामी वैशाख ११ गतेबाट दशरथ रंगशालामा प्रतियोगिता सुरु हुने गरी एन्फा र नेपाल स्पोर्टस पुनः सम्झौता गरेर अघि बढेका छन्।

तर प्रतियोगिता मिति नजिकिँदै जाँदा एन्फाभित्रै प्रशिक्षक सिफारिसको विषयलाई लिएर अन्तरविरोध देखिएको छ।

नेपाली राष्ट्रिय पुरुष टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले एन्फाको स्वीकृतिमा अक्सन प्रक्रियामा गएको बताए पनि एन्फाका टेक्निकल कमिटी प्रमुख कृष्ण थापाले यसबारे आफूलाई थाहा नभएको बताए।

‘राष्ट्रिय टोलीको बहालवाल प्रशिक्षक नैतिकताको आधारमा पनि राष्ट्रिय टोलीबाहेक अन्य क्लब वा टिममा सम्झौता गरेर बस्न मिल्दैन।’ थाहाखबरसँग कुरा गर्दै थापाले भने, ‘म टेक्निकल कमिटीको चेयरमेन हो तर केन्द्रीय कमिटीबाट बालगोपाललाई अक्सनमा सहभागिताका लागि सिफारिस गरिएको छैन। उहाँलाई कसले सिफारिस दियो मलाई थाहा छैन। प्रशिक्षकहरु सिफारिस गर्नुपर्‍यो। भने त्यो काम टेक्निकल कमिटीको हो। अब मलाई नसोधी एन्फा सचिवालयले चिठी दियो भने मलाई जानकारी भएन।’ 

७ वटा फ्रेन्चाइजी टोलीमा प्रशिक्षकको रुपमा १२ जनाको नाम चर्चामा छ। जसमा एन्फाका वर्तमान उपाध्यक्ष उपेन्द्रमान सिंह, राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जन, प्रशिक्षक किरण श्रेष्ठ र महिला विभाग प्रमुख हरि खड्कासमेत छन्।

यद्यपि उनीहरुले अहिलेसम्म कुनै फ्रेन्चाइज टिमसँग सम्झौता गरिसकेका छैनन्। चर्चामा नआएका मनाङका पूर्वप्रशिक्षक नाइजेरियन नागरिक फुजा तोपेले धनगढी एफसीसँग आज मात्रै सम्झौता गरे।

यसअघि एफसी चितवनले थ्रीस्टारका पूर्वप्रशिक्षक मेघराज केसीलाई अनुबन्ध गरिसकेको छ। 

राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक बालगोपाल मर्हजनलाई सम्पर्क गर्दा आफूले फ्रेन्चाइज लिगको अक्सनमा सहभागिता जनाएको स्विकार गरे। उनले एन्फासँगको परामर्शमा अक्सनमा सहभागी भएको बताए। ‘तत्काल फ्रेन्चाइज लिग हुने हैन। थ्री नेसन लिग सकिएपछि मात्र सम्झौता हुने हो। त्यसमा एन्फाबाट स्वीकृति लिएर आबद्ध हुने हो।’

भर्खरै मात्र उनले काठमाडाैं रेजर्ससँग सम्झाैता गरेका छन्। उनले राष्ट्रिय टोली छनोटमा नातावाद र कृपावाद हाबी हुन नदिने बताए। ‘मैले विगत लामो समयदेखि हरेक खेलाडीहरुको प्रदर्शन हेरिरहेको छु,' काठमाडाैं रेजर्ससँग आबद्ध हुनुअघि उनले भनेका थिए, 'फ्रेन्चाइज लिगमा जुन क्लबमा रहे पनि विश्वकप छनोट र अन्य प्रतियोगिताका लागि खेलाडी छनोट निष्पक्ष हुनेछ।’

अक्सनको लागि नाम चर्चामा आएका एन्फा उपाध्यक्ष उपेन्द्रमान सिंहले आफू अक्सनमा सहभागी नहुने बताए। उनले एएफसी ए लाइसेन्स पाउने पहिलो ब्याचको रुपमा नाम प्रस्ताव भए पनि नैतिकताका आधारमा फ्रेन्चाइज क्लबको प्रशिक्षक बस्न नमिल्ने बताए।

‘ ए लाइसेन्सबला सबै प्रशिक्षकहरुको नाम पठाएको हो। ए लाइसेन्स पाउने पहिलो ब्याचको भएको हिसाबले मेरो पनि पठाइएको रहेछ,’ उनले भने, ‘मलाई अफरचाहिँ आएको हो, तर एन्फाको उपाध्यक्ष भएको हिसाबले मैले यो काम गर्नुहुन्न भनेर अस्विकार गरेकै हो।’

उनले प्रशिक्षकको रुपमा नभई एन्फा उपाध्यक्षको रुपमा प्रतियोगिताको प्राविधिक पाटोमा सहयोग गर्ने बताए। ‘प्राविधिक रुपमा खेलकुद परिषदको जागिर छाडेर एन्फा उपाध्यक्षमा आएको म फेरि पनि फ्रेन्चाइज लिगमा कोचमा जानुहुन्न भनेर छाडेको हो। प्रतियोगिता सम्पन्न गर्न आवश्यक पर्ने सहयोगको लागि तयार नै रहन्छु।’ 

लिगमा राम्रा खेलाडीको जमघट र प्रचुर आम्दानी हुने देखेपछि व्यपारिक समूहले अक्सनको आधारमा खेलाडी अनुबन्धन प्रक्रिया बढाइएको छ। देशका ७ वटा मुख्य सहरका ७ वटा टिमको नाम र मालिकहरु सार्वजनिक हुनुका साथै मार्की प्लेयर सार्वजनिक हुने क्रम छ। केहीले प्रशिक्षकको नामसमेत सार्वजनिक गरिसकेका छन्। 

खेलाडीको विषय अझै अन्योल

एन्फाले विश्वकप छनोटका लागि क्लोज क्याम्पमा राखेका ३१ जना खेलाडीलाई ए श्रेणीमा राखेर अक्सनमा सहभागी गराउने भएको छ। तर शुक्रबार हुने भनिएको अक्सनको अघिल्लो दिनसम्म पनि खेलाडीहरु भने यस विषयमा अनभिज्ञ छन्।

फ्रेन्चाइज लिगका लागि एन्फाले हाल १४ ‘ए’ डिभिजन क्लबबाट उत्कृष्ट १ सय ४० खेलाडी अक्सनका लागि उपलब्ध गराउने बताइएको थियो। एन्फाले अफ सिजन विन्डोमार्फत खेलाडीहरुलाई फ्रेन्चाइज क्लबमा अनुबन्धमा पठाउने बताउँदै आएको छ। खेलाडीको जिम्मेवारी एन्फाले लिने भनिए पनि उनीहरु र एन्फाबीच कुनै किसिमको सम्झौता नभएको कारण खेल्ने नखेल्ने निर्णय खेलाडीमा निहित हुनेछ। 

एन्फा पदाधिकारी नै असन्तुष्ट

अक्सन प्रक्रियामा रहेका १२ जना प्रशिक्षकको नाम बाहिर आएपछि एन्फाभित्रैकै पदाधिकारीहरु समेत असन्तुष्ट बनेका छन्। एन्फा उपाध्यक्ष पंकज विक्रम नेम्बाङले प्रशिक्षक छनोट प्रक्रियामा असन्तुष्टि जनाए।

विभिन्न सञ्चारमाध्यममा नाम सार्वजनिक हुन थालेपछि नेम्वाङले असन्तुष्टि व्यक्त गर्दै भने, ‘ विश्व फुटबलमा कहीँ पनि नभएको नेपाली फुटबलमा देखिनु आफैंमा गम्भीर छ। यसले नेपाली फुटबलको स्तरमाथि नै प्रश्न खडा गरेको छ। राष्ट्रिय टिमको जिम्मेवारीमा रहेका प्रशिक्षक र पदाधिकारी आफ्नो टोलीलाई बलियो बनाउनुको साटो अरुतिर ध्यान दिनु हुँदैन।’ 

एउटै व्यक्तिले सबैतिर पदको लाभ लिन खोज्दा नै नेपाली फुटबलले विकास लिन नसकेको पंकजको धारणा छ। ‘ए डिभिजन लिग जिताएको प्रशिक्षक प्रवेश कट्वाल अक्सनमा नपर्नु उनीभन्दा पछिका प्रशिक्षकहरु समावेश हुनु आफैंमा शंकास्पद छ। राष्ट्रिय टोलीको जिम्मेवारीमा परेका प्रशिक्षकहरुलाई अक्सनमा सहभागी नहुँदै राम्रो हो। यसले फुटबलमा गलत सन्देश प्रवाह गर्छ,’ नेम्बाङले भने, ‘एन्फाको जिम्मेवारीमा रहेका व्यक्तिहरु मैदानबाहिर बसेर खेलाडीको जर्जमेन्ट गर्ने हो।’ 

यता एन्फाका महासचिव इन्द्रमान तुलाधरले देशभरबाट ए लाइसेन्स पाउने ३५ जना प्रशिक्षकहरुको नाम आयोजकलाई पठाएको बताए। उनले प्रशिक्षकहरुलाई छानेर नभई एकमुष्ट रुपमा नाम पठाएकोमा आयोजकहरु आफैंले छानेको बताए। ‘हामीले देशभरका ३५ जना प्रशिक्षकहरुको नाम पठाएको हो। त्यसमध्ये उनीहरुले छान्ने हो हामीले छानेर पठाइदिएको हैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.