जडिबुटी अभाव भएपछि सरकारी स्वामित्वप्राप्त संस्थाबाट खरिद गरिने

|

काठमाडौं : सिंहदरबार वैद्यखानामा जडिबुटी अभाव भएपछि आयुर्वेद औषधि उत्पादन रोकिएको छ। 

समय-समयमा कार्यालय प्रमुख परिवर्तन हुनु, कर्मचारी परिवर्तनको झमेला रहनु, समयमा आर्थिक कारोबार गर्न नसक्दा र जडिबुटी आयातको लागि टेण्डर गर्न नसक्नु पनि औषधि उत्पादन गर्न नसक्नु मुख्य कारण रहँदै आएको छ।

जडीबुटी आयात गर्न टेण्डरमा लगाएका ठेकेदारले समयमा पुर्‍याउन नसक्दा उत्पादन हुन नसकेको वैद्यखानाले जनाएको छ।

कोभिड महामारी सुरु भएपछि आयुर्वेद औषधिको माग बढे पनि उत्पादन गर्न नसक्दा बजारमा वैद्यखानाबाट उत्पादित औषधि बजारमा पर्याप्त मात्रामा जान सकेको छैन।

करिब डेढ करोडको आयुर्वेद औषधिको कच्चा मालको लागि टेण्डर आह्वान भए पनि हालसम्म ६० लाखको सामग्री प्रदान गरेको वैद्यखानाका एक कर्मचारीले बताए। सम्झौता मितिअगावै जडिबुटी पुर्‍याउनुपर्ने ठेकेदारले कच्चा सामग्री पुर्‍याउने भए पनि हालसम्म ४० प्रतिशत मात्र वैद्यखानामा लगेका छन्। चैत मसान्तसम्मका लागि वैद्यखाना र ठेकेदारबीच सम्झौता भएको थियो।

जडीबुटी अभावले उत्पादन घटेको थियो

ठेकेदार कम्पनीले वैद्यखानाको मागबमोजिम जडिबुटी आयात गर्न नसक्दा औषधि उत्पादन गर्न नसकिएको वैद्यखानाको स्रोतले जनाएको छ। 'मागबमोजिम  कच्चा पदार्थ अहिलेसम्म उपलब्ध गराउन नसक्दा उत्पादन रोकिएको छ,' नाम नबताउने सर्तमा ती कर्मचारीले भने, 'कोरोना महामारीमा सबैभन्दा बढी वैद्यखानाको औषधिको माग थियो। तर, बजारको मागबमोजिम हामीले उत्पादन गर्न सकेनाैं।'

वैद्यखानामा जडीबुटी अभाव भएकोले कोटेश्वर–जडीबुटीबाट कच्चा पदार्थ आयात गरेर औषधि उत्पादन गरिएको उनले जानकारी दिए।

अमला, हर्रो, बर्रो, अदुवा, मरिच, अश्वागन्धा, तेजपात, धनियाँ र मरिचलगायत अन्य जडिबुटीका लागि टेण्डर आह्वान भएको थियो। वैद्यखानामा जडीबुटी अभाव हुँदा केही महिनादेखि यता कारखानाबाट औषधि निर्माण हुन नसकेको उनले जानकारी दिए।

टेण्डर लगाउने तर, जडिबुटी आयातकर्तासँग आयुर्वेदको कच्चा सामग्री नलिने गर्दा कारखानामा समस्या हुने गरेको कर्मचारी बताउँछन्।

गत आवमा करिब साढे २ करोडको आयुर्वेदिक औषधि बिक्री गरेको थियो। वैद्यखानाबाट मागबमोजिम औषधि बजारमा पठाउन नसक्दा आम्दानी घट्दै गइरहेको वैद्यखाना स्रोतले बताएको छ।

'मागअनुसार उत्पादन गर्न सकिएन'

वैद्यखाना विकास समितिका अध्यक्ष डा बाबुराजा अमात्य पनि समितिले भनेजस्तो औषधि उत्पादन गर्न नसकेको स्विकार्छन्। विगत वर्षजस्तो बजारको मागलाई धान्न नसकिएको पनि उनले बताए। 

'औषधिका लागि समयमा कच्चा सामग्री आउँदैन। टेण्डर लगाउन सकिएको छैन,' डा अमात्यले भने, ' वैद्यखानाका निर्देशक हेरफेरमा मुद्दा चलिरहँदा पनि सहज ढंगले काम गर्न पाएका छैनाैं।' समयमा रकम निकासी नहुँदा पनि यस्तो भएको उनले बताए। 

जडिबुटी अभाव हुन थालेपछि सरकारको स्वामित्व रहेको ठाउँबाट खरिद गर्ने तयारी रहेको उनको भनाइ छ। सिलाजित र अन्य जडिबुटीका कच्चा सामग्री सरकारकै अन्य संस्थासँग खरिद गरेर काम चलाउन थालिएको उनले प्रस्ट पारे।

नयाँ औषधि उत्पादन गर्ने कुनै योजना नरहेको उनी सुनाउँछन्। पहिले वैद्यखानालाई कार्यकारी प्रमुखको जरुरी रहेको उनले सुनाए। उत्पादन भइरहेका औषधिलाई निरन्तरता दिन नसकिरहेको उनको भनाइ छ।

सिलाजित र च्यवनप्रास जस्ता औषधिको माग बढी रहेकाले त्यस्ता औषधिलाई उत्पादन पहिलो प्राथमिकतामा रहेको अमात्यले बताए।

'समयमा ढुवानी गरेका छौं'

लामो समयदेखि वैद्यखानामा आयुर्वेदको कच्चा पदार्थ ढुवानी गर्दै आएका न्यू लक्ष्मी सप्लायर्सका निर्देशक मनश्याम विष्टले वैद्यखानासँग सम्झौता भएबमोजिम आवश्यक कच्चा सामग्री पुर्‍याउने काम गरेको बताए। स-साना जडीबुटीको ठेक्का लिएकाले त्यसलाई समयमा पुर्‍याउने काम गरेको उनको भनाइ छ।

वैद्यखानासँग सम्झौता गरेभन्दा कम सामग्री नलगेको उनको भनाइ छ। अमला र चियाजस्ता अन्य कच्चा जडीबुटी सामग्री करिब-करिब लगेर दिइसकेको उनको दाबी छ।

वैद्यखाना,अभिपतिकर्ण, त्रिफला,अश्वागन्धा, चूर्ण,च्यवनप्राश, तुलसी चिया, सिलाजितजस्ता अन्य जडीबुटी बिक्री हुने गरेको छ।

समितिले देशमा उपलब्ध प्राकृतिक जडीबुटी प्रयोग गरी १ सय ८५ प्रकारका आयुर्वेदिक औषधिको उत्पादन गर्दै आएको छ। सिंहदरबार वैद्यखानाले २०५२ सालदेखि समितिमार्फत यसलाई सञ्चालन गर्दै आएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.