|

मुगु : मुगु र हुम्लाबीचमा रहेको कर्णाली नदीमा बेलीबिज्र बन्ने भएको छ। छायानाथ रारा नगरपालिकाले आगामी असारभित्रै सम्पन्न गर्ने गरी पुल निर्माण गर्न लागेको हो।

छायाँनाथ रारा नगरपालिका वडा नम्बर ३ र १३ वडाको संगम भएर बग्ने कर्णाली नदीको भट्टेचौरमा पुल निर्माण हुनेछ। बुधबार नगर प्रमुख हरिजंग शाहीले पुलको शिलान्यास गरे।

ग्रामीण पहुँच कार्यक्रम (र्‍याप ३)ले मुगुको सदरमुकाम गमगढीदेखि हुम्लाको चंखेली गाँउपालिकाको देउलीसम्म सडक निर्माण गरिसकेको छ। तर‚ कर्णालीमा पुल नहुँदा यो सडक सञ्चालनमा समस्या हुँदै आएको छ।

पुल निर्माणका लागि जलब रवि चक्र जेभी निमार्ण कम्पनीले नगरपालिकासँग सम्झौता गरिसकेको निर्माण कम्पनीका प्रतिनिधि बखतबहादुर मल्लले बताए। पाँच करोड २० लाख ५५ हजार ९०२ रुपैयाँको लागतमा बन्ने यो बेलीब्रिजको लम्बाइ ५५ मिटर रहने प्राविधिक रतनबहादुर खड्काले जानकारी दिए।

नगरप्रमुख शाहीले साविकको जिल्ला विकास समितिले पक्की पुल निर्माण गर्न ठेक्का लगाई पुल बनाउने काम होल्ड गरेकाले पुनः प्रकृयामा जान कानुनी समस्या परेको बताए। त्यो पुल नबनुन्जेल अस्थायी बेलीब्रिज राख्न गत वर्ष नै नगरसभाले बजेट विनियोजिन गरेका शाहीको भनाइ छ।

गमगढीदर्के खोलासम्मको २६ किमी सडक प्रदेश सरकारलाई हस्तानतरण भैसकेको र आगामी ३ महिनाभित्र चंखेलीसम्मको सडक पनि हस्तान्तरणको चरणमा रहेका बताइएको छ। ट्रयाक खनिएको वर्ष दिनभन्दा बढी भइसक्दा पनि नदीमा पुल नहुँदा कर्णाली नदीपारिका रुगा, थार्प, लुम, बाम, लह, लापु थार्प र हुम्लाको तल्लो भेगका बासिन्दाले समस्या झेल्दै आएका छन्। सडक भएर पनि गाउँमा कोही बिरामी हुँदा वा प्रसूतिका लागि तीन घण्टा बोकेर जिल्ला अस्पताल मुगु मा पुर्‍याउन बाध्यता छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.