|

- मधुकर खड्का

मेरो एक्लो जुलुसमा
तिमी छैनौ
तिम्रा झण्डाहरू छैनन्‌
तिमीले लगाउने नाराहरू छैनन्,
जिन्दावाद र मुर्दावाद त छँदै छैन

मेरो एक्लो जुलुसमा 
अघिपछि पुलिसहरू छैनन्‌
पत्रकारहरू पनि छैनन्‌
छैनन्‌ गालीका बर्षाहरू
न त छन्‌-
उन्माद चढेका कार्यकर्ताहरू 
त्यसैले छैन सडकमा जाम

मेरो एक्लो जुलुस
अघि बढिरहेछ समयको बक्ररेखा झेल्दै
मेरा आफ्नै मागहरू छैनन्‌
छैन विरोध कार्यतालिका 
र पनि, सडकहरूमा
म एक्लै एक्लै जुलुस लगाइरहेछु 

मेरो जुलुसमा म एक्लो देखिन्छु
तर म एक्लो छैन 
छन्‌ दु:खीका आँशुहरू 
भत्किएका सपनाका लामहरू
​तीनपुस्ते विश्वासघातका हिसाबहरू
तिनले दिएका आश्वासनका भकारीहरू 

यहाँ हरेक जुगमा हरेकचोटि
तमाम मान्छेहरूसँग 
एउटा जुलुस 
एउटा मान्छे 
आन्दोलन गरिरहन्छ !

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.