कोभ्याक्सले दोस्रो चरणमा दिने खोप पनि आगामी हप्ता आउने

|

काठमाडौं : चीनले अनुदान स्वरुप दिएको पाँच लाख कोरोनाविरुद्धको खोप ल्याउन सरकारले आगामी साता चार्टर विमान पठाउने भएको छ।

चीनले गत माघ २४ मा अनुदान स्वरूप पाँच लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको थियो। उक्त खोप ल्याउन नेपाल एयरलाइन्सको विमान चार्टर गरेर पठाउन लागिएको स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखा अन्तर्गत रहेको आपूर्ती शाखाका प्रमुख उपेन्द्र ढुंगानाले बताए।

उनले भने‚ ‘कुन दिन जाने भन्ने कुरा सायद भोलि टुंगो लाग्ला तर आगामी साता चीनले दिने भनेको खोप लिन जाने तयारी छ।‘

नेपालमा चीनको सिनोफार्म कम्पनीको ‘भेरो सेल’ नामक खोपलाई आपतकालीन प्रयोगको लागि अनुमति दिइएको छ।

कोभ्याक्सले दोस्रो चरणमा दिने खोप पनि आगामी साता आउने

यस्तै‚ भ्याक्स फ्यासिलिटीमार्फत पनि यो महिनाभित्र दोस्रो चरणको खोप आइपुग्ने बताइएको छ। दोस्रो चरणमा ६ लाख डोज खोप कोभ्याक्सले पठाउने जानकारी दिएको ढुंगानाले बताए।

उनका अनुसार मेभित्र १६ लाख खोप पठाउने र मार्चभित्र दोस्रो चरणमा ६ लाख खोप आउने छ। उनले भने‚ ‘लिखित पत्र त आएको छैन तर मौखिक जानाकारीमा कोभ्याक्सले पनि आगामी साता ६ लाख डोज खोप पठाउने बताएको छ।‘ कोभ्याक्सले पहिलो चरणमा गत फागुन २३ मा तीन लाख ४८ हजार डोज खोप पठाएको थियो।

कोभ्याक्सले कुल जनसंख्याको २० प्रतिशतलाई निःशुल्क खोप उपलब्ध गराउने प्रतिवद्धता गरेको छ।  त्यस अनुसार नेपालले ६० लाखभन्दा धेरै जनताका लागि कुल एक करोड २० लाख डोज खोप निःशुल्क पाउने छ। तर, मागअनुसार उत्पादन हुन नसकेकाले विभिन्न चरणमा खोप उपलब्ध गराउने योजनामा कोभ्याक्स लागेको छ।

खोप बनिसकेपछि धनी तथा गरिब देशहरूले समुचित रुपमा पाऊन् भनेर विश्व स्वास्थ्य संगठन, युनिसेफ, विल एण्ड मिलिन्डागेट्स फाउन्डेशन, विश्व बैंक लगायतका विभिन्न १० वटा संस्थाको सहकार्यमा बनेको गाभी एलायन्सले ‘कोभ्याक्स एसोसिएसन’ निर्माण गरी खोप वितरण गर्न थालेको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.