|

काठमाडौं : छिमेकी देश भारतमा कोरोना संक्रमणको दोस्रो लहर देखिन थालेसँगै नेपालमा पनि विज्ञहरूले चिन्ता व्यक्त गर्न थालेका छन्। पछिल्लो समय नेपालमा भिडभाड र मानिसको चहलपहल बढ्नुले कोरोना त्रास हराउँदै गएको महशुस हुन थालेको छ। केही समय अघिसम्म एक्लै हुँदा पनि अनिवार्य मास्क लगाउनेहरू अहिले भीडभाडमा पनि खुलेआम हिँडिरहेका छन्। 

सार्वजनिक यातायात, सभा, जुलुसहरूमा पनि बिनामास्कका मानिस थुप्रै भेटिन्छन्। यहि समयमा संक्रमणको दोस्रो लहर सुरु भए भयावह बन्नसक्ने चिन्ता विज्ञहरूको छ। भारतमा केही दिनयता कोरोना संक्रमणको दर बढिरहेको छ। कोरोनाको दोस्रो लहर सुरु भएकाे भन्दै फेरि लकडाउन गर्ने चर्चाले भारतमा रहेका नेपालीहरु धमाधम घर फर्कन थालेका छन्।

भारतले पुनः संक्रमितको संख्या वृद्धि भएसँगै महाराष्ट्र, मध्यप्रदेश, गुजरातमा बुधबारदेखि रात्रीकालीन कर्फ्यू जारी गरिसकेको छ। महाराष्ट्र, तमिलनाडू, पञ्जाब, मध्यप्रदेश, दिल्ली, कर्नाटक, हरियाणा, गुजरातलगायतका राज्यमा पछिल्लो समय संक्रमितको संख्या एक्कासी बढेपछि मानिसको चहलपहलमा कडाई गरिएको छ।

मानिसको ओहोरदोहोर बढेपछि कोरोना त्रास पुनः बढदै गएको छ। विगतको तुलनामा संक्रमितको संख्या कम भएपनि कोरोनाको उच्च जोखिम रहेको छ। भारतमा संक्रमण दर बढ्नु भनेको नेपालमा संक्रमण बढने सम्भावना रहँदै गएको निश्चित सिमा खुला गरेर कोरोना परीक्षणको रिपोर्ट देखाएर मात्र नेपाल गर्न दिनुपर्ने स्वास्थ्य विज्ञहरुले बताएका छन्।

संक्रमण घट्दैमा जाेखिम कम हुन्न

विगतको इतिहासलाई हेर्दा भारतमा कोरोना संक्रमण बढेसँगै नेपालमा पनि संक्रमितको संख्या बढदै गएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका भाइरोलोजिस्ट डा. शेरबहादुर पुन बताउँछन्। एक वर्षमा कोरोनाबाट भएका क्षतिबाट पाठ सिक्न उनले आग्रह गरेका छन्। दोस्रो चरणको भाइरस देखिने वा नदेखिने भन्नलाई सम्पूर्ण कुरा भारतमा बढेको कोरोनालाई लिएर अनुमान गर्न सकिने उनले बताए। भारतमा संक्रमण बढेको छ।

'समयमा सचेत भएर यसका नियन्त्रणका उपायहरु के-के हुन सक्छन त्यसको खोजी गरिनुपर्छ,'पुनले थाहाखबरसँग भने,'अहिले पनि भारतबाट आएका मानिसलाई क्वारेन्टाइमा राख्नुपर्छ। स्थानीय सरकारले सबैभन्दा बढी योगदान दिनुपर्छ। हरेक वडामा जनप्रतिनिधि हुन्छन् तिनीहरुले अनुगमन गरी बाहिरबाट आएका मानिसलाई क्वारेन्टाइनमा राखी परीक्षण पोजेटिभ देखिएमा उपचार गरिहाल्नुपर्दछ।'

अहिले कोरोना परीक्षण गर्न विदेश जानेहरू मात्र आउने गरेको उनले जानकारी दिए। लक्षण नभएकालाई कोरोना पुष्टि भइरहेको उनले सुनाए।

सिमामा रहेका मुख्य सहरमा विशेष सुरक्षा अपनाउन उनले सुझाव दिएका छन्। संक्रमण नियन्त्रण गर्न लकडाउन हतियार नभएको उनको तर्क छ। संक्रमण बढेको ठाउँ हेरेर मात्र लकडाउन गरी संक्रमितलाई आइसोलेसनमा राख्ने तयारी गर्नुपर्ने उनले बताए।

कोरोना संक्रमितको संख्या मात्र घट्दैमा यसको जोखिम भएको मान्न नसकिने पुनको ठहर छ। संक्रमितको संख्या घट्दा स्वास्थ्य मापदण्ड पालना गर्न बिर्सन नहुने उनको भनाइ छ। सकारले खोपमा ध्यान लगाएकाले कोरोना नियन्त्रणमा खासै ध्यान नदिएको उनको आरोप छ।

उनले कोरोना संक्रमण फैलनुभन्दा अन्य तयारीमा ध्यान दिन सरकारलाई सुझाए। 'कोभिड अस्पतालमा आइसियु सहितको बेड निर्माण गरिनुपर्छ,' डा.पुनले भने,' सरकारीस्तरबाट कोभिडबाट सुरक्षित रहन विभिन्न कार्यक्रम चलाइनुपर्छ।' 

'भारतबाट आएकालाई क्वारेन्टाइनमा राखौं'

छिमेकी मुलुकमा संक्रमण बढ्दै गर्दा निश्चित सिमाबाट आवतजावत गर्ने व्यवस्था मिलाउन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा. बासुदेव पाण्डे बताउँछन्।

उनले भने, 'भारतबाट आएका प्रत्येक मानिसको पिसिआर परीक्षण हुनुपर्छ। नेपाल आउन चाहनेले रिपोर्ट नेगेटिभ देखाउनुपर्छ। जुन सिमाबाट बढी मानिस आउँछन् त्यस सिमामा क्वारेन्टाइन बनाएर राख्नुपर्छ। परीक्षण गरेर मात्र घर जान दिनुपर्छ।' दोस्रो चरणको कोभिड वेभ देखिन नदिन अहिलेदेखि सरकार गम्भीर हुनुपर्ने उनको भनाई छ।

भारतमा भेरियन्टसँग भाइरस देखिएकोले उताबाट आएका मानिसलाई उच्च सतर्कताका साथ राख्नलाई पनि उनले सुझाएका छन्। सरकारले समयमा सतर्कता अपनाइ केही दिनयता भित्रिएका मानिसलाई क्वारेन्टाइनमा राख्नुपर्ने उनको भनाइ छ।

महामारीको कहिले पनि अन्त्य नहुने उनको दाबी छ। एक-दुई वर्षमा पनि महामारी देखिनसक्ने भएकाले सरकारले महामारी नियन्त्रण गर्न योजना बनाएर काम गर्नुपर्ने उनको भनाइ छ। यसको लागि छुट्टै बजेट निर्माण गरी कार्यक्रम ल्याउनुपर्ने उनको माग छ।

पाण्डेले महामारी नियन्त्रणका लागि विषयविज्ञ नियुक्त गरेर काम गर्नुपर्ने धारणा व्यक्त गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.