|

म्याग्दी : तत्कालिन विद्रोही नेकपा माओवादीले म्याग्दी सदरमुकाम बेनी आक्रमण गरेको चैत ७ गते आज १७ वर्ष पुगेको छ।  माओवादी र  सेनाबीच २०६० चैत ७ गते बेनी भिडन्त भएको थियो।

उक्त आक्रमणमा ठूलो जनधनको क्षति भएको थियो। घट्ना भएको समय जति घर्किँदै छ, त्यति नै उक्त घट्नाका प्रमाणहरू पनि हराउँदै गएका छन्। उक्त घटनाको एकमात्र जिउँदो साक्षीको रुपमा रहेको युद्धपोल पनि बेनीमा छैन।

बिद्रोही र सरकारी सेनाबीच भएको भिडन्तमा सयौं गोली लागेर छियाछिया बनेको बिजुलीको( खम्बा ) पोल पनि ललितपुर पुर्याइएको छ। युद्धका अवशेषहरू हराउँदै जान थालेको बेलामा नयाँ पुस्ता र विदेशीलाई युद्ध संग्रहालय मार्फत आकर्षित गर्न सकिने ऐतिहासिक महत्व बोकेको पोल ललितपुरबाट फिर्ता ल्याउन सकिएको छैन।

बेनीको मंगलाघाट जाने बाटोमा तत्कालिन सेनाको ब्यारेक अगाडि दोहोरो भिडन्तमा गोली लागेर छियाछिया बनेको पोललाई मानव अधिकारकर्मी कनकमणि दीक्षितले तत्कालिन विद्युत प्राधिकरणका कर्मचारीहरूको मिलेमतोमा रातारात काठमाडौं पुर्याएको स्थानीयको आरोप छ। पोल अहिले पाटनढोका स्थित मदन पुस्तकालय गुठीको हाताभित्र रहेको यलमाया केन्द्रमा छ।

पोल फिर्ता गर्ने विषयमा मदन पुस्तकालय गुठी सकारात्मक रहेको धौलागिरि पर्यटन परिषद्का अध्यक्ष अमर बाँनियाले बताए। जिल्ला समन्वय समितिको आग्रहमा युद्धपोलको खोजी गर्न ललितपुर पुगेका बाँनियाले दिक्षितलाई भेटेर समन्वय समितिको पत्र बुझाएका थिए।

जनप्रतिनिधिले युद्ध पोल फिर्ता ल्याउन पहल भइरहेको बताए पनि ठोस पहल गर्न नसकेको जनगुनासो छ। जिल्लामा युद्ध संग्रहालय बनाउने कुरासमेत समयसमयमा उठ्छ। इतिहासको साक्षी र प्रशस्तै पर्यटकको ध्यान खिच्न सक्ने युद्ध पोललाई आफ्नो ठाउँमा ल्याउन नसक्ने जनप्रतिनिधिहरूप्रति जिल्लावासी आक्रोशित बनेका छन्। 

संग्रहालय बनाउने योजना अलपत्र

बेनी आक्रमण पछि भेटिएका हातहतियार लगायतका दस्तावेजहरू संग्रह गरेर भावी पुस्तालाई जानकारी दिने युद्ध संग्रहालय बनाउने बेनी नगरपालिकाको योजना समेत गफमा सीमित बनेको छ।

दोहोरो भिडन्तको साक्षी बनेको विद्युतको पोल लगायतका सामग्री संकलन गरेर संग्रहालय बनाउने बेनी नगरपालिकाको दुई वर्ष अघिको योजना घोषणामै सीमित छ। २०७५ माघमा बेनी नगरकार्यपालिकाको बैठकले वडा नम्बर २ खबराको लभ्लीहिलमा युद्ध संग्रहालय बनाउने निर्णय गरेको थियो।

नगरपालिकाको आर्थिक वर्ष २०७६-०७७ र २०७७-०७८ को नीति तथा कार्यक्रममा पनि युद्ध संग्रहालय बनाउने योजना समावेश छ। तर, बजेटको ब्यवस्थापन नभएकाले कार्यान्वयन हुन नसकेको बेनी–२ का वडा अध्यक्ष हिराबहादुर थापाले बताए।

‘पिपलडाँडा सामुदायिक वनको छेउमा ५ रोपनी जग्गा ब्यवस्थापन गर्ने समुदायसँग सहमति पनि भएको हो,’ उनले भने,‘बजेट नै नभएपछि कार्यान्वयन हुन सकेन।’ लभ्लीहिलको नामले चिनिएको खबरास्थित मायालुडाँडा र बेनी बजारको पर्यटन विकाससँगै बेनी आक्रमणका साक्षी बनेका सामग्रीहरू संरक्षण गर्ने उद्देश्यले संग्रहालय बनाउने योजना अघि सारिएको थियो।

नगर कार्यपालिकाका प्रवक्ता रामकृष्ण बराइली भने वनले जग्गा उपलब्ध गराउन अवरोध गरेकाले स्थान अभावमा संग्रहालय बनाउन नसकिएको बताउछन्।  सदरमुकाम आक्रमणमा १६ जना सर्वसाधारण, ३८ जना सुरक्षाकर्मी र ४२ जना विद्रोही पक्षका गरी ९६ जनाले ज्यान गुमाएका थिए। जिल्लाका विभिन्न क्षेत्रमा भेटिएका शव अनुसार उक्त आक्रमणमा करिव चारसय जतिले ज्यान गुमाएको अनुमान छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.