|

चितवन : मानिसको स्वास्थ्यमा गम्भीर असर पार्ने न्यून गुणस्तरको तेलको मुद्दाबारे चितवन जिल्ला अदालतले वर्षदिन नाघिसक्दा पनि सुनुवाई हुन सकेको छैन। अदालतमा दर्ता भएको खाद्यसम्बन्धी पहिलो मुद्दा नै किनारा लाग्न ढिलाई भएको हो। 

खैरहनी नगरपालिका–६ स्थित ओमकार आयल इण्डष्ट्रीको उत्पादन त्रिवेणी ब्रान्डको तोरीको तेलमा अखाद्य रङ मिसाइएको पाइएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भरतपुरले ०७६ पुष २२ गते अदालतमा मुद्दा दर्ता गरेको थियो। अदालतले प्रतिवादीलाई ३ लाख रुपैयाँ धरौटी लिएर छाडेपनि मुद्दाको फैसला भने भइसकेको छैन।

मुद्दाका जाहेरवाला र सार्वजनिक विश्लेषकहरू बकपत्रका लागि नआउँदा छिटो फैसला हुन नपाएको चितवन जिल्ला अदालतका शाखा अधिकृत नवराज सिंखडाले बताए। ‘जाहेरवाला र सार्वजनिक विश्लेषकको बकपत्र हुन सकेको छैन’, उनले भने, ‘दुई/तीन पटक नै बोलाइ सकिएको रहेछ, तर आउनु भएको छैन, बकपत्रका लागि उहाँहरूलाई चैत १३ गते बोलाइएको छ।’

न्यून गुणस्तरको तेलको मुद्दा न्यायाधीश केशवप्रसाद अधिकारीले हेरिरहेका छन्। अहिलेसम्म मुद्दाको चार वटा पेशी तोकिसकेको छ। अन्तिम पटक चैत २ गते साक्षी बुझ्ने आदेश भएको थियो। सम्भवत अबको पेशीमा फैसला हुनसक्ने अपेक्षा गरिएको छ। 

कोरोना महामारीमा लकडाउन हुँदा करिब ७ महिना अदालतका कामहरू पनि प्रभावित भएको उनले बताए। मुद्दाको प्रकृति अनुसार भने फैसला हुन ढिलाई नभएको उनको भनाइ छ।

अदालतले २०७६ चैत २ गते मुद्दाका प्रतिवादी उद्योग सञ्चालक राम श्रेष्ठलाई तीन लाख धरौटीमा छाडेको हो। ‘धरौटीमा छाडेपछि लकडाउन भयो, लकडाउनमा पनि अदालतको काम नरोकिएकाले ०७७ बैशाख १२ मा जाहेरवालाहरू बुझ्ने आदेश भयो’, उनले भने, ‘लकडाउनमा जोहरवालाहरू अदालतसम्म पनि आउन सक्ने स्थिति थिएन, त्यसकारण मंसिर १७ गते मात्रै साक्षी बकपत्र सबैको काम सकिएको हो।’

अखाद्य वस्तु विक्री गर्नेलाई कडाई गर्न सरकारले मुलुकी अपराध संहिता–२०७४ ल्याएको छ। संहिता अनुसार अखाद्य तथा न्यून गुणस्तरका खाद्य वस्तुका मुद्दाहरू अदालतमा दर्ता गर्नुपर्ने व्यवस्था छ। यसअघि खाद्य सम्बन्धी सबै मुद्दाहरू जिल्ला प्रशासन कार्यालयमा दर्ता हुने व्यवस्था थियो।

तेलमा अखाद्य रङ मिसाएको पाइएपछि नयाँ कानुन अनुसार अदालतमा मुद्दा दर्ता गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका खाद्य निरीक्षक प्रदीप काफ्लेले बताए। ‘तेलमा खाद्य वा अखाद्य कुनै किसिमको रङ मिसाउनै पाइँदैन’, उनले भने, ‘ल्याबमा तेल परिक्षण गर्दा त्यसमा रङ भेटिएपछि मुद्दा दर्ता गरेका हौँ, हामी फैसलाको पर्खिरहेका छौँ।’

त्रिवेणी ब्रान्डको तोरीको तेलमा अखाद्य वस्तु मिसाइएको भनेर उजुरी परेपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नै २०७५ फागुन २३ गते उद्योगको अनुगमन गरेको थियो। प्याकिङ गर्नु अघि र प्याकिङ भइसकेको तेलको नमुना लिएर विभागले आफ्नै प्रयोगशालामा तेलको गुणस्तर परीक्षण गर्दा तेलमा रङ भेटिएको हो। 

अखाद्य तेल उत्पादन एवम् बिक्री वितरण गर्नेलाई दुईदेखि पाँच वर्षसम्म जेल सजाय र ५० हजार रूपैयाँसम्म जरिवाना लगाउन सकिने कानुनी व्यवस्था छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.