|

मुगु : मुगुको पुर्वी करान भेगमा पर्ने मुगुम कार्मारोङ गाउँपालिका-८ मा रहेको च्याप्नेगाड जलविद्युत् आयोजना २० वर्ष बितिसक्दा पनि बन्न सकेको छैन।

०५८ सालबाट स्थापना भएको च्याप्नेगाड जलविद्युत् आयोजना सञ्चालन भएको २० वर्ष बढी समय बितिसक्दा पनि सञ्चालनमा आउन नसकेको हो। २५ किलोवाट विद्युत् उत्पादन क्षमताको यो आयोजनाले माग्री र महगाउँमा करिब ३ सय बढी घरधुरीलाई लक्षित गरी निर्माण सुरु गरिएको थियो।

उक्त आयोजनामा हालसम्म करोडौँ रकम हिनामिना भएको र टाठाबाठाले उपभोक्ता समिति गठन गरेर मागीखाने भाँडो बनाएको स्थानीयको गुनासो छ।

सुरुमा साबिक जिविस कार्यालय मुगुअन्तर्गतको दुर्गम विकास क्षेत्रबाट सञ्चालित आयोजनाको जिम्मा पाएको राधा कन्स्ट्रक्सनले ५८ लाख रुपैयाँमा ठेक्का लिएको थियो। ठेकेदारले विद्युत् निर्माणका सामग्री खरिद गरेर आयोजनास्थल पुर्‍याउने एवं ढुंगा, माटो, नहर निर्माण उपभोक्ता समितिबाट गर्ने गरी सम्झौता भएको थियो।

बत्त बलेको झुटो रिर्पोट

प्राविधिकको डिजाइन स्टिमेटअनुसार काम सम्पन्न भई आयोजनाबाट उत्पादित बिजुलीले मह,  माग्री गाउँका बस्ती झिलीमिली भइसकेको रिपोर्ट दुर्गम विकास समितिले प्रतिवेदन जिल्लालाई बुझाएको देखिन्छ।

तर,  उक्त प्रतिवेदनले आयोजना सम्पन्न भएको कागजी प्रतिवेदन दिए पनि अहिलेसम्म निर्माण सुरु नै नभएको विगतमा उपभोक्ता समितिका अध्यक्ष रहेका माग्री गाउँका राप्क्या लामाले बताए।

उनका अनुसार विद्युत् आयोजना निर्माणको जिम्मा पाएको राधा कन्स्ट्रक्सनले कुनै काम नगरेको, सामान आयोजनास्थलमा नपुर्‍याएर भ्रष्टाचार गरेको देखिएपछि पुनः आफ्नै अध्यक्षतामा नयाँ समिति गठन गरी निर्माण अगाडि बढाउन थालिएको छ।

दाता खोजीमा छौँ

आयोजना बनाउन दाताको खोजी भइरहेको वर्तमान विद्युत् समितिका अध्यक्ष सोनाम लामाले जानकारी दिए। २०५८ बाट आयोजना बनाउने नाममा धेरै समिति हेरफेर भइसके पनि अहिलेसम्म निर्माण अगाडि बढ्न सकेको छैन।

दुर्गम विकास कोषको आयोजना निर्माणका लागि २६ लाख,  साबिक माग्री गाविसको ५ वडादेखि ९ वडासम्म लक्षित कार्यक्रमको ८ लाख ९० हजार, नेपाल जलवायु परिवत्ता कार्यक्रम (लापा) को ९ लाख १० हजार, संसद् विकास कोषलगायत विभिन्न निकायको सहयोग गरी ५० लाख, गमगाढ आयोजनाको २० लाख गरी १ करोड १४ लाख रुपैयाँ बढी खर्च भइसकेको छ।

सामग्री अलपत्र

च्याप्नागाड जलविद्युत् आयोजना उपभोक्ता समितिका अध्यक्ष सोनाम छिरिङ लामाका अनुसार आर्थिक अभावका कारण हालसम्म विद्युत् बल्न नसकेको हो। मुगुम कार्मारोङ गाउँपालिकाले कुनै पनि तहबाट सहयोग नगर्दा अहिलेसम्म आयोजना अलपत्र परेको लामाले जानकारी दिए।

आयोजनाको नाममा आएका विद्युत् पोल, अन्य तारबार अलपत्र अवस्थामा परेका छन् भने स्थानीय अँध्यारोमा बस्न बाध्य छन्। पोलका लागि गमगाढ साना जलविद्युत् आयोजना मुगुले २ वर्षअगाडि २० लाख रुपैयाँमा स्थानीय ठेकेदारलाई ठेक्का दिए पनि अहिलेसम्म निर्माणस्थलमै नपुगेको अध्यक्ष लामाले बताए। 

सपना अधुरै

स्थानीयको बत्ती बाल्ने सपना अधुरै भएको छ। 'प्रत्येक दसैँमा बत्ती बाल्छौँ भन्छन् तर बल्दैन। विभिन्न संघ–संस्थाले सोलार दिने बताए पनि यही आयोजनाका कारण पाउन सकेनौँ’, स्थानीय छिरिङ टुङडुङ लामाले भने।

सुरुमा बत्ती बाल्न प्रत्येक घरबाट ५०-५० रुपैयाँ उठाइए पनि त्यसको सदुपयोग नभएको उनको गुनासो छ। लामो समयसम्म आयोजना नबन्दा  निर्माणस्थलमा राखिएका औजार उपकरण खिया लागेका छन् भने अधिकांश भग्नावेशेष अवस्थामा फालिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.