निरीक्षणकर्ता भन्छन् : व्यवसायीले गम्भीर रुपले लिएनन्

|

चितवन : फोहोर र न्यून गुणस्तरीय खानाले उपभोक्ताको स्वास्थ्यमा पार्ने असरलाई ध्यान दिई चितवनमा होटलहरूको स्तरीकरण गरिएको थियो। खाद्य स्वच्छताका आधारमा होटलहरूको स्तरीकरण गरिएको हो। 

होटलको स्तर वृद्धिका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनले होटल सञ्चालक र कुकहरूलाई खाद्य स्वच्छता र सरसफाइसम्बन्धी पर्याप्त तालिम दिएको भए पनि उनीहरू सुध्रिएका देखिएका छैनन्। 

भरतपुर र नारायणगढका होटलहरूको स्तरीकरणका लागि खाद्य प्रविधिको टोली शुक्रबार र आइतबार १५ वटा होटलको निरीक्षणमा गएको थियो। निरीक्षणका क्रममा १५ मध्ये ४ वटा होटलको अवस्था 'बिजोग' देखिएको टोलीले जनाएको छ। ती होटलहरू स्तरीकरणमा नै पर्न सकेनन्। 

भरतपुर बसपार्कमा रहेको होटल धौलागिरी, भरतपुर–१० सप्तगण्डकी चोकको मार्फा किचन, पुलचोक नारायणगढको दि मामा ढ्यांग्रो रेष्टुरेन्ट र होटल मनास्लु स्तरीकरणमै पर्न नसकेका हुन्। 

यी होटलको भान्छामा अत्यधिक फोहोर देखिएको र व्यवस्थापनमा लापरबाही भेटिएकाले स्तरीकरणमा नपरेका खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख खाद्य अनुसन्धान अधिकृत घननाथ अधिकारीले बताए। 

‘खाद्य स्वच्छता तालिम दिएको तीन हप्तापछि होटलहरूको स्तरीकरण गरिएको हो। तैपनि लापरबाही गरेको पायौँ’, उनले भने, ‘तालिम दिँदा पनि सुधार भएन।’ स्तरीकरणमा नपरेका होटलहरूलाई १५ दिनभित्र सुधार गर्न निर्देशन दिइएको उनले बताए। 

भरतपुर–९ को होटल मुनस्टारले सामान्य स्तरप्राप्त गर्‍यो भने भरतपुर–१० चौबिसकोठीको होटल ग्लोबल, क्युमिन रेष्ट्रो एण्ड थाली किचन, थकाली भान्सा घर कटेज एण्ड गेष्ट हाउस, भरतपुर–३ मेनरोडको तन्दुरी रेष्टुरेन्ट र भरतपुर–१ पुलचोकको हङग्री टम गरी ५ वटा होटलको अवस्था सन्तोषजनक पाइएको छ। 

भरतपुर–१० को होटल रोयल सेन्चुरी, भरतपुर–२ को श्रेष्ठ तन्दुरी फाष्ट फुड र भरतपुर–३ को होटल डिज्नीले उत्तम स्तर प्राप्त गरे। होटल अशोका र भेटघाट रेष्टुरेन्टले भने अति उत्तम स्तर पाएको छ।

खाद्य प्रविधिले खाद्य स्वच्छता र होटलको सरसफाइसम्बन्धी ५० वटा सूचकका आधारमा होटलहरूको स्तर निर्धारण गरेको हो। एउटा सूचकको अधिकतम अंक दुई हुन्छ। स्तरीकरणमा पर्न कम्तीमा ५० अंक ल्याउनुपर्ने व्यवस्था छ। 

५० देखि ६४ सम्म अंक ल्याउने होटललाई सामान्य स्तरको पहेँलो स्टिकर दिइने व्यवस्था छ। ६५ देखि ७९ सम्म अंक ल्याउनेलाई सन्तोषजनक श्रेणीको 'एक तारा' भएको, ८० देखि ८९ सम्म अंक ल्याउनेलाई 'दुई तारा' भएको र ९० भन्दामाथि अंक ल्याउनेलाई अति उत्तम श्रेणीको 'तीन तारा' भएको हरियो स्टिकर दिइन्छ।

होटल व्यवसायी संघ नारायणगढ इकाइ अध्यक्ष कृष्ण महतोले होटलहरूको स्तर वृद्धि गर्ने विषयमा व्यवसायी नै गम्भीर नदेखिएको बताए। होटलहरूको निरीक्षणमा समेत सहभागी भएका महतोले भने, ‘होटलहरूको सुधार गर्ने राम्रो कार्यक्रम थियो, तर साथीहरूले गम्भीर रुपमा लिनुभएन।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.