|

चीनका ६० प्रतिशत युवा राति ११ बजेपछि मात्रै सुत्न जाने गरेको एक सर्वेक्षणले देखाएको छ। चाइना युथ डेलीले हालै गरेको सर्वेक्षणमा सहभागी युवामध्ये ६० प्रतिशतले राति ११ बजेपछि मात्रै सुत्न जाने गरेको जवाफ दिएका हुन्।  

आइतबार पर्ने २१औँ विश्व सुताई दिवस (वर्ल्ड स्लिपिङ डे) को अवसर पारेर यो सर्वेक्षणको प्रतिवेदन सार्वजनिक गरिएको सर्वेक्षणकर्ताहरुले जनाएका छन्।

सर्वेक्षणमा दुई हजार दुई जना सहभागी भएका थिए। उनीहरु १८ देखि ३५ वर्ष सम्मका थिए। सर्वेक्षणमा सहभागी ८.५ प्रतिशतले मात्रै आवश्यकताअनुसार सुताइ मानिने ८ घण्टा सुत्ने गरेको जवाफ दिएका थिए।

बेइजिङस्थित एउटा निजी कम्पनीमा कार्यरत २९ वर्षीय हु बोले मध्यरातभन्दा अगाडि कहिले कहिले मात्रै सुत्ने गरेको बताए। 

उनले भने, 'हरेक दिन बेलुका ८ बजेपछि मात्रै म कार्यालयबाट काम सकेर आउने गरेको छु, कहिलेकाहीँ त भोकै पनि हुने गरेको छु, सुत्न जानुभन्दा अगाडि कम्युटर, ल्यापटप, मोबाइल, फोनलगायतमा भुल्ने गरेको छु, त्यसैले सुत्न ढिलो हुन्छ।' सुत्नका लागि विस्तारामा गएपछि पनि आधादेखि एक घण्टासम्म निदाउन समय लाग्ने हुले बताए।  

उनीजस्तै झण्डै ११ प्रतिशत युवाले सुतेको ३० मिनेटभन्दा अगाडि निदाउन नसक्ने गरेको जवाफ दिएका थिए। सुताइको गुणस्तर र सन्तुष्टिबारे सोधिएको प्रश्नमा झण्डै आधा युवाले सन्तोषजनक रहेको उत्तर दिएका थिए। 

सर्वेक्षणमा सहभागीमध्ये ४६ प्रतिशतले गहिरो निद्रासहित सपना देख्ने गरेको, ४५.४ प्रतिशतले पातलो निद्रा लाग्ने गरेको र ३३.१ प्रतिशत बिहान चाँडै बिउँझिने गरेको बताएका थिए। उनीहरूमा सुताइसम्बन्धी मुख्य समस्या पाइएको थियो। 

गुणस्तरीय सुताइ नहुनु मानसिक तथा शारीरिक स्वास्थ्यका लागि घातक हुने गरेको पनि सर्वेक्षणबाट देखिएको थियो। राम्रोसँग नसुत्नेहरूबाट कामको नतिजा पनि राम्रो नआउने गरेको र उनीहरुको काममा समेत असर पर्ने गरेको पाइएको सर्वेक्षणकर्ताहरुले बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.