|
फाइल फोटो ।

बर्दिया : हात्तीपाइले रोग निर्मूल नभएपछि बर्दियामा यस वर्ष १० औं चरणको औषधि खुवाइँदैछ। सरकारले वि.सं. २०६७ देखि बर्दियामा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउँदै आएको छ।

यस वर्ष चैत्र २० गतेदेखि औषधि सेवन अभियान शुरू गर्न लागिएको जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका सम्पर्क व्यक्ति नरेश श्रेष्ठले बताए। पहिलो दिन तोकिएका स्वास्थ्य बुथ तथा दोस्रो र तेस्रो दिनमा घर–घरै गएर औषधि खुवाइने उनको भनाई छ।

अहिले बर्दियाका ८ वटै पालिकामा हात्तीपाइले रोग विरुद्धको औषधि सेवनका लागि तयारी गर्न पालिका स्तरीय छलफल तथा भेलाहरू सञ्चालन भैरहेको छ। 

यसअघि फागुन २९ गतेदेखि १० औँ चरणमा हात्तीपाइलेको औषधि सेवन अभियान सञ्‍चालन गर्ने तयारी भएपनि कोभिड विरुद्धको खोप अभियान सञ्चालन गर्नुपर्ने भएकाले ढिला हुन गएको बर्दियाका वरिष्ठ जनस्वास्थ्य अधिकृत गोकर्ण गिरीले बताए।

औषधि सेवनमा अझै लापरवाही

औषधि सेवनमा लापरबाही गर्दा बर्दियामा अझै हात्तीपाइले निवारण हुन नसकेको सरोकारवालाहरूले बताएका छन। पढे-लेखेका र बुझेकै व्यक्तिले औषधि सेवन नगरिदिँदा दशकसम्म पनि संक्रमण नहटेको बताइएको छ। 

'हात्तीपाइले विरुद्धको औषधि सेवनमा भएको गलत धारणाका कारण यो रोग बर्दियामा अझै निर्मुल हुन सकेको छैन्,' श्रेष्ठले भने, 'पछिल्लो समय स्थानीय तहबाट केहि सचेतना फैलाइँदा भने यस्तो भ्रम विस्तारै हट्दै गएको छ।' यस वर्ष भने औषधि सेवन अभियान प्रभावकारी होला भन्नेमा आशा गरिएको उनी बताउँछन्। 

बर्दियाको ठाकुरबाबा-१, डुम्रेनी र बारबर्दिया नगरपालिकामा परीक्षणका क्रममा अझै यो रोगको परजीवी पाइएको थियो। लगातार ६ वर्षसम्म औषधि सेवन गर्नुपर्ने भनिएपनि बर्दियामा भने परीक्षण क्रममा अझै उक्त रोगको परजीवी भेटिएकाले १० औँ वर्षमा पनि औषधि खुवाइँदैछ। 

औषधि सेवन अनिवार्य गर्न आग्रह

हात्तीपाइले परीक्षणका क्रममा उक्त रोगको परजीवी १ प्रतिशतभन्दा तल झरेमा मात्रै अभियान सम्पन्न भएको मानिन्छ। सन् २०२० सम्ममा विश्वबाटै हात्तीपाइले निवारण गरिसक्ने लक्ष्य राखिएको थियो। तर, अझै १३ जिल्लामा यो रोगको परजीवी देखिएकाले अहिले २०३० भित्रमा यो रोगलाई निर्मूल पारिसक्ने लक्ष्य राखिएको छ।

अहिले भने अभियान सफल बनाउन ८ वटै पालिकामा ठुलो मात्रामा जनशक्ति खटिएका छन्। स्थानीयलाई स्वास्थ्यकर्मीकै उपस्थितिमा औषधि खुवाइने तयारी गरिएको छ। अघिल्ला वर्षहरूका स्वयंसेविकाको उपस्थितिमा औषधि खुवाइँदा प्रभावकारी नभएको भन्दै गएको वर्षदेखि स्वास्थ्यकर्मीहरूको उपस्थितिमै औषधि खुवाउने अभ्यास थालिएको जनाइएको छ। 

बर्दियाबासी सबैलाई अनिवार्य रुपमा कुनै संकोच नमानी औषधि सेवन गर्न आग्रह समेत गरिएको छ। हात्तीपाइले लामखुट्टेको टोकाइबाट सर्ने रोग भएकाले घर र वरपर सफासुग्घर राख्नुपर्ने, राति सुत्दा झुलको प्रयोग गर्नुपर्ने, पानी जम्ने खाल्डाखुल्डी पुर्नुपर्ने ठाकुरबाबा नगरपालिकाका जनस्वास्थ्य अधिकृत इन्द्र राजवंशीले सबैलाई आग्रह गरिरहेका छन्‌।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.